मगर समुदायहरु माघे सक्रान्ति धुमधामको साथ मनाए

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ माघ २०७१, बिहिवार
मगर समुदायहरु माघे सक्रान्ति धुमधामको साथ मनाए

नेपालका मगर समुदायहरु हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति अर्थात माघी पर्वको रुपमा मनाउने गर्दछन् ।

माघे संक्रान्ति नेपाल मगर र थारु समुदयहरुले विशेष महत्वका साथ मनाउने भएको कारण नेपाल सरकारले पनि २०६५ सालमा माघे संक्रान्तिलाई मगर र थारु समुदायहरुको राष्ट्रिय पर्व घोषणा गरेको थियो ।

मगर अदिवासी समुदायहरुले माघे संक्रान्तिलाई आफ्नो बितेका पुर्खाहरुको पूजा अर्थात पितृ पूजा गर्ने र छोरीचेलीलाई दक्षिणा दिई सत्कार गर्ने यस्को साथै प्रकृतिसँगको आफ्नो सम्बन्ध प्रगाढ बनाउने गर्दछन् ।

मगर समुदायहरु कतिपयले दुई–तीन दिनसम्म र विशेषगरी रोल्पा र रुकुमका घना मगर बस्तीमा एक हप्तासम्म पनि मनाउने चलन छ ।

मगर समुदायहरुले माघे सक्रान्तिको अघिल्लो दिन आआफ्नो टोलमा भेला भएर सुँगुर, खसी–बोका, राँगो काट्ने, माछा मार्ने साथै बनतरुल लगायत कन्दमूलहरु जाहो गर्ने र विभिन्न खानाका परिकारहरु पकाउने गर्दछन् । त्यसको साथै आआफ्ना छोरीचेली र आफन्तहरुलाई माघेपर्वको निम्तो दिने गर्दछन् ।

माघे संक्रान्तिको दिन विहानै घरमूली लगायत सबै दाजुभाइ नजिकैको खोला, नदी र पँधेरामा गएर नुहाउँछन् । अनि जौ, तिल र मासको दालको टीका लगाई सानो टपरीमा तरुल, जौ, तिल र सिक्का र धुपबत्ती बाली खोलामा बगाउँछन् । यसो गर्नाले वर्षभरिको ग्रहदशा बगेर जाने विश्वास राख्दछन् ।

नुहाएर आएपछि घरमूलीले घरको चुल्होमा आफनो पुर्खाहरुको नाममा पितृपूजा गर्छन् । र पूजा सकेपछि दाजुभाइले दिदीबहिनीलाई टीकालगाई दक्षिणा दिने गर्दछन् । दिदीबहिनी नहुनेले गाउँका छोरीचेलीलाई बोलाएर दक्षिणा दिने गर्दछन् । यसरी विधिसकेपछी, सपरिवार खिचडी र तरुल र मासुको परिकार र जाँडरक्सी  खाएर रमाइलो गर्ने गर्दछन् । दिनभर एकठाउँमा भेला भएर सोरठी, घाटु, डाम्फ्या, मारुनी जस्ता नाचहरु देखाउने र मोजमस्ती गर्ने गर्दछन् ।

काठमाडौमा बसोबास गर्ने मगर समुदायहरु भने यो वर्ष काठमाडौको खुल्ला मञ्चमा जम्मा भई विशेष कार्यक्रम आयोजना गरि मनाए ।

Khulamanch

Khulamanch

प्रतिक्रिया