चेपाङ भाषा संरक्षणको सवाल: यसको पहिचान, अस्तित्व र पुस्तान्तरणको साझा जिम्मेवारी

मनिष राना चेपाङ
मनिष राना चेपाङ१८ कार्तिक २०८३, मङ्गलवार
चेपाङ भाषा संरक्षणको सवाल: यसको पहिचान, अस्तित्व र पुस्तान्तरणको साझा जिम्मेवारी

भाषाको परिचय केवल सञ्चारको माध्यम तथा आधार मात्र होइन, यो त कुनै पनि समुदायको इतिहास, संस्कृति, सभ्यता, ज्ञान, मौलिकता र पहिचान बोकेको अमूल्य सम्पत्ति हो।

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक तथा विशेष जातीय विशेषता भएको राष्ट्र हो। यहाँ बोलिने हरेक भाषा कुनै न कुनै समुदायको इतिहास, जीवनशैली, परम्परा, मौलिक ज्ञान र सभ्यताको जीवन्त अभिव्यक्ति हो। साथै भाषिक विविधता नेपालको राष्ट्रिय सम्पत्ति पनि हो। तर विडम्बना, यही भाषिक विविधताभित्र रहेका हामी कतिपय आदिवासी जनजाती तथा सीमान्तकृत समुदायका मातृभाषाहरू भने क्रमशः कमजोर हुँदै गइरहेको तथा लोप हुदै गइरहेको अवस्थामा छन्। यस्तै चुनौतीको सामना गरिरहेका कयौं भाषाहरूमध्ये चेपाङ (च्‍योबाङ/प्रजा) भाषा पनि एक हो।

चेपाङ समुदाय नेपालको अति सीमान्तकृत आदिवासी जनजातिमध्ये एक हो। सरकारको राष्‍ट्रीय तथ्‍याङ्‍क अनुसार चेपाङ समुदायको कुल जनसङ्‍ख्‍या बि. सं. २०५८ अनुसार ५२,२३७, बि. सं. २०६८ अनुसार ६८,३९९, र बि. सं. २०७८ अनुसार ८४,३६४ रहेको पाइन्‍छ। जनसङ्ख्याका हिसाबले चेपाङ समुदायको उपस्थिति उल्‍लेखनीय रहे पनि आफ्नै मातृभाषा बोल्ने जनसङ्ख्या भने अपेक्षाकृत घट्दै गएको चिन्ताजनक अवस्था छ। समुदायका सबै सदस्यले आफ्नो मातृभाषा प्रयोग नगर्नु र नयाँ पुस्तामा भाषाको हस्तान्तरण कमजोर हुँदै जानु यस समस्याका प्रमुख सङ्केत हुन्। हुन त कुनै समुदायको जनसङ्ख्या ठूलो हुँदैमा त्यसको भाषा स्वतः सुरक्षित हुन्छ भन्ने पनि हुँदैन। किनभने भाषा सुरक्षित रहनको लागि त्यसलाई बोल्नुपर्छ, सिकाउनुपर्छ, सिकाइनुपर्छ, लेख्नुपर्छ र दैनिक जीवनमा बोलीचालीलाई प्रयोगमा ल्याउनुपर्ने हुन्छ।

चेपाङ भाषाको वर्तमान अवस्था र चुनौती

हालै नेपाल चेपाङ संघको सहकार्यमा इन्डिजिनियस टेलिभिजन मार्फत प्रिय मित्र विश्वास चेपाङले सञ्चालन गर्दै आइरहेको चेपाङ भाषाको ऐतिहासिक टेलिभिजन कार्यक्रम “क्रुसकाइसा–पाइक्‍काइसा” मा हालै सहभागी भएर मैले चेपाङ भाषाको महत्त्व, यसको वर्तमान अवस्था र संरक्षणका आवश्यकताबारे आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाएँ। उक्त कुराकानीका क्रममा मैले एउटा गम्भीर विषयमा सवालपूर्ण बिचार प्रस्तुत गरेको छु । त्यो के हो भने, चेपाङ जातिको जनसङ्ख्या उल्लेख्य भए पनि त्यसको अनुपातमा चेपाङ भाषा बोल्ने मानिसको सङ्ख्या सन्तोषजनक भने छैन।

