मनोहराको प्रथाजन्य औचित्य माथि थोपरिएको औपनिवेशिक पीडा 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ वैशाख २०८३, बिहिवार
मनोहराको प्रथाजन्य औचित्य माथि थोपरिएको औपनिवेशिक पीडा 

मनोहरा खोलाले मलाई सुनाएको कथा...
प्रिय अष्ट !!! तिमी काठमाण्डौं बिश्वबिद्यालय अन्तर्गत आदिबासी जनजाति शिक्षा बिकासको स्नाकोत्तर तहमा अध्ययन गर्दै गर्दा सिमान्कृत, आदिबासी जनजाति, पछाडी परिएका समुहहरु कसरी आधुनिकता र औपनिबेशिकरणले तिनीहरुको अस्तित्वमा प्रहार गरियो भनी अध्ययन गर्दै छौ । तिमीले बिऔपनिबेशिक आवधारण भित्र रहेर ती पछाडी परेका वा परिएका समुहहरुको हकहित र उनीहरुको संरक्षणको लागि अध्ययन र वकालत गर्ने तयारी गर्दै गर्दा,मेरै किनारा नजिक बस्ने भएकोले पनि, मेरा सुख दुखको कथा सुनाउन तिमी भन्दा अरु भेटिन मैले । तसर्थ, तिमीलाई मेरो कथा सुनाउन चाहन्छु, समय छ नी ? आशा छ, मेरो कथाहरु तिमीले लिपीबद्ध गरेर अरुले पनि थाहा पाउने गरी स्वस्थानीको ब्रत कथा जस्तै अरुले पनि पढ्न पाउन्, मेरो पिडाहरु अरुले पनि थाहा पाउन् र मेरो घाउमा मल्हम लगाउन कम्तिमा कोशिस गरुन्– तिमीलाई आर्शिवाद । 

म अहिले एकदमै दुःखी छु । भनिन्छ, दुःख बाँड्दा दुःख घट्छ रे । म कम्तिमा त्यही कोशिस गदैै छु ।मेरो कथाको पृष्ठभुमी यस्तो छ, 

म बेदले भनेको पञ्चभुत मध्य एक हुँ– अर्थात जल । काठमाण्डौं उपत्यकाको इशानकोण (उत्तर–पुर्व)मा लिच्छबिकालिन शहर साँखु अवस्थित छ । प्रमाणतः यहाँ भेटिएको पहिलो शिलालेख ५३८ ई.सं. पुरानो हो, जसको आधारमा यो साँखु शहर लिच्छबिकालिन हो भन्न सकिन्छ । साँखुलाई नेपाल भाषामा “साक्वा” भनिन्छ । बिशेषतः यो शहर नेवारहरुको घना बस्तीको रुपमा चिनिन्छ । श्री स्वस्थानी ब्रत कथा र त्यसमा उल्लेखित शालीनदि, गोमाको कुटि, माधब नारायणको मन्दिर आदिको आधारमा यो शहर लिच्छबिकालिन भन्दा पनि पुरानो– शुरुवाति कलियुगकालिन वा सो भन्दा पनि पुरानो भन्न सकिन्छ। यसै धार्मिक, ऐतिहासिक र पौणानिक महत्व बोकेको शहरको काख हुदै म बग्छु– भगवान माधब नारायण लगाएत अन्य थुप्रै मन्दिररुलाई दर्शन गर्दै ।

भक्तपुरको चाँगुनारायण मन्दिरबाट पश्चिम तर्फ फर्केर हेर्दा आर्कषक नागबेली देखिने म मनोहरा खोला बिस्तार कुरुप हुँदै गएको छु, अर्थात केहि पुँजीबादी बाहेक मेरा भक्तजनहरुको लागि उपयोगी नहुने खालको हुँदैछु ।मेरो शुरुवात शिबपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत “मनिचुड दह” बाट हुन्छ, अर्थात “मनिचुड दह” नै मेरो मुहान हो, जुन साँखु शहरको उत्तर तर्फ बज्रयोगिनी मन्दिर छ, सो दह त्यो भन्दा माथि उत्तर तर्फ पर्छ । मलाई मनोहरा खोलाको नामले चिनिएपनि साँखु सहर नजिक मलाई “शालीनदि”, इतिहाँस कालमा “मनुमति” र बोलिचालिको भाषामा “मदरा” खोलाको नामले चिन्छन् । वातावरण बिभाग केन्द्रिय कार्यालय, त्रिभुवन बिश्वबिद्यालयका बिध्यार्थी सन्तोष काफ्लेका अनुसार मेरो लम्बाई २४ किमि र यस मैले ७५ बर्ग किमि ढाकेको छु । 

