इन्डिजिनियस टेलिभिजनका संस्थापक अध्यक्ष देवकुमार सुनुवारको जीवनकथामा आधारित किशोर उपन्यास ‘देवी’सहित पाँच पुस्तक राजधानीमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । कार्यक्रममा नेपाल, भारत र बंगलादेशका लेखक तथा साहित्यकार सहभागी थिए ।
विजयराज आचार्यद्वारा लिखित ‘देवी’ उपन्यास सुनुवारले बाल्यकालमा पारिवारिक तथा सामाजिक परिवेशमा भोगेका विविध कठिनाइमा आधारित छ । रामेछापको कुँबुकाँस्थलीमा जन्मिएका देवकुमार सुनुवार आफ्नो जन्मथलोमा ‘देवी’ नामले परिचित छन् । उपन्यासका पात्र तथा मूल पात्र देवीले भोगेको जीवन आफ्नो वास्तविक जीवनयात्राको प्रतिबिम्ब रहेको सुनुवारले पुस्तकको आमुखमा उल्लेख गरेका छन् ।
देवकुमार सुनुवारको जीवनकथामा आधारित किशोर उपन्यास ‘देवी’सहित पाँच पुस्तक राजधानीमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ
कवि तथा साहित्यकार कुमार यात्रुको अध्यक्षतामा आयोजित विमोचन समारोहमा अग्रज साहित्यकार प्रमोद प्रधानले उपन्यासको समीक्षा गर्दै यसले नयाँ पुस्तालाई प्रेरणा दिने विचार व्यक्त गर्नुभयो ।
सोही समारोहमा तीर्थकुमारी लामाद्वारा लिखित ‘विष्णु के।सी।को बालसाहित्यकारिता : विश्लेषण र मूल्याङ्कन’ नामक ग्रन्थ पनि विमोचन गरियो । रोजिना लामाका नामले परिचित लामाले आफ्नो स्नातकोत्तर तहको शोधलाई पुस्तकका रूपमा प्रकाशित गर्नुभएको हो । भूँडी पुराणले प्रकाशनमा ल्याएको उक्त पुस्तकबारे बोल्दै डा. विष्णु केसीले आफ्नो साहित्यिक कर्ममाथि पुस्तक प्रकाशित हुनु खुसीको विषय भएको बताउनुभयो ।
समारोहमा बंगलादेशी लेखकहरू शरणा तजिया रहमान, वानाइजा रहमान र मिजानुर रहमान कल्लोलद्वारा लिखित बालकथा ‘रातको पाहुना’ तथा शरणा तजिया रहमानको अर्को कृति ‘निलो साइकल’ पनि विमोचन गरियो ।
बंगलादेशका लेखकरतन पाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा भारतको उडिसा भाषाका लेखक अजित पात्र तथा बंगलादेशका लेखक डा. मिजानुर रहमान कल्लोललगायतले कला र साहित्य कुनै एक भूगोलमा मात्र सीमित नरहने बताउनुभयो । उहाँहरूले साहित्यले राष्ट्रिय सीमाको घेरा नाघेर सांस्कृतिक अन्तरक्रियालाई प्रवर्द्धन गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष यात्रुले देवकुमार सुनुवारको जीवनका थप पक्ष समेटेर अर्को श्रृङ्खला पनि लेख्न सुझाव दिनुभयो । इन्डिजिनियस टेलिभिजनका प्रबन्ध निर्देशक जगतमान लामा दोङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कैलाश राईले पनि पुस्तकहरूको समीक्षा गर्नुभएको थियो ।









