थाकसबाट रक्तदान कार्यक्रम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ असोज २०७२, सोमवार
थाकसबाट रक्तदान कार्यक्रम


चितवन

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रले लगातार बन्द, हडताल गरेर संविधानमा अपनत्व नभएको भनेर आन्दोलन गरिरहेको छ । दिनहुँ घाइते भएर धेरैलाई रगतको खाँचो पनि पर्ने गरेको छ । यस्तोमा थाकस  चितवनको प्रगन्ना नं. ७ ले असोज २ गते खैरहनी नगरपालिकाको पर्सा बजारमा रक्तदान कार्यक्रम गरेको छ, जसमा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान अघि औपचारिक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका कोषाध्यक्ष अनिता मैनालीले भनिन्, चितवन मेडिकल सिटीको रुपमा विकसित भैरहेकोले यहाँ वार्षिक तीस हजार युनिट रगतको माग रहेको छ । तर जिल्लाभित्रका रत्तदाताहरुबाट रक्तसंचार केन्द्रले बाइस हजार यूनिट रगत मात्र संकलन गर्न सकेको छ । चितवनको रक्तसंचार केन्द्र देशभरकै रक्तसंचारमध्ये १२ औं पटक उत्कृट ठहरिएकोमा चितवनका रक्तदाताहरुको सहयोगमा अब १३ औं पटकमा पनि उत्कृष्ट हुनेमा कुनै शंका नरहेको पनि कोषाध्यक्ष मैनालीले बताइन् ।

थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले पश्चिम नेपालमा थारु र गैरथारु बीच केही मनमुटाब भई सद्भाव खल्बलिन गएकोमा थारु कल्याणकारिणी सभाले गर्ने रक्तदान जस्तो मानवीय कार्यक्रमहरुले सद्भाव कायम गर्न निकै ठूलो भूमिका र सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले थाकस केन्द्रले समेत नगरेको सामाजिक दायित्व थाकस चितवनले गरेकोमा सराहना व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी खैरहनी उपशाखाका सभापति सानुकाजी पाण्डेले रक्तदानबारे गाउँ गाउँमा जनचेतना जगाउनु पर्ने बताए । सोसाइटीका चैनपुर उपशाखाका सभापति चन्द्रकान्त न्यौपानेले रगत दिएर अहिलेसम्म कोही पनि नमरेको तर आवश्यक परेको बेलामा रगत नपाएर मरेको धेरै भएको बताए । कार्यक्रममा थाकस चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, पूर्व केन्द्रिय सदस्य चन्द्र कुमारी चौधरी लगायतले समेत मन्तव्य व्यक्त गरे । कार्यक्रम थाकस चितवन प्रगन्ना नं. ७ का सभापति नारायणप्रसाद महतोको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया