बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आदिवासी विरोधी अभिव्यक्तिको विरोध र नेपाल आदिबासी जनजाति महासंघको नेतृत्व छनौटमा राजनीतिक दलको हस्तक्षेपको विरोध गर्दै जेन्जी इन्डिजिनियस कलेक्टिभ्स लगायत युवा आदिवासीको विरोधका कारण महासंघको ११ औं महाधिवेशको बन्द सत्र झन्डै भाँडिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिबेशनको उद्घाटन सत्रमा प्रमूख अतिथि रहनु भएका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान र आदिवासीको भावना र मर्म विपरित अभिव्यक्ति दिएको भन्दै मुख्यमन्त्रीले माफि माग्नु पर्ने भन्दै आदिवासी युवा तथा जेन्जी अभियन्ताहरुको एक समूह कार्यक्रमस्थलमा प्रवेश गरे पछि महाधिबेशनको नियमित कार्यक्रम अवरुद्ध बनेको थियो ।
जेन्जी कलेक्टिभ्सका रिजन मगर, सवनम लामा, पेमा लामा सहितका प्रतिनिधिहरु महाधिबेशनको बन्दसत्र चलिरहेको स्वयम्भूस्थित स्टार व्याङक्यैटमा पुगेका थिए ।

कार्यक्रममा उनीहरुले आदिवासी जनजाति महासंघमा राजनीतिक दलको सेन्टीगेट र महासंघको बर्तमान नेतृत्व विरुद्ध नाराबाजी गरेका थिए । महासंघको उद्घाटन सत्रमा आदिवासी विरोधी बागमती प्रदेशको मुख्यमन्त्रीलाई निमन्त्रण दिनु षडयन्त्रका रुपमा व्यख्या गरेका थिए ।
महासंघको नेतृत्व गरिरहेको सचिवालयले जेन्जी समूह कार्यक्रमस्थलमा प्रबेश गरे पछि ठूलो समुहमा प्रहरी र सशस्त्रको टोली झिकाएर कार्यक्रम स्थललाई थप तनावग्रस्त बनाएको थियो ।
सचिवालयका एक सदस्य रामकृष्ण ब्लोनले प्रहरीलाई फोन गरेर सुरक्षाको माँग गरेका थिए । अर्का सदस्य उपाध्यक्ष युवराज जिरेलले जेन्जीहरुको नारावाजी चर्कदै गर्दा बाहिरबाट अन्य व्यक्ति (स्वयम्सेवकका नाममा) बोलाउने हर्कत पनि गर्न पुगेका थिए । तर अध्यक्ष गेल्जे लामा शेर्पा र महासचिव दिवश राइले संयमता अपनाउन आग्रह गरे पछि रोकिएका थिए ।
जिरेलले समाचार संकलन गर्न पुगेका सन्चारकर्मीहरुलाई समेत दुव्र्यबहार गर्ने प्रयास गरेका थिए ।
मूख्यमन्त्रीको अभिव्यक्तिको विरोध र महासंघलाई दलीय सेन्टीगेटबाट बाहिर राख्न आग्रह गर्न पुगेका जेन्जी तथा युवाहरुलाई महाधिबेशन प्रतिनिधिहरुले ताली लगाएर समर्थन गरेका थिए । कतिपय सदस्यहरुले आफुले उम्मेद्वारी दिँन खोज्दा पार्टी सोधिएको र पार्टीको सहमति लिएर आउन भनिएको गुनासो गरेका थिए ।
विरोध कार्यक्रममा संक्षिप्त वार्ता पछि मुक्तान थेवालाई बोल्न तीन मिनटको समय दिइएको थियो । थेवाले महासंघ सबै आदिवासीको साझा हुनु पर्नेमा हुन नसकेको र बागमति प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक माफी माग गर्नु पर्ने र महासंघलाई सुधार सहित अघि बढाउनु पर्ने माग रहेको बताए ।
थेवाको भनाइ पछि अध्यक्ष गेल्जे शेर्पाले मुख्यमन्त्री बानियाँलाई अपर्झट प्रमूख अतिथि बनाइएको स्पष्टीकरण दिएका थिए । राष्ट्रपतिलाई प्रमूख अतिथि बोलाइएको भए पनि उहाँको कार्यव्यस्थताले आउन नसकेपछि बाध्यताबस बानियालाई बोलाइएको र यसमा कुनै नियोजित काम नभएको भनेर सम्झाउन खोजेका थिए ।
माफी माग्ने सवालमा नयाँ कार्यसमितिले पहल गर्ने बताउँदै महासंघको संरचना परिवर्तन गर्न बिधान संशोधन गर्ने काम पनि नयाँले गर्ने भनेर पन्छिएका थिए । उनले केही घन्टामा आफनो पदावधि सकिने भन्दै मैलै आफुले नयाँ कार्यसमितिलाई सन्देश पुर्याउने काम पुरा गर्ने बताएर पन्छिएका थिए ।
वानियाको भनाई के थियो ?
नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशनको उद्घाटन सत्रमा प्रमूख अतिथि रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आदिवासीहरुलाई जातीय राजनीति नगर्न र मानवताका लागि काम गर्न आह्वान गरेका थिए । उनले संविधानमा व्यबस्था भएको आदिवासी जनजाति आयोगको आलोचना गर्दै यो आयोग नचाहिने बिचार राखेका थिए । आयोगहरु गलगाँडकारुपमा रहेको भन्दै आदिवासी जनजाति आयोग किन चाहियो ? भन्ने प्रश्न गरेका थिए । उनले अहिलेको समय आदिवासीको अधिकार खोज्ने समय नभएर कर्तव्य पालन गर्ने समय भएको बताएका थिए ।









