प्रतिष्ठानद्धारा संचालित लोक सेवा तयारी कक्षा सुरु 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ पुष २०८२, शुक्रवार
प्रतिष्ठानद्धारा संचालित लोक सेवा तयारी कक्षा सुरु 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा आदिवासी विद्यार्थी तथा युवालाई लक्षित गर्दै लोक सेवा परीक्षा अनलाइन तयारी कक्षा सञ्चालन सुरु गरेको छ । 

शुक्रबार लोक सेवा आयोगका पुर्व अध्यक्ष उमेश प्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा लोक सेवा परीक्षासम्बन्धी तयारी, परीक्षा प्रणाली र अवसरबारे जानकारी गराइएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीले लोक सेवा आयोगको परीक्षा प्रणाली निष्पक्ष रहेकोमा कुनै शंका नरहेको स्पष्ट पार्नुभयो । उहाँले परिक्षा दिँदा लेखन प्रस्तुती कलात्मक र अभिव्यक्ति सशक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नु, “कर्मचारीतन्त्र अहिले जनताप्रति त्यति प्रिय देखिँदैन, यो दुःखद अवस्था हो । अब नयाँ पुस्ताले प्रवेश गरेर यस प्रणालीलाई सुधार गर्न आवश्यक छ ।”

उहाँले निजामती सेवामा प्रवेश गर्नु सजिलो भए पनि सुधार गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सुधारको मूल आधार चेतनाको स्तर भएको बताउनुभयो । “निजामती सेवा केवल पैसा कमाउने माध्यम होइन, यो सेवा हो । यसमा सामाजिक सुरक्षा र सेवाको भावना दुवै जोडिएका हुन्छन्,” उहाँको भनाई थियो । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले निजामती सेवामा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भने, “देशको कुल जनसंख्याको ३५.०८ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजाति समुदाय निजामती सेवामा भने आधा पनि प्रतिनिधित्व हुन सकेको छैन ।”

कार्यक्रमले आदिवासी विद्यार्थी तथा युवाहरूलाई लोक सेवा परीक्षातर्फ आकर्षित गर्ने र समावेशी प्रतिनिधित्व बढाउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।  शाखा अधिकृत र नायब सुब्बा तहमा लोकसेवा परिक्षा निशुल्क अनलाइन तयारी कक्षा संचालन गर्न गईरहेको आयोजकले बताएको छ । 

लोक सेवा परीक्षा तयारी कक्षा अनलाईन मार्फत संचालन हुने छ । कक्षा संचालनको व्यवस्थापन भने नेटर्वक एडुकेश्नल एकेडेमीले गर्ने छ । 
 

प्रतिक्रिया