अहिले धेरै चेपाङ परिवारमा आफ्ना छोराछोरीसँग नेपाली भाषामा कुराकानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। कतिपयले आफ्नो मातृभाषा बुझ्ने भए पनि बोल्न हिचकिचाउने गरेका छन् भने नयाँ पुस्ताका कतिपय बालबालिकाले चेपाङ भाषा सिक्ने अवसरसमेत पाएका छैनन्। यस्तो अवस्था निरन्तर रहिरहने हो भने एक पुस्ताबाट अर्को पुस्तामा भाषा हस्तान्तरण हुने प्राकृतिक प्रक्रिया कमजोर हुँदै जानेछ।

अहिले धेरै चेपाङ परिवारमा आफ्ना छोराछोरीसँग नेपाली भाषामा कुराकानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। कतिपयले आफ्नो मातृभाषा बुझ्ने भए पनि बोल्न हिचकिचाउने गरेका छन् भने नयाँ पुस्ताका कतिपय बालबालिकाले चेपाङ भाषा सिक्ने अवसरसमेत पाएका छैनन्।

भाषा लोप हुनु भनेको शब्दहरू हराउनु मात्र होइन। त्यससँगै समुदायको मौलिक ज्ञान, उखानटुक्का, लोककथा, गीत, संस्कृति, परम्परागत सीप, प्रकृतिसम्बन्धी ज्ञान र पुर्खाहरूले पुस्तौँदेखि सञ्चित गरेका अनुभवसमेत हराउँदै जानु हो। त्यसैले चेपाङ भाषाको संरक्षणलाई केवल भाषिक विषयका रूपमा नभै समग्र समुदायको अस्तित्व र पहिचानसँग जोडेर हेर्नुपर्ने देखिन्छ।

मातृभाषा र जातीय पहिचानको सम्बन्ध

कुनै पनि जातिको वास्तविक पहिचान उसको नाम वा थरमा मात्र सीमित हुँदैन। उसको भाषा, संस्कृति, इतिहास, परम्परा, मौलिक जीवनशैली र सामूहिक चेतनाले त्यस पहिचानलाई जीवन्त बनाउँछन्। चेपाङ जातिको पनि आफ्नै विशिष्ट भाषा र संस्कृति छ। त्यसैले चेपाङ हुनुको अर्थ आफ्नो भाषिक तथा सांस्कृतिक मौलिकतालाई पनि सम्मान गर्नु हो।

हामी हरेक मातृभाषीहरुले बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के छ भने, जो कोहीले पनि आफ्नो मातृभाषा बोल्नु भनेको अरू भाषा नबोल्नु वा अन्य भाषाप्रति असहिष्णु हुनु कदापी होइन। नेपाली, अङ्ग्रेजी, हिन्दी वा अन्य कुनै पनि भाषा सिक्नु र प्रयोग गर्नु ज्ञान, अवसर तथा अन्तरसम्बन्ध विस्तारका लागि आवश्यक हुन सक्छ। तर अन्य भाषा सिक्ने क्रममा आफ्नै मातृभाषालाई बिर्सनु हुँदैन। वर्तमान अवस्थामा जिविकोपार्जनको उद्देश्यले अन्य भाषा सिकेर बोल्नु, प्रयोगमा ल्याउनु जति आवश्यक छ, आफ्नो हृदयको भाषालाई जीवन्त राख्न आफ्नो मातृभाषामा बोल्नु, लेख्नु त्यो भन्दा कम आवश्यक कुरा हुँदैन ।