मनिचुड दहबाट निस्केर म संग थुप्रै अन्य स–साना खोल्सा खोल्सी मिसिदै जान्छन् । बर्षायाममा पचासौं खहरेहरु मसंग गफ गर्न आउँछन्, तर हिउँदमा आउँदैन– छायाँ जस्तै उज्यालोमा मात्र ।शालीनदी मन्दिर भन्दा केहि तल अर्थात अहिलेको भाइरल मन्दिर अर्थात श्री पञ्च महालक्ष्मी मन्दिर नजिक बग्ने नारायण खोला र कागेश्वरी महादेब मन्दिर हुँदै निस्कने महादेब खोला हिउँद बर्षा नै म संगै मिसिएरसुख दुःखका गफ गर्दै पश्चिम तिर बहन्छु– आत्मीय मित्र जस्तै । जडिबुटिबाट अलि तल झरेपछि हनुमान्ते भेटिन्छ, र केहि समय हनुमान्तेले साथ दिन्छिन् । कोटेश्वर तिनकुनेबाट मिनभवन जाने सडकमा पर्ने बाग्मति दिदिसंग केहि पर भेटिए पछि भने म बाग्मति नदिको नामसंगै बिलिन हुन्छु – जसरी मानिसको आत्मा परमात्मासंग बिलिन हुन्छ । 

बिगतमा मेरो उपयोगिताहरु 
मैले मेरो परिचय छोटकरीमा दिएं । अब पहिला तिमीलाई मैले के गर्न सकें त्यो भनौंला । साथै, अनि मलाई के गरे र यसको परिणाम के हुन सक्छ वा भईरहेको छ, त्यस कुराको कथनपनि सुनाउँला । 

१) प्रकृतिको रुपमाः

 पञ्चभुत मध्ये एक म – पानीको नाममा, नदिको नाममा, पवित्र जलको नाममा अनि वातावरण सन्तुलनको नाममा उपयोगी । मेरा वरपरका सम्पुर्ण बासिन्दाहरु र पर्यटकहरुको लागि सुन्दर वातावरण थिएं । धेरै थोरै वातावरणलाई सितलता र जलवायु सन्तुलनमा योगदान गरेकै थिएं । मेरा वरिपरि फोहोर फल्दैनथे, पानीमा दिसापिसाब गर्यो भने पाप लाग्छ भनेर फोहोर गर्दैनथे, परिणामतःम कन्चन र सफा भएर बग्दथें । एक अर्कामा प्रेम, सद्भाब, सामिप्य थियो, र एक अर्काको परिपुरक । फलतः हामी दुबै पक्ष सफा सुग्घरी र एक अर्काको उपयोगी थियौं ।
तिमीलाई थाहै होला, म कहिले पनि सुक्दिन । जुन दिन मकहाँ कमिला हिंड्ने हदसम्मको पानी बग्ने गर्दछ, सोही दिन जसरी पनि बर्षात संगै प्रयाप्त पानी बगेरै छोड्छु । सन् २०२० मा कोरोनाको बेला खोला तर्दा कमिला हिंडेको देख्यौ होला, सो दिन पानी पर्यो र म पनि बढेँ नि ।

२) जिविकोपार्जनमा सहयोगीः
जसरी मलाई यहाँ वरपरका बासिन्दाहरुले मायाँ गर्दथे, त्यसरी नै म उनीहरुको बिभिन्न उपाएहरु मार्फत उनीहरुको रोजिरोटिको लागि सक्दो व्यवस्था गर्दथें । चाँगुनारायण मन्दिर वरपरका तामाङ्ग लगाएत वरपरका मानिसहरु दैनिकी जस्तो मकहाँ माछा मार्न आउँथ्ये । केहि तामाङ्गहरुको त मुख्य पेशा नै माछा मार्ने, बेच्ने र आएको आम्दानीबाट नुनतेल टार्ने गर्दथ्यो । तर, दशर्कौ देखि उनीहरु मकहाँ माछा मार्न आउन छोडेका छन्, किनकी खेतीपातीको नाममा अधिक बिषादि प्रयोग गर्दा यहाँको माछाहरु कमि हुँदै हाल लगभग हराएको अवस्था छ । बर्षात सकेपछि कहिले कहिँ कोहि मानिस पानी जमेको ठाउँमा माछा मार्न आएतापनि एक छाक पनि नपुग्ने माछा लैजानु परेको छ, जवकी पहिले हरेक दिन जस्तो झोलाभरी माछा लैजान सक्थे ।

