सुगमस्थानको खोजीमा राउटे

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ मंसिर २०७२, बिहिवार
सुगमस्थानको खोजीमा राउटे

देविका घर्ती मगर

आर्थिक सहयोगको खोजीमा जिल्ला सदरमुकामतिर झर्ने गरेका राउटेहरूलाई गाउँतिर बस्ती बसाएर किन अरूझैं जीवन बिताउन चाँहदैनन् भन्दा हाम्रो दिल वनमै खुसी छ भन्थे । तर, पछिल्लो दिनमा राउटेहरू क्रमशः सुगम स्थानतिर बसाइ सर्ने क्रममा रहेका छन् । ‘वनको मृगलाई वनै प्यारो’ भन्ने वनका राजा राउटे समुदाय सुगम बस्तीको खोजीमा दाङ पनि झरेका छन् । पछिल्लो पटक संविधानमै आफ्नो वसोवास सुरक्षित हुनुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग दसैंखर्चको माग गर्न दैलेखबाट राजधानी गएको समयमा प्रचण्डले बसोबासका लागि पूर्ण व्यवस्था गरिदिने बताए पनि त्यसबेला स्वीकार गरेका थिएनन् । आफूलाई वनको राजा भएको बताउँदै वनमै रमाउने बताएका थिए, राउटे मुखियाले । प्रचण्डलाई भेट गरेपछि भत्ताको समेत व्यवस्था गरिएको थियो । त्यसपछि उनीहरुले नियमित भत्ता पाइरहेका छन् ।

  घुमन्ते जातिका रूपमा चिनिने राउटे समुदायका व्यक्तिले काठका कोसी, सन्दुक, पलङलगायतका सामग्री निर्माण गरी जीविका चलाउने गर्छन् । त्यसबाहेक खाली समयमा जंगली जनावरको सिकार गर्छन् । राउटेले काठका सामग्री बनाउँदा जंगल विनाश हुने हल्ला चल्छ । तर, सामुदायिक वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले राउटे समुदायले जंगलको सिमल, टुनीलगायत कुकाठ काट्ने भएकाले उनीहरूका कारण खासै जंगल विनाश नहुने जनाउँछन् ।

लोपोन्मुख जातिको सूचीमा रहेका र सुदूर तथा मध्यपश्चिममा बसोबास गर्दै आएका राउटे जातिको उत्थान गर्नका लागि राउटे उत्थान केन्द्र स्थापना गरिएको छ । राउटेहरूको जीवनस्तरलाई मध्यनजर गर्दै संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन् ।

राउटे जातिमा काठका सामग्री बनाउने परम्परागत कला राम्रो भएको भन्दै अध्यक्ष सापकोटाले उनीहरूको कलालाई सहयोग गर्नुपर्ने बताए । राउटे समुदायको कलाको कदर गरिनुपर्छ, उनीहरूको कलालाई प्रोत्साहन दिएर बजारीकरण गर्न सके धेरै फाइदा हुन सक्छ ।
बहुउद्देश्यीय शिक्षा तथा स्वास्थ्य सेवा नेपालकी अध्यक्ष सत्यदेवी अधिकारी हाल राउटे समुदायमा धेरै परिवर्तन भएको जनाउँदै उनीहरूले अन्य मानिसले जस्तै सिको गर्न थालेकाले बिस्तारै जीवनशैली परिवर्तन भइरहेको बताइन् । राउटेको जीवनशैली परिवर्तनका लागि आफ्नो संस्थाले धेरै पहल गरेको भन्दै उनीहरू बिस्तारै आमसमाजमा बस्नेमा आशा व्यक्त गरिन् । बहुउद्देश्यीय शिक्षा तथा स्वास्थ्य सेवा नेपालका अनुसार सुदूरपश्चिम तथा मध्यपश्चिममा ५ सय २७ जना राउटे बसोबास गर्दै आएका छन् ।

लोपोन्मुख जातिको सूचीमा रहेका र सुदूर तथा मध्यपश्चिममा बसोबास गर्दै आएका राउटे जातिको उत्थान गर्नका लागि राउटे उत्थान केन्द्र स्थापना गरिएको छ । राउटेहरूको जीवनस्तरलाई मध्यनजर गर्दै संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया