दुई पत्रकारलाई तामाङ मिडिया अवार्ड प्रदान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ भदौ २०७३, बुधवार
दुई पत्रकारलाई तामाङ मिडिया अवार्ड प्रदान

काठमाडौं, १ भदौ

पत्रकारद्वय अर्जुन तामाङ र दुदुमाया सिन्तानलाई ‘तामाङ मिडिया अवार्ड–२०७३’ प्रदान गरिएको छ । तामाङ सञ्चार समूहले २२औँ तामाङ प्रसारण दिवसको अवसरमा आज एक समारोहबीच अवार्ड वितरण गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले पत्रकारद्वयलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेका थिए । अवार्डसँगै उनीहरुलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरियो ।      

सम्मानित पत्रकार तामाङ अन्नपूर्ण पोस्ट दैनिकका जिल्ला ब्यूरो सम्पादक हुन् । वि.सं. २०६३ बाट पत्रकारितामा प्रवेश गरेका उनले यसअघि रेडियो सगरमाथा, नेपाल समाचारपत्र दैनिक, तामाङ सरोकार पाक्षिक, तामाङ डाजाङ मासिक, बिजखबर डटकमलगायतमा काम गरेका छन् ।  

अर्का सम्मानित पत्रकार सिन्तान हाल शक्ति एफएम मकवानपुरमा कार्यक्रम निर्माता÷प्रस्तोता छन् । वि.सं. २०६५ बाट पत्रकारितामा क्रियाशील उनले यसअघि रेडियो थाहा सञ्चारमा समाचार तथा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेकी छन् । तामाङ सञ्चार समूह मकवानपुर शाखाकी अध्यक्षसमेत रहेकी उनी आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघलगायत विभिन्न संस्थामा आबद्ध छन् ।

तामाङ समुदायले वि.सं.२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको । यसै अवसरमा प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ प्रदान गरिँदै आएको समूहका उपाध्यक्ष दीपेन्द्र दोङले जानकारी दिए । समूहको १६ जिल्ला शाखामार्फत सिफारिस भएर आएका पत्रकारहरुमध्येबाट दुईजनालाई छनोट गरिएको उनले बताए । 

तामाङ समुदायले वि.सं.२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको । यसै अवसरमा प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ प्रदान गरिँदै आएको समूहका उपाध्यक्ष दीपेन्द्र दोङले जानकारी दिए । समूहको १६ जिल्ला शाखामार्फत सिफारिस भएर आएका पत्रकारहरुमध्येबाट दुईजनालाई छनोट गरिएको उनले बताए । 

अवार्ड छनोट समितिका संयोजक दुपवाङ्गेल मोक्तानले प्राप्त सिफारिस आएका मध्येबाट दुईजना छनोट गर्नु निक्कै कठिन काम भएको बताए । उनले छनोटमा परेका पत्रकारद्वयलाई बधाई दिँदै तामाङ समुदायको सञ्चारमा पहुँच बढाउन योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रतिष्ठानका उपाध्यक्ष गुरुङले राज्य चौथो अंग सञ्चारमा आदिवासी जनजातिको पहुँच कम भएकोले आदिवासी जनजातिका मुद्दाले सञ्चारमाध्यममा कम स्थान पाउने गरेको बताए । पछिल्लो समय आदिवासी जनजाति पत्रकारहरुको उपस्थिति राम्रो हुँदै गएको भन्दै उनले अझ सशक्त रुपमा लाग्न आग्रह गरे । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिंह लामाले नेपालका सञ्चारमाध्यम अझै समावेशी बन्न नसकेको बताए । सरकारी तथा निजी सञ्चार गृहमा समावेशी सहभागिता नभएसम्म आदिवासी जनजातिको मुद्दाले स्थान नपाउने उनको धारणा थियो । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले समावेशी सञ्चारको मुद्दालाई फोनिजले निरन्तर उठाउँदै आएको बताए । अध्यक्ष गुरुङले आदिवासी सञ्चारकर्मीहरुको एकताले समावेशिताको मुद्दा बलियो बन्दै गएको बताउँदै त्यसलाई स्थापित गराउन अझै संघर्ष जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, तामाङ सञ्चार समूहका संस्थापक रवीन्द्र तामाङ, पहिलो तामाङ भाषाको समाचार वाचक रमिता लामालगायतले शुभकामना मन्तव्य राख्दै तामाङ प्रसारण दिवसको बारेमा आ–आफ्नो धारणा राखेका थिए । सम्मानित पत्रकारद्धय तामाङ र सिन्तानले पनि आ–आफ्नो अनुभव राखेका थिए । 

समूहका अध्यक्ष जगत दोङले समूहले तामाङ पत्रकारहरुलाई पत्रकारितामा थप प्रोत्साहित गर्नका लागि अवार्ड प्रदान गर्दै आएको बताए । संस्थाको जिल्ला शाखाहरुमा विभिन्न कार्यक्रम गरी प्रसारण दिवस मनाइएको दोङले जानकारी दिए ।

प्रतिक्रिया