                  मनोहरा खोलामा माछा मादै
त्यसैगरी, त्यो फराकिलो फाँटभरी कृषि कार्य गर्नको लागि बिसौं कुलाहरु थिए । सिंचाईको लागि पानी पनि बाह्रै महिना पुगेकै थियो । तिमी लगाएत अरु पनि हिउँदमा र धान राप्ने बेलामा रातभर कुलोमा पानी लगाउँथ्यौ । राजकुलोबाट पानी लगेर २–४ वटा पानी घट्ट नियमित चल्थ्यो । कुलो नचल्ने बेला वा खेतीमा थोरै पानी चाहिनेहरुको लागि कुलोको सट्टा आफ्नै खेतीमा कम्मर जति खन्दा सफा पानी आउँथ्यो, सोहि पानी पिउन र कृषि कार्यको लागि प्रयोग गर्दथ्यो, अब त सोहि ठाउँमा २–३ मानिस खन्दा पनि पानीको सतह मुस्किलले भेट्छ । 
यत्तिमात्र नभएर यहाँ वरपर भएका मासिहरु गाई भैंसी पाल्थे, र गाई भैंसीलाई पानी खुवाउने, यसका बगरमा भएका घाँसहरुमा चराउन साथै भैंसी नुहाउन पनि आउँथे । यसबाट दुध दहि बेचेर यहाँका बासिन्दाहरुको गुजारा चल्दथ्यो । यसरी मबाट किसानहरुले खेतीपाती संगै पशुपालनबाट पनि मेरो उपयोग गरी आम्दामी गर्न सक्दथे । अहिले त मेरोकोमा गाई भैसी चराउन र नुहाउन पनि कोहि आउँदैनन् ।

३) म अर्थात पानी एक जिवनः
मेरा वरिपरि थुपै खानेपानीका बोरिङ्गहरु छन्, जसले ठुलो मात्रामा खानेपानीको सुविधा पुर्याएको छ । बर्षामा मैले मेरो पुरै क्षेत्र समेटे पनि हिउँदको लागि किनाराबाट बग्दथें । म साँघुरिदै सफा भएर बग्दा बटुवा मात्र हैन, गोठाला र किसानीहरु पनि पानी तिर्खा लाग्दा मेरा किनारमा एक बित्ता गहिरो खाल्डो हातले नै पार्दथे, र म प्राकृतिक रुपमा छानिएको सफा पानी दिन्थें । प्यासीहरु निसन्देह आफ्नो प्यास मेट्दै मलाई धन्यबाद दिन्थे – म पनि खुशि हुन्थें । अब त बर्षामा त के, हिउँदमा पनि मलाई टेक्न घिनाउँछन् – जताततै सिनो, बोइलरको भुत्ला, प्लाष्टिक र बालुवा पखालेको लेदो बग्छ त ।

४) मनोरन्जन तथा सरसफाईः
तिमी पनि त आउथ्यौ मकहाँ पौडी खेल्न, नआएको तिसौं बर्ष भइसक्यो । तिम्रा ४–५ जना साथीहरु बर्षामा पौडी खेल्न र हिउँद नुहाउन आउँथ्यौ । नुहाएर खोलाको बालुवामा घाम ताप्दै जिउ सुकाउँथ्यो । खोलाको किनारमा डन्डीबियो र मोजाको बल बनाई खेल्थ्यौ, थुप्रै खेल्न आउँथ्यो । तर अहिले ...। मानिसहरु कपडा धुन र नुहाउन आउँथ्यो । शनिबार त मेरा बगरभरी सुकाउन राखेका कपडाहरु हुन्थ्यो । मकहाँ नुहाउँदा कपाल सिलिक्क पथ्र्यो भन्थे । तर, अहिले कोहि आउँदैनन्– दशकौं देखि । 

