२५६९औँ बुद्ध जयन्तीको पावन अवसरमा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–७ स्थित घुन्सा गाउँमा रहेको श्री संयुक्त आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ देखि सम्भोट लिपि, शेर्पा तथा भोट भाषाको माध्यमबाट बौद्ध शिक्षा विषय अध्यापनको औपचारिक शुभारम्भ गरिएको छ ।
कार्यक्रम वडाअध्यक्ष बल बहादुर कटवालज्यूको सभापतित्व तथा जिल्ला समन्वय समिति, ओखलढुङ्गाका प्रमुख, श्री टेक राज भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै स्थानीय विषयका रूपमा सुरु गरिएको उक्त अध्यापन कार्यक्रमको लागि शिक्षक व्यवस्थापनमा बुद्ध एजुकेशन युएसए इन संस्थाले सहयोग प्रदान गरेको हो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका नगरप्रमुख श्री तेजन खनाल विशिष्ट अतिथि, बुद्ध एजुकेशन युएसए इन संस्थाका नेपाल प्रतिनिधि तथा सल्लाहकार आचार्य नुर्बु शेर्पा र आचार्य सार्की शेर्पा विशेष अतिथिको रूपमा सहभागी थिए । आचार्य सार्की शेर्पाले आफ्नो मन्तव्यमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको अनुरोधअनुसार शिक्षक व्यवस्थापनमा सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले नेपालको संविधान २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ को दफा २८ अनुसार मातृभाषामा शिक्षाको अधिकार सुनिश्चित भएकाले स्थानीय शेर्पा समुदायका बालबालिकाका लागि यस्तो पहल समयानुकूल र आवश्यक रहेको बताउनुभयो ।
आचार्य नुर्बु शेर्पाले नेपालमा जन्मनुभएका भगवान् शाक्यमुनि बुद्धको शिक्षालाई विद्यालयस्तरमा समावेश गर्नाले विद्यार्थीहरू अनुशासित, नैतिकवान र शिक्षित हुने विश्वास व्यक्त गर्नुभयो। साथै, यसले गाउँदेखि विश्वभर शान्ति र सहिष्णुताको भावना फैलाउने उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि टेक राज भट्टराईले सम्भोट लिपि र बौद्ध शिक्षा बालबालिकामात्र होइन, अभिभावकहरूका लागि पनि सिक्नुपर्ने विषय भएको औँल्याए । कार्यक्रमका सभापति तथा वडाअध्यक्ष बल बहादुर कटवालले विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गरिने प्रतिबद्धता जनाउँदै मातृभाषामा आधारित शिक्षा सुरु गर्न पाएकोमा खुशी व्यक्त गरे। साथै, शिक्षक व्यवस्थापनमा सहयोग गर्ने संस्थाप्रति आभार प्रकट गरे ।
वडाअध्यक्ष बल बहादुर कटवालज्यूले कार्यक्रम समापनको मन्तव्यको क्रममा मातृभाषामा आधारित शिक्षाको सुरुवात गर्न पाउँदा आफू खुशी भएको बताउँदै यस विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो। साथै, शिक्षक व्यवस्थापनमा सहयोग गर्ने संस्थाप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो ।
बौद्ध शिक्षा अध्यापनका लागि सिक्किमको मार्तम ञिङमा इनइन्च्युटबाट बौद्ध दर्शनमा आचार्य ९लोपोन० उपाधि प्राप्त गर्नुभएका तथा टासी साङाग् क्षोलिङ गोन्पा विद्यालयमा दुई वर्ष शिक्षण अनुभव हासिल गर्नुभएका श्रद्धेय लोपोन दोर्जी शेर्पालाई शिक्षकको रूपमा नियुक्त गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष, नेपाल शेर्पा संघ ओखलढुङ्गाका अध्यक्ष, विद्यालयका शिक्षक, अभिभावक, गोन्पाहरूका प्रतिनिधि तथा स्थानिय समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरणसमेत गरिएको थियो । यस पहलले स्थानीय संस्कृति, भाषा तथा धर्मको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अभिभावकहरूले विश्वास व्यक्त गरेका छन् ।