माझी, पहरी र भुजेललगायतका अतिसिमान्तकृत आदिवासीको पहिचान संकटमा, प्रथाजन्य भूमि असुरक्षित

दशीराम थारु
दशीराम थारु१३ मंसिर २०८३
माझी, पहरी र भुजेललगायतका अतिसिमान्तकृत आदिवासीको पहिचान संकटमा, प्रथाजन्य भूमि असुरक्षित

 काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका माझी, पहरी र भुजेल समुदायका अगुवाहरूले अतिसिमान्तकृत आदिवासीको पहिचान संकटमा परेको र प्रथाजन्य भूमि असुरक्षित भएको बताएका छन्।

इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालले संयुक्त रूपमा भुम्लु गाउँपालिका–६, कोँलातीमा आयोजना गरेको सिमान्तकृत आदिवासी महिलासँगको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी समुदायका प्रतिनिधि तथा अगुवाहरूले यस्तो धारणा राखेका हुन्।

टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘निरन्तर बहस’का लागि आयोजित संवादमा सहभागी वक्ताहरूले माझी, पहरी र भुजेल समुदायका भाषाका वक्ता घट्दै गएको, संस्कृति तथा परम्पराको संरक्षण हुन नसकेको र माझी समुदायका सांस्कृतिक सम्पदास्थलमाथि अतिक्रमण भएको बताएका थिए।

भुम्लु गाउँपालिकाले २०८० साल पुस २६ गते ‘भुम्लु गाउँपालिका आदिवासी जनजाति विकास प्रतिष्ठान ऐन’ जारी गरी आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति र परम्परा संरक्षण गर्ने पहल गरेको बताउनुभयो। तर, समुदायको तत्परताको अभावमा ऐन कार्यान्वयनमा चुनौती आएको उहाँको भनाइ थियो।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले समुदायमा जागरण र चेतना अभिवृद्धि भएमा मात्रै पहिचानसँग जोडिएका विषयको संरक्षण सम्भव हुने बताउनुभयो।

उहाँले भुम्लु गाउँपालिकाले २०८० साल पुस २६ गते ‘भुम्लु गाउँपालिका आदिवासी जनजाति विकास प्रतिष्ठान ऐन’ जारी गरी आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति र परम्परा संरक्षण गर्ने पहल गरेको बताउनुभयो। तर, समुदायको तत्परताको अभावमा ऐन कार्यान्वयनमा चुनौती आएको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नको जवाफ दिँदै अध्यक्ष भुजेलले ऐनको मर्मअनुसार समुदायले आफैँ योजना बनाउने र त्यसको कार्यान्वयन पनि आफैँ गर्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि सबै आदिवासी जनजातिका जातीय संस्थालाई कार्यक्रम तयार गरी समुदायको हितमा काम गर्न आग्रह गरिएको छ।

कार्यक्रमकी अर्की वक्ता नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष तथा नेपाल माझी उत्थान संघकी अध्यक्ष चिनीमाया माझीले अतिसिमान्तकृत आदिवासी जनजातिको हितका लागि स्थानीय सरकारको पहल सकारात्मक भए पनि परम्परागत सीप, ज्ञान र भाषाको संरक्षणमा पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभयो।

उहाँले सुनकोशी नदी किनारका क्षेत्र माझी समुदायको प्रथाजन्य भूमि रहेको उल्लेख गर्दै ती भूमि तथा भूक्षेत्रमा कुनै पनि कार्यक्रम वा क्रियाकलाप सञ्चालन गर्दा समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपीक) आवश्यक पर्नेमा जोड दिनुभयो।

भुम्लु गाउँपालिका–६ मा पोखरी निर्माण गर्दा माझी समुदायको परम्परागत पूजास्थल अतिक्रमण भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो कार्य सच्याउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो।

यसअघि कार्यक्रममा सहभागी नेपाल माझी महिला उत्थान संघकी कोषाध्यक्ष सावित्री माझीले आधुनिक पोखरी निर्माणका क्रममा माझी समुदायको परम्परागत पूजास्थल तथा आस्थाको केन्द्र अतिक्रमण भएको भन्दै आपत्ति जनाउनुभएको थियो।

नेपाल माझी महिला उत्थान संघकी कोषाध्यक्ष सावित्री माझीले आधुनिक पोखरी निर्माणका क्रममा माझी समुदायको परम्परागत पूजास्थल तथा आस्थाको केन्द्र अतिक्रमण भएको भन्दै आपत्ति जनाउनुभएको थियो।

कार्यक्रममा उपस्थित वडा नम्बर ५ का अध्यक्ष भरतबहादुर शिवभक्तिले भने पोखरी निर्माण समुदायको सहमतिमै गरिएको दाबी गर्नुभयो। उहाँले सावित्री माझीको उपस्थितिमा नै पोखरी निर्माणसम्बन्धी निर्णय भएको उल्लेख गर्नुभयो। तर, सावित्री माझीले उक्त दाबीको प्रतिवाद गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नेपाल पहरी विकास संघकी कोषाध्यक्ष रिता पहरीले पहरी समुदायको भाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। पहरी समुदायको परम्परागत सीप तथा बेतबाँसका सामग्री बनाउने काम व्यावसायिक रूपमा अघि बढ्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले माझी र भुजेल समुदायको अवस्था पनि उस्तै रहेको बताउनुभयो।

कार्यक्रमकी अर्की सहभागी मिठू पहरीले आदिवासीको पहिचान तथा परिचय स्थापित गर्न स्थानीय सरकारको प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकारले महिला लक्षित कार्यक्रमका नाममा साबुन बनाउने तालिम सञ्चालन गरे पनि प्रथा, परम्परा र पहिचान संरक्षणसँगै जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।

इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्देशक कुमार यात्रुले सञ्चालन गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रममा टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारको समेत उपस्थिति थियो। स्थानीय श्रीकृष्ण पहरीलगायतले कार्यक्रम आयोजनाका लागि पहल गर्नुभएको थियो।

इन्डिजिनियस टेलिभिजनले समुदायस्तरमा आदिवासी जनजातिका प्रथा, परम्परा र अधिकारका सवालमा यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘निरन्तर बहस’ कार्यक्रम इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालबाट हरेक साता प्रसारण हुँदै आएको छ।

प्रतिक्रिया