५) धार्मिक कार्य
जबसम्म म सफा सुग्घरी थिएं, तबसम्म म पवित्र पनि थिएं । तिमी लगाएत वरपरका सबै घर समाजमा पुजापाठ गर्दा पवित्र जल मान्दै पुजामा लगेर देबी देवतालाई मेरो जल अर्पण गर्दथ्यो । तिजको पञ्चमी नुहाउने महिलाहरु लावालस्कर लगाएर पवित्र हुन आउँथ्यो । त्यस दिन त मेरा दुवै किनारमा हजारौं राताम्मे चेलीहरु हुन्थे, तिजका विरक्त देखि रमाईला गित गाउँदै सुख दुःख साट्थे, घण्टौं समय बिताउँथे । यसपाली त एक जना पनि आएनन्, तिमीले पक्कै पनि याद गर्यौ होला । सायद्, मैले नै उनीहरुलाई स्वच्छता दिन सक्ने अवस्था रहिन होला । पोहोर साल त, मकहाँ नुहाउँदा उल्टो नै जिउ चिलाएछ भनेर घर गई नुहाएको पनि त सुन्यौ होला – कति गुनासा गरे होलान म प्रति ।

तिम्रा टोल छिमेकमा सत्यनारायणको पुजा एबं अन्य पुजाका लागि यहिँबाट जल लाने गर्दथ्यौ, तर अहिले त “नाम मात्रको जल – सिनो मिसिएको जल” भन्दै प्रयोग गर्न आउँदैनौ । कति घिनाउँदो भएछु है ? मन भाबबिह्वल हुन्छ ।

त्यतिमात्र हैन, दशैंमा जमरा राख्न पनि मेरै बालुवा प्रयोग गरिरहेका छन्– चोखो मानेर । श्री स्वस्थानीको एक महिने ब्रत बस्न शालीनदीमा जान नसक्नेहरु, घरमा बसेर चोखो नितो खाएर बस्नेहरु दिनको मध्यान्नमा मेरा किनारमा आई स्वस्थानीको पाठ गर्ने र पुजा गर्नेहरु कति हुन्थे । ती दिन सम्झँदा मन कति हल्का हुन्छ । तर, अहिले त्यसरी नआउनेहरु दशकौं भइसके ।

६) पित्री कार्य
दिबगंत तिम्रा पुर्खाहरु सहित हजारौं लाखौं शरिरहरु मकहाँ सेलाईएका छन्, र तिनीहरुको खरानी बोकेर बाग्मति दिदी मार्फत काँशी र समुन्द्रमा पुर्याएको छु । दाह संस्कार पछि चोखिन मेरै जल प्रयोग हुन्थ्यो । दिबगंतको ५ दिन र ११ दिनको भात, साथै ६ महिने र बर्षेनी श्राद्धमा पित्री भाग मेरै किनारमा राखेर कौवा र चराचुरुङ्गि मार्फत पित्रीलाई पुराएको छु ।तिमी नेवारहरुको दिबगंतको १० औं दिनमा सबै दाजुभाई खलक र आफन्तहरु मकहाँ आएर पिनाले नुहाएपछि कपाल खौरने, हात गोडाको नङ्ग काटी अन्तमा तेल लगाएर र दुध छर्केर चोखिन्थ्यौ । आ–आफ्ना बिधि बिधान अनुसार अरु पनि यसरी नै चोखिन्थे। तर, अब त घरबाट नै नुहाएर आउँछन्, कि त पानी बोकेर आउँछन् वा नजिकै पानी मागेर काम चलाउँछन् तर मलाई प्रयोग गर्न घिनाउँछन् ।

यति मात्र हैन, तिमी नेवारहरु अहिले पनि श्राद्धको लागि बालुवा र जल मकहाँ नै लिन आउँछौ । श्राद्ध पछि “पिण्ड” र “खुशी ब्वः” मेरै किनारामा राखी धुप बत्ति सहित पित्रीलाई प्राथना गर्ने गर्छौ । मेरा किनारमा कोरीडोर बन्दै छ, म दिन प्रतिदिन प्रदुशित हुँदैछु । अब तिमीले ननुहाए पनि पित्रीकार्यको लागि आवश्यक बालुवा, जल र प्राथना स्थल पाउँछौ कि पाउँदैनौ भन्ने चिन्तामा छु, अब तिमी र तिम्रा सन्ततीलाई मृत्यु पश्चात दाहसंस्कार कर्म गरी म मार्फत स्वर्गमा लैजान पाउँछु की पाउँदिन अन्यौलमा छु । तिम्रा पित्री कार्यबिधि सम्बतनै गर्ने अवस्था होस् र दाहसंस्कार कर्म पनि हिजो जस्तै भबिश्यमा मेरै काखमा हुने घाटको अभाब नहोस् – शुभकामना । 
यस्ता थुप्रै कुराहरु छन्, आउँदा दिनहरुमा भन्दै गरौंला ।