आज अङ्ग्रेजी भाषा अन्तर्राष्ट्रिय सम्पर्क, शिक्षा, प्रविधि र रोजगारीको महत्त्वपूर्ण माध्यम बनेको छ। हिन्दी भाषाको प्रभाव पनि व्यापक छ भने नेपाली भाषा नेपालको साझा सम्पर्क भाषाका रूपमा प्रयोग भइरहेको छ। यी भाषाहरूको आफ्नै महत्त्व र आवश्यकता छन्। तर यति हुँदाहुँदै पनि चेपाङ समुदायले आफ्नो मातृभाषालाई बेवास्ता गर्नु हुँदैन। अरूको भाषा सिकेर सक्षम बन्न सकिन्छ, तर आफ्नो भाषा जोगाएर मात्र आफ्नो मौलिक भाषिक पहिचानलाई पुस्तौँसम्म जीवित राख्न सकिन्छ।

भाषा संरक्षणमा म, तपाई, र समुदायको भूमिका

भाषा संरक्षणको पहिलो जिम्मेवारी सम्बन्धित समुदाय स्वयंको हो, र समुदायका व्‍यक्ति-व्‍यक्तिको हो। त्‍यो व्‍यक्ति म हुँ, र र तपाई हो। त्‍यसकारण सर्वप्रथम त भाषा संरक्षणमा म, तपाई, र समुदायको भूमिका रहुनुपर्छ। त्‍यसपछि मात्र सरकार, सङ्घसंस्था, भाषाविद् वा विभिन्न विकास साझेदारहरूले सहयोग गर्न सक्छन्, तर समुदायका मानिसहरूले नै आफ्नो भाषा बोल्न छोडे भने बाह्‍य प्रयासले मात्र भाषालाई जीवन्त राख्न सकिदैन।

सबैभन्दा पहिले प्रत्येक चेपाङ परिवारले घरभित्र आफ्ना बालबालिकासँग चेपाङ भाषामा कुराकानी गर्ने अभ्यास सुरु गर्नुपर्छ। बालबालिकाले मातृभाषा सिक्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी स्थान घरपरिवार नै हो। अभिभावक, हजुरबा–हजुरआमा र परिवारका ज्येष्ठ सदस्यहरूले नयाँ पुस्तालाई भाषा सिकाउने वातावरण निर्माण गर्नुपर्छ। म व्‍यक्तिगत रुपमा नेपाली, अंग्रेजी लगायत अन्‍य भाषाहरूमा सम्‍पर्क-समन्‍वय गर्न सक्‍छु, तर घर परिवारको मामलामा भने हामी परिवार नै आफ्‍नै मातृभाषा, हृदयको भाषा, चेपाङ भाषामा नै कुराकानी गर्छौ, र सिकेर बोलिने अन्‍य भाषाहरूमा भन्‍दा आफ्‍नो भाषामा मात्र हृदयको भाव प्रकट गर्न सकिन्‍छ।

सबैभन्दा पहिले प्रत्येक चेपाङ परिवारले घरभित्र आफ्ना बालबालिकासँग चेपाङ भाषामा कुराकानी गर्ने अभ्यास सुरु गर्नुपर्छ। बालबालिकाले मातृभाषा सिक्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी स्थान घरपरिवार नै हो। अभिभावक, हजुरबा–हजुरआमा र परिवारका ज्येष्ठ सदस्यहरूले नयाँ पुस्तालाई भाषा सिकाउने वातावरण निर्माण गर्नुपर्छ।

दोस्रो, चेपाङ भाषालाई समुदायको दैनिक बोलीचालीमा व्यापक रूपमा प्रयोग गर्नुपर्छ। सभा, सम्मेलन, सामाजिक कार्यक्रम, सांस्कृतिक गतिविधि, धार्मिक कार्यक्रम तथा सामुदायिक छलफलमा पनि चेपाङ भाषाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। भाषा प्रयोग गर्ने अवसर जति बढ्छ, यसको व्यावहारिक महत्त्व र सामाजिक प्रतिष्ठा पनि त्यति नै बढ्दै जान्छ।

