सुर्खेतमा थारु स्रष्टाहरु जुर्मराए

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ कार्तिक २०७२, आइतवार
सुर्खेतमा थारु स्रष्टाहरु जुर्मराए


थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जगेर्ना गर्नु पर्नेमा थारु समुदाय जुर्मुराउनु पर्ने आवाज उठेको छ ।

वीरेन्द्रनगर–१७ कालिमाटी गाउँमा थारुहरुले सखिया नाचसहित दशैंको शुभकामना आदान प्रदान तथा थारु कविता प्रतियोगितामा उपस्थित थारु स्रष्टाहरुले उक्त आवाज उठाएका हुन् । थारु कल्याणकारिणी सभा (थाकस) बाट असोज ३० गते आयोजित कार्यक्रममा अतिथिहरुले हालसम्म थारु भाषा साहित्य पनि निकै कमजोर रहेकोले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा बचाउनु पर्ने बेला आएको परिचर्चा समेत गरे ।

साहित्यकार सुशील चौधरीले सुर्खेतमा थारुहरुको आर्थिक, सामाजिक, शैक्षिक एवम् सांस्कृतिक अवस्थामा परिवर्तन ल्याउन थारु अगुवा, वुद्धिजीवी आफै लाग्नुपर्ने औंल्याए । उनले अगाडि भने– आफ्नै भाषा, संस्कृति नवुझी पहिचान मात्रै खोजेर हुँदैन । यसमा पहिलो जिम्मेवारी सम्बन्धित समुदायको हो, त्यसपछि मात्र राज्यको हो । यसको लागि राज्यले सवैको अधिकार समान प्रत्याभूति हुने गरी व्यवहार गर्नुपर्छ ।

अर्का साहित्यकार छविलाल कोपिलाले आफ्नो भाषा साहित्यप्रति सबैको लगाव हुनुपर्ने जनाउँदै आफू निरन्तर थारु भाषा साहित्यमा कलम चलाउदै आएको बताए । जंग्रार साहित्यिक बखेरी बाँकेका संयोजक सोम डेमनडौराले सुर्खेती भूमिमा थारु स्रष्टाको कमी भएको, थारु भाषामा कलम चलाउने मान बहादुर पन्ना बाहेक अरुस्रष्टा यहाँबाट उदाउन नसक्नु दुःखद पक्ष रहेको बताए । कैलालीका थारु साहित्यकार सागर कुश्मी, बर्दियाका गलजकार ठाकुर अकेला, क्षेत्रीय रेडियो नेपालका प्रतिनिधि विन्तीराम महतो, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद भागीराम चौधरी, थारु अगुवा जागुराम थारु, शेरबहादुर थारु लगायतका वक्ताहरुले सुर्खेतमा नियमित रुपमा थारु साहित्यिक कार्यक्रम हुनुपर्ने बिचार राखे ।

थाकसका अध्यक्ष कृष्ण बहादुर थारुले सुर्खेतमा नवप्रतिभाको विकास गर्ने उद्देश्यले दशंैको अवसरमा कविता प्रतियोगिता गरिएको बताए ।

कवितामा निरुता

थारु कविता प्रतियोगितामा नयाँगाउँकी निरुता चौधरी प्रथम, सोही गाउँकै जेवि चौधरी दोश्रा तथा पातलगंगाका रामकृष्ण चौधरी तेश्रा भए् । त्यसैगरी यस बर्षको एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रतर्फ वीरेन्द्रनगर–१८ का दिनेश चौधरी र छात्रातर्फ वीरेन्द्रनगर १७ का मनिषा चौधरीलाई आयोजकबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा कालिमाटी गाउँका युवा क्लवका कलाकारहरुले थारु सखिया नाच, पैया नाच प्रस्तुत गरेका थिए । त्यसैगरी नयाँगाउका भेवा क्लवका कलाकारहरुले छोक्रा तथा झुम्रा तथा तिलपुर र लौवस्ताका कलाकारहरु पनि नाच देखाएका थिए । थाकसका अध्यक्ष कृष्ण बहादुर थारुले सुर्खेतमा नवप्रतिभाको विकास गर्ने उद्देश्यले दशंैको अवसरमा कविता प्रतियोगिता गरिएको बताए ।

प्रतिक्रिया