मेरा पिडाहरु
अब तिमीलाई मेरा पिडाहरु सुनाउँछु, मेरा बहहरु पोख्दछु, 

मेरो दुर्दशा बीस पच्चिस बर्ष अघि शुरुवात भएको हो, जुनबेला पुँजीबादीहरुले बालुवा चोरेर गैर कानुनी रुपमा बेच्न थाले । दिनरात बालुवा निकाल्दा म गहिरिंदै गएं । सबै भन्दा धेरै मलाई मायाँ गर्ने किसानीहरुको लागि मेरो उपयोगीताघट्न थाल्यो । आवश्यकता भन्दा बढी गहिरिँदा किसानहरुको कुलोमा म उक्लिन सकिन । फलतः उनीहरुले बिकल्पको बाटो रोज्न बाध्य भए– बोरिङ्गको, र म उनीहरुको हेलचक्राईमा परे । अहिले आएर तिनै पुँजीबादीहरुले डाँडा पाखाबाट ल्याएका बालुवा पखालेर सारा लेदो फोहोर मलाई दिँदा म कसैलाई पनि काम नलाग्ने वा धेरै कम् मात्र काम लाग्ने भएको छु । कर उठाउने नाममा सरकार नै मेरो बिपक्षमा लागे पछि कसलाई गुनासो गर्नु ?

                     हिउँदमा बालुवा उद्योगले बालुवा पखालेर बगेको लेदो र फालिएका फोहोर

तिमीलाई थाहै होला, पन्ध्र बीस बर्ष अघिसम्म म सुन्दरी र उपयोगी नै थिएं । जब नेपालमा माओबादी जनयुद्ध शुरु भयो, गाउँ – गाउँमा मानिसहरु बस्न सक्ने अवस्था नभए पछि क्रमशः शहर र शहर आसपासमा बसाई सराई गर्न थाले, सुख दुःख गरी बस्न थाले । मेरा आसपासमा पनि पाहुना जसरी आउन थाले । मैले पनि पाहुनालाई सत्कार गरी आफुले सकेको सेवा गरें – अतिथि देव भबः । पहुना त केहि दिनको लागि पो हुन्छ । बि. स. २०६२÷०६३ सालको जन आन्दोलन, १२ बुँदे सहमति र शान्ति सम्झौता पश्चात पनि पहुनाहरु फर्कनेन् । बिस्तार – बिस्तार पाहुनाहरु आफ्नै बलोबुतोमा यतै अल्झिए । घर साँघुरो हुँदै गयो । अनि क्रमशः पक्की घरहरु पनि बन्दै गए ।

              नदि किनारमा बगाएको ढल र फालिएका फोहोर

बि.स. २०७२ सालको भुकम्प पछि पाहुनाहरु झन् बढ्न थाले । अन्ततः उनीहरुका नकुहिने फोहोर, सुंगुरका फोहोर, मासु पसलका फोहोर, सिनो मात्र हैन, घरायसी फोहोर पानी र मानब मलमुत्र पनि म माथी खन्याउन थाले, यी सारा फोहोर लैजान भन्न थाले । बर्षातमा त खहरे पनि गफ गर्न आउँछन्, साथी हुन्छ, अनि ती नैतिकता हराएकाहरुको फोहोर बोकौला, हिउँदमा त नारायण खोला र माधब खोला बाहेक कोहि हुन्न, कसरी एक्लैले सकौंला ? जहिले लगे पनि, जसरी लगे पनि, मैले पनि थन्को लगाउने कहिँ न कहि पक्कै हो । सके जति त तल नै लान्छु, न सकेपछि कहिँ किनारामा छोड्नै पर्यो । मनोहराले फोहोर ल्याएर छोड्यो भनेर तल्लो भेगका मानिसहरु मलाई गाली गरेर हैरान पार्छन् । 

खैर, मेरा मात्र हैन, मसंग संगै बहने संगिनीहरुको हालत पनि उस्तै छ । के गर्नु, “आफु त महादेब उत्तानो पर, कसले देला बर” भने जस्तै, उनीहरु पनि म जस्तै निरिह भएका छन् । छायाँ होस् वा आत्मीय मित्र, हाम्रा कथामा केहि भिन्नता छैन अहिले– कुरुप र अनुपयोगिताको । खहरेहरु त सुनाउँदै थिए – उनीहरुलाई मासेर मानिसहरुले सडक बनाउन थाले रे, कतिको अस्तित्व मेटिसक्यो, कतिको रुप परिवर्तन गरे, कति निकट संकटमा छ ।

अब त म हिँड्ने बाटोहरुलाई सिमित बनाईदैछ, कोरीडोर र सडकको नाममा । अस्थाई टहरा, बंगुपालन, हाँस पालन आदि त सहँदै थिए । बिगत लगभग १० बर्ष देखि मानब बस्तीहरु त म हिँड्ने बाटोसम्म आइपुगेका छन् । ठुलो बर्षातमा म बहन पनि पुग्दैन । “सय बर्ष पछि पनि नदि फर्कन्छ” भनेको यिनले सुनेको छैन की क्या हो ? कुनै एक दिन म मेलम्ची जस्तै बहुलाएर आउन बेर लगाउँदिन । 

मेरो असह्यता
पहिले पहिले पनि धेरै साथी संगिनीहरु भेट्दा बर्षायाममा म उर्लदैँ बहन्थे, केहि घण्टाको लागि– एक जड्याले पुरै बाटो ढाकेर हिँडे जस्तै गरी म पनि पुरै फाँट ढाकेर बहन्थें, तर कहिँ कतै कटान गर्दिनथें – किसानीको लगभग क्षति नै हुन्नथ्यो, जवकी म बहने बाटो पनि कम गहिरो थियो । अब त अत्याचार नै भएर हो की क्या हो, साह्रै पिडा हुन्छ । बाध्यताबश, म बर्षेनी माटो कटान गर्छु, बर्षेनी बालीनालीमा क्षति पुर्याउँछु । कहिले कहिँ त बस्ती भित्रै पस्छु, मेरै बाटो त थियो पहिले । बर्षेनी करोडौंको क्षति नगरी चित्त नै बुझ्दैन । सहनुको पनि हद् हुन्छ नि, हैन र ?

उनीहरुको बाटोमा म हिँडेको हैन, म हिँडेको बाटोमा उनीहरु आएका हुन्, उनीहरुले अतिक्रमण गरेका हुन् । म यत्तिसम्म निर्दयी भएकी छु की, उनीहरुले फालेका फोहोर पनि म राम्ररी लैजान्न । वरपर डुङ्ग – डुङ्ग गन्ध फैलाएर बसी दिन्छु, ताकी मेरा वरपर कोहि पनि आउन नसकुन्, मलाई छुन र चलाउन नसकुन्... । 

अन्ततः
मलाई सुन्ने समय दिएकोमा धन्यबाद दिन चाहन्छु । म प्रकृति हुँ– त्यति निर्दयी पनि हैन । यदि म माथि कुनै पनि प्रकारका फोहोर नफालेमा, मलाई हिउँद बर्षामा हिड्ने बाटो प्रयाप्त बाटो दिएमा र म माथि श्रद्धा भाब राखेमा, म पहिले जसरी नै सेवा दिन तयार छु । ताली एक हातले नबज्दो रहेछ । त्यसैगरी, मेरो व्यवस्थापन सँगै मलाई अप्ठेरो नपर्ने गरी तिम्रा पुजापाठ, धर्मकर्म र मनोञ्जन गर्ने ठाउँहरु व्यवस्थापन गर्न सकियो भने, तिम्रो, तिम्रो भगवान तथा पित्री र मेरो पनि भलो हुने थियो भन्न चाहन्छु ।

अन्तमा, मेरो कथा तिम्रा प्राज्ञिक सहपाठीहरुलाई सुनाएर उनीहरुको जागरुकता र चासो बढाउन पहल गरेकोमा धन्यबाद दिन चाहन्छु । काठमाण्डौं बिश्वबिद्यालय अन्तर्गत आदिबासी जनजाति शिक्षा बिकासको तेस्रो ब्याचका स्नाकोत्तर तहमा अध्यनरत बिध्यार्थीहरुलाई “नेवार समुदाय र मनोहरा खोलाको सामाजिक–साँस्कृतिक सम्बन्ध”मा मिति २०८२ साल चैत्र २१ गते फिल्ड अध्ययन गराई मेरा पिडा, ब्यथा, अवस्था र भबिश्य बारेमा प्राज्ञिक क्षेत्रमा बहस र अध्ययन चलाउन एक ईँटा थपेकोमा काठमाण्डौं बिश्वबिद्यालय परिवार प्रति आभार प्रकट गर्दछु ।
धन्यबाद !!!
अष्ट कुमार श्रेष्ठ


 

 

प्रतिक्रिया