तेस्रो, चेपाङ भाषाको लेखन पद्धति, शब्दभण्डार, व्याकरण, साहित्य र पाठ्यसामग्रीको विकासमा विशेष ध्यान दिनुपर्छ। भाषा बोलिने मात्र नभई लेखिने, पढिने, अध्ययन गरिने र नयाँ ज्ञान सिर्जना गर्ने माध्यम पनि बन्नुपर्छ। बालबालिकाका लागि मातृभाषामा कथा, कविता, गीत, पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्री तयार गर्न आवश्यक छ। विद्यालयमा मातृभाषामा आधारित शिक्षा तथा स्थानीय भाषिक आवश्यकताअनुसार अध्ययन–अध्यापनको व्यवस्था विस्तार गर्नुपर्छ।

प्रविधि, सञ्चार र दस्तावेजीकरणको आवश्यकता

वर्तमान युग सूचना तथा प्रविधिको युग हो। सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, डिजिटल सामग्री र अनलाइन सञ्चार माध्यमहरू भाषा संरक्षणका प्रभावकारी साधन बन्न सक्छन्। चेपाङ भाषामा समाचार, अन्तर्वार्ता, शैक्षिक सामग्री, गीत, कथा, वृत्तचित्र तथा अन्य सिर्जनात्मक सामग्री उत्पादन गर्न सके नयाँ पुस्तामा भाषाप्रति आकर्षण बढाउन सकिन्छ।

यस सन्दर्भमा "क्रुसकाइसा–पाइक्काइसा" जस्ता चेपाङ भाषाका टेलिभिजन कार्यक्रमहरू अत्यन्त महत्त्वपूर्ण छन्। यस्ता कार्यक्रमले चेपाङ भाषालाई सार्वजनिक सञ्चारको माध्यम बनाउनुका साथै यसको प्रयोग, प्रवर्धन र सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछन्। यस्ता प्रयासलाई निरन्तरता दिनु र अझ प्रभावकारी बनाउनु आजको आवश्यकता हो।

त्यसैगरी भाषाको दस्तावेजीकरण पनि उत्तिकै महत्त्वपूर्ण छ। चेपाङ भाषाका मौलिक शब्दहरू, उखानटुक्का, लोककथा, गीत, ऐतिहासिक घटनाहरू, परम्परागत ज्ञान र सांस्कृतिक अभ्यासहरूलाई अभिलेखीकरण गर्नुपर्छ। अडियो, भिडियो, पुस्तक, शब्दकोश र डिजिटल अभिलेखका माध्यमबाट भाषिक सम्पत्तिको संरक्षण गर्न सकिन्छ। आज हामीले अभिलेख नगरेका कतिपय ज्ञान र शब्दहरू भोलिका पुस्ताका लागि सधैँका निम्ति हराउन सक्छन्।

मेरो व्यक्तिगत प्रतिबद्धता र भाषाप्रतिको जिम्मेवारी

म स्वयं चेपाङ भाषालाई प्रेम गर्ने र यसको संरक्षण तथा विकास आवश्यक ठान्‍ने व्यक्तिका रूपमा विगत करिब एक दशकदेखि निरन्तर रुपमा विभिन्न माध्यमबाट चेपाङ भाषाको प्रवर्धन, संवर्धन, संरक्षण र दस्तावेजीकरणका काममा संलग्न रहँदै आएको छु। चेपाङ भाषामा लेख्ने, विभिन्न सामग्रीलाई चेपाङ भाषामा अनुवाद गर्ने तथा भाषालाई लिखित र सार्वजनिक प्रयोगमा विस्तार गर्ने प्रयास मेरो निरन्तर यात्राको हिस्सा बनेको छ। अहिले चेपाङ भाषा लेखक तथा अनुवादकको रुपमा परिचित हुनु नै मेरो आफ्‍नो भाषा प्रतिको माया हो भन्‍ने मेरो बुझाई रहेको छ।

भाषा संरक्षण कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। यसका लागि भाषाप्रेमी, लेखक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सामाजिक अभियन्ता, स्थानीय अगुवा, सरकारी निकाय र समग्र चेपाङ समुदायबीच साझा प्रतिबद्धता आवश्यक छ।

मेरो बुझाइमा भाषा संरक्षण कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। यसका लागि भाषाप्रेमी, लेखक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सामाजिक अभियन्ता, स्थानीय अगुवा, सरकारी निकाय र समग्र चेपाङ समुदायबीच साझा प्रतिबद्धता आवश्यक छ। मैले गर्दै आएका प्रयासहरू पनि यही सामूहिक उद्देश्यको एउटा सानो हिस्सा हुन्। भाषा संरक्षणको काम व्यक्तिगत प्रतिष्ठाका लागि होइन, भावी पुस्ताले आफ्नो मौलिक भाषिक पहिचान गर्वका साथ ग्रहण गर्न सकून् भन्ने उद्देश्यका लागि हुनुपर्छ। यसरी पनि आफ्नो जाती तथा आफ्नो मातृभाषाको लागी योगदान पुऱ्याउन

सकिन्छ कि भन्ने साझा स्वार्थ राखेर नै बिगत एक दशकदेखी निरन्तर रूपमा आफ्नो भाषाको अनुवादकको रूपमा कार्यरत रहँदै आईरहेको छु।

अबको संकल्प भाषालाई बोल्ने मात्र नभै स्थापित गर्ने हुनुपर्छ

चेपाङ भाषाको संरक्षणका लागि अब भावनात्मक अपिलसँगै व्यावहारिक योजना र संस्थागत पहल आवश्यक छ। भाषिक सर्वेक्षणमार्फत वास्तविक वक्ता सङ्ख्या र भाषाको प्रयोगको अवस्था पहिचान गर्नुपर्छ। स्थानीय तहमा मातृभाषा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ। चेपाङ भाषाका शिक्षक तथा सामग्री विकासकर्ताको क्षमता अभिवृद्धि गर्नुपर्छ। भाषिक अनुसन्धान, शब्दकोश निर्माण, व्याकरण लेखन, साहित्य सिर्जना र मातृभाषामा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्छ। यसको लागि मैले गर्नुपर्ने जिम्मेवारी बहन गर्न सधै तत्पर नै रहनेछु, यो मेरो व्यक्तिगत प्रतिबद्धता पनि हो।

यसका साथै चेपाङ भाषालाई घरपरिवार र समुदायको सीमाभित्र मात्र नराखी सञ्चार, शिक्षा, साहित्य, प्रविधि र सार्वजनिक जीवनमा प्रयोग हुने भाषाका रूपमा विकास गर्नुपर्छ। भाषा स्थापित हुनु भनेको त्यसलाई बोल्ने मानिस हुनु मात्र होइन; त्यस भाषामा ज्ञान उत्पादन हुनु, नयाँ पुस्ताले पढ्न र लेख्न सक्नु तथा समाजका विभिन्न क्षेत्रमा यसको सम्मानजनक प्रयोग हुनु पनि हो।

अन्ततः, चेपाङ भाषा संरक्षणको जिम्मेवारी कुनै एउटा संस्था, व्यक्ति वा पुस्ताको मात्र होइन। यो सम्पूर्ण चेपाङ समुदायको साझा जिम्मेवारी हो। हामीले आफ्ना बालबालिकालाई आफ्नो मातृभाषा सिकाउन सकेनौँ भने भविष्यमा उनीहरूलाई आफ्नो भाषिक पहिचान खोज्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले आजैदेखि घरघरमा आफ्‍नो मातृभाषा चेपाङ भाषा बोलौँ, बालबालिकालाई सिकाऔँ, लेखौँ, पढौँ, अध्ययन गरौँ र यसको प्रयोगलाई विस्तार गरौँ।

हामीले आफ्नो भाषा जोगाउनु भनेको केवल एउटा भाषा जोगाउनु होइन; आफ्नो इतिहास, संस्कृति, मौलिकता र पुस्तौँदेखिको पहिचान जोगाउनु हो। भाषा रहे पहिचान रहन्छ, पहिचान रहे समुदायको मौलिक अस्तित्व जीवन्त रहन्छ। त्यसैले चेपाङ भाषा संरक्षण अब विकल्प होइन, हाम्रो सामूहिक आवश्यकता र पुस्तान्तरणप्रतिको ऐतिहासिक जिम्मेवारी पनि हो।

प्रतिक्रिया