काठमाडौँ विश्वविद्यालयको डिनमा बालकृष्ण बल नियुक्त, समाजलाई योगदान दिने प्रतिबद्धता

Admin
Admin२७ भदौ २०८३, शनिवार
काठमाडौँ विश्वविद्यालयको डिनमा बालकृष्ण बल नियुक्त, समाजलाई योगदान दिने प्रतिबद्धता

काठमाडौँ विश्वविद्यालय (KU) को इन्जिनियरिङ स्कुलको डिनमा प्रा. डा. बालकृष्ण बल नियुक्त हुनुभएको छ। उहाँको कार्यकाल तीन वर्षको हुनेछ। यसअघि उहाँ सोही संकायमा अनुसन्धान, आयोजना तथा विस्तारित कार्यक्रम हेर्ने सह(डिनको जिम्मेवारीमा हुनुहुन्थ्यो।

कम्प्युटर विज्ञान तथा इन्जिनियरिङका विज्ञ प्रा. डा. बलले काठमाडौँ विश्वविद्यालयबाटै कम्प्युटर विज्ञान तथा इन्जिनियरिङमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको हो। उहाँले सन् २००९ देखि काठमाडौँ विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धान यात्रा सुरु गर्नुभएको थियो।

प्राकृतिक भाषा प्रशोधन (NLP) र कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा दुई दशक लामो अनुभव सम्हाल्नुभएका डा. बलको नेतृत्वमा मेसिन ट्रान्सलेसन, नेपाली टेक्स्ट -टु- स्पिच र अप्टिकल क्यारेक्टर रिकग्निसन जस्ता स्रोत-साधनको अभाव रहेका भाषाहरूको क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्। उहाँले अंग्रेजी, नेपाली र तामाङ भाषाबीचको त्रिभाषिक अनुवाद प्रणाली निर्माणमा समेत कार्य गर्नुभएको छ। हाल उहाँ नेपाल सरकारको AI नियमन परिषद्को विज्ञ सदस्यका रूपमा राष्ट्रिय प्रविधि नीति निर्माणमा समेत संलग्न हुनुहुन्छ।

अध्यापनसँगै अनुसन्धानको क्षेत्रमा समेत सक्रिय रहनुभएका डा. बल सन् २०१५ देखि २०१६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टन विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय अनुसन्धानको अनुभव हासिल गर्नुभएका उहाँ सन् २०२४ देखि काठमाडौँ विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।

उहाँले अंग्रेजी, नेपाली र तामाङ भाषाबीचको त्रिभाषिक अनुवाद प्रणाली निर्माणमा समेत कार्य गर्नुभएको छ। हाल उहाँ नेपाल सरकारको AI नियमन परिषद्को विज्ञ सदस्यका रूपमा राष्ट्रिय प्रविधि नीति निर्माणमा समेत संलग्न हुनुहुन्छ।

 

भोजपुर स्थायी घर भएका प्रा. डा. बलले आफ्नो विद्यालय तहको शिक्षा पोखरास्थित गण्डकी बोर्डिङ स्कुलबाट पूरा गर्नुभएको हो। विश्वविद्यालयमा लामो समयदेखि अध्यापन, अनुसन्धान र प्रशासनिक जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रा.डा. बलको नेतृत्वमा इन्जिनियरिङ स्कुलले शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।

डिनको जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै प्रा. डा. बलले आफूले गौरवान्वित महसुस गरेको बताउनुभएको छ। उहाँले आगामी दिनमा शिक्षण, अनुसन्धान र प्रविधिका माध्यमबाट नेपाली समाजलाई योगदान पुर्‍याउने गरी विद्यार्थी र प्राध्यापकहरूको सशक्त टिम निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया