इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी गीत–कविता प्रतियोगिताको नतिजा सार्वजनिक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ माघ २०८२, सोमवार
इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी गीत–कविता प्रतियोगिताको नतिजा सार्वजनिक

किरात याक्थुङ चुम्लुङ यूकेको भ्रातृ संस्था “केवाईसी यूके वेन्छा चुम्भो” द्वारा याक्थुङ विद्वान इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी साम्लो (गीत) तथा सामईत्ला (कविता) प्रतियोगिता को नतिजा सार्वजनिक गरिएको छ ।
    
केवाईसी यूके वेन्छा चुम्भोका अध्यक्ष हाङ्मा लाओतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केवाईसी यूकेकी अध्यक्ष कमला सेन्दाङ, निर्णायकहरू सुवर्ण नेम्बाङ र निशेष आङ्देम्बे, वेन्छा चुम्भोका सचिव सुरेन्द्र थेबेको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वेन्छा चुम्भो भाषा–संस्कृति विभाग प्रमुख टेक माबोहाङले गर्दै प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुभएको थियो ।

विश्वव्यापी रूपमा आयोजित उक्त प्रतियोगितामा १८ देखि ४० वर्षसम्मका युवा (एडल्ट) तथा १७ वर्षसम्मका बालबालिका गरी दुई उमेर समूहमा गीत र कविताका विधामा सहभागिता रहेको थियो । नेपाल, युके, भारतको सिक्किम र अरुणाञ्चल प्रदेश लगायत विभिन्न स्थानबाट याक्थुङ युवा–युवती तथा बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा रचना याक्थुङ (लिम्बू) भाषा, संस्कृति, इतिहास, मुन्धुम, परम्परा तथा ज्ञानमा आधारित हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

१७ जनवरी २०२६ मा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक नतिजाअनुसार युवा (एडल्ट) कविता विधातर्फ हाङ्मोती सुब्बा (तबेबुङ), सिक्किम प्रथम, सेसेक्ना नेयोङहाङ, युके द्वितीय, बुधी दास पन्धाक, सिक्किम तृतीय हुनुभएको छ । साथै नाइना तुम्बाम्फे, अरुणाञ्चल, ओन्छा हाङ थेगिम, इलाम र सुम्निमा येङ्देन, युके ले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

युवा साम्लो (गीत) विधातर्फ पूजा सेवाहाङ मैनाम, पाँचथर प्रथम र मिलन आङ्देम्बे, पाँचथर द्वितीय हुनुभएको छ ।

बालतर्फ साम्यित्ला (कविता) विधामा युनिशा नेम्बाङ, पाँचथर प्रथम, कृतिका नेम्बाङ, पाँचथर द्वितीय, लाजिमा फेजोङ, पाँचथर तृतीय तथा मिम्शा माबोहाङ, युकेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी बाल साम्लो (गीत) विधातर्फ सचिना हाङ्सरुम्बा, पाँचथर प्रथम हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कमला सेन्दाङले केवाईसीको मूल उद्देश्य ४ पी Preserve, Promote, Practice and Pass On बारे स्पष्ट पार्दै भाषा र संस्कृतिको संरक्षणमा युवा पुस्ताको भूमिकामाथि जोड दिनुभयो । साथै यो ऐतिहासिक कार्यको लागि आफ्नो भातृ संगठन वेन्छा चुम्भो तथा समिती सदस्यहरू, निर्णयकहरू, प्रतियोगीहरू तथा सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भयो । 

निर्णायक सुवर्ण नेम्बाङले सबै सिर्जना अत्यन्त उत्कृष्ट रहेको र अत्यन्त सानो अन्तरका आधारमा विजेता छनोट गर्नुपरेको बताउँदै सबै सहभागी नै विजेता भएको धारणा राख्नुभयो । अर्का निर्णायक निशेष आङ्देम्बेले विश्वव्यापी रूपमा विशेषगरी बालबालिकाको सहभागिता न्यून रहेकोप्रति चिन्ता व्यक्त गर्दै भावी पुस्तामा भाषा, संस्कृति र इतिहास हस्तान्तरण गर्न नसकिए गम्भीर समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो दिनुभयो ।

कार्यक्रमको समापन गर्दै वेन्छा चुम्भोका अध्यक्ष हाङ्मा लाओतीले विश्वभर छरिएर रहेका याक्थुङ युवालाई आफ्नै संस्कृति र पहिचानप्रति जागरुक गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साथै केवाईसी यूकेको युवा शाखा भएकै कारण युवामै केन्द्रित कार्यक्रमहरू अघि बढाइएको उल्लेख गर्दै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण सहभागी प्रतियोगीलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया