जलवायु नीतिमा आदिवासीलाई सम्बोधन नगरिएको गुनासो, आन्तरिक शरणार्थी बनाइएको आरोप

रोजिना लामा
रोजिना लामा८ मंसिर २०८३
जलवायु नीतिमा आदिवासीलाई सम्बोधन नगरिएको गुनासो, आन्तरिक शरणार्थी बनाइएको आरोप

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाले बढ्दो जलवायु जोखिमका बाबजुद आदिवासी जनजाति समुदायलाई सम्बोधन गर्ने गरी जलवायु नीति बन्न नसकेको गुनासो गर्नुभएको छ। उहाँले जलवायु विपद्का कारण आदिवासी जनजाति समुदायका मानिसहरू आफ्नै भूमिमा विस्थापित भएर आन्तरिक शरणार्थी बन्नुपरेको बताउनुभयो।

नेपालमा जलवायु कार्यमा आदिवासी महिलाको नेतृत्व विकास विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै लामाले यस्तो गुनासो गर्नुभएको हो।

डाँडामा बस्ने आदिवासीलाई भूकम्पजस्तो विपद्ले लग्यो, खोला किनारमा बसोबास गर्ने आदिवासीलाई बाढीले बगायो,’ उहाँले भन्नुभयो, ‘यति धेरै पीडित हुँदासम्म पनि हालसम्म आदिवासीमैत्री जलवायु नीति छैन।’

‘डाँडामा बस्ने आदिवासीलाई भूकम्पजस्तो विपद्ले लग्यो, खोला किनारमा बसोबास गर्ने आदिवासीलाई बाढीले बगायो,’ उहाँले भन्नुभयो, ‘यति धेरै पीडित हुँदासम्म पनि हालसम्म आदिवासीमैत्री जलवायु नीति छैन।’

रसुवाको भोटेकोशी–त्रिशूली बाढी तथा यसअघिका जलवायु विपद्का घटनाको चर्चा गर्दै लामाले हिमाली आदिवासीले कोप–३१ मा समेत जलवायु न्याय पाउन नसकेको टिप्पणी गर्नुभयो। उहाँले बाढी प्रभावित आदिवासी समुदायको अवस्था अझै दयनीय रहेको बताउनुभयो।

लामाले जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीको क्षतिपूर्ति आदिवासी जनजाति समुदायले पाउनुपर्नेमा जोड दिनुभयो। जलवायु कोषबाट प्राप्त हुने अनुदान र क्षतिपूर्तिमा आदिवासीको पहुँच सुनिश्चित गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो।

आदिवासी जनजातिका समस्या समाधानका लागि राजनीतिक अग्राधिकार आवश्यक रहेको उल्लेख गर्दै उहाँले नीति निर्माण तहमा आदिवासीका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकार तथा नीति निर्माताको ध्यानाकर्षण गराउनुभयो।

प्रतिक्रिया