आन्दोलनमा सुरक्षाकर्मीको आक्रमणको बिरोध

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३१ साउन २०७२, आइतवार
आन्दोलनमा सुरक्षाकर्मीको आक्रमणको बिरोध



काठमाडौं
थारू प्रदेशको माग गर्दै देशभरको तराई जिल्लामा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले आक्रमण गरेको भन्दै थारू संयुक्त संघर्ष समितिले विरोध जनाएको छ ।

संघर्ष समितिले साउन ३० गते सिंहदरवारमा पत्रकार सम्मेलन मार्फत् विरोध जनाउँदै आन्दोलन विथोल्न खोजिए त्यसको परिणाम भयावह हुने चेतावनी समेत दिएको छ । झापादेखि कैलालीसम्मको थारू आन्दोलनमा सुरक्षाकर्मीले साउन ३० मा आक्रमण गर्दा कैयौं घाइते र पक्राउ परेको संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।

आन्दोलनकै क्रममा शनिबार नवलपरासीमा प्रहरीले लाठी चार्ज गर्दा चारजना सख्त घाइते भएको थारु पत्रकार संघ नवलपरासीका अध्यक्ष जितनारायण थनैतले जानकारी दिए । प्रहरीले चलाएको गोलीबाट घर जडान गर्ने मनोहराका मिस्त्री कोमल चौधरी गम्भीर घाइते भएका छन् । घाइतेहरुको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । तिलकपुरस्थित मगरमुढामा रहेको एमाले सभासद बैजनाथ चौधरीको निवास वरपर आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरी हवाइ  फायर गरेकोमा भाग्ने क्रममा मिस्त्री कोमल चौधरीलाई गोली लागेको थारु संघर्ष समिति नवलपरासीका संयोजक राधेश्याम चौधरीले बताए ।

तिलकपुरस्थित मगरमुढामा रहेको एमाले सभासद बैजनाथ चौधरीको निवास वरपर आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरी हवाइ  फायर गरेकोमा भाग्ने क्रममा मिस्त्री कोमल चौधरीलाई गोली लागेको थारु संघर्ष समिति नवलपरासीका संयोजक राधेश्याम चौधरीले बताए ।

त्यस्तै झापाको विर्तामोड, मोरङ्को तितरिया, सुनसरीको झुम्का, सप्तरीको कल्याणपुर र कञ्चनपुर, रौतहतको चन्द्रनिगाहपुर, कैलालीको टीकापुरमा प्रहरीले आन्दोलनकारीमाथि ज्यादती गरेको थाकस अध्यक्ष धनीराम चौधरीले बताए । थारू सभासद संघर्ष समितिका संयोजक तथा फोरम (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरीले थारूको आन्दोलन पहिचान र अस्तित्वको लडाई भएकाले आन्दोलन कुनै हालतमा नरोकिने बताए । चार प्रमुख नेताले थारूलाई समाप्त गर्ने षडयन्त्र गरेको आरोप लगाउँदै सभासद चौधरीले साउन ३२ गतेसम्म निर्णायक आन्दोलन हुने र सो पछि स्थिति हेरेर अर्को चरणको संघर्षको कार्यक्रम सार्वजनिक हुने जानकारी दिए ।

प्रमुख चार दलको सहमति अनुसार ६ प्रदेशको सीमाङ्कनसहितको संविधानको खाका सार्वजनिक भएपछि थरुहट भूगोल गुमेको र समानुपातिक समावेशीतालाई दलका नेताहरुले छाडेको भन्दै थारूहरु आन्दोलित भएका छन् । थारूको अधिकार सुनिश्चित् नगरेसम्म आन्दोलन नरोकिने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया