नेपाल बौद्ध ञिङ्मा संघको आयोजनामा सोह्रौँ ञिङ्मा मोन्लम (प्रणिधान पूजा) भोलीबाट सुरु हुने भएको छ। राजधानी काठमाडौंको बौद्धनाथ च्यारुङ खस्योर नजिक टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना हुन लागेको यो मोन्लम ६ दिनसम्म सञ्चालन हुनेछ।
नेपाल बौद्ध ञिङ्मा संघका महासचिव आचार्य नुर्बु शेर्पाले बुद्ध धर्म, शिक्षा तथा दर्शनको प्रवर्द्धन, धर्मगुरुहरूको दीर्घायु तथा विश्व शान्तिको कामनासहित सोह्रौँ ञिङ्मा मोन्लम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार मोन्लम कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट लामा गुरुहरू, भिक्षु–भिक्षुणी तथा भक्तजनहरूको सहभागिता रहनेछ। मोन्लम करिब २५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
उक्त मोन्लम २०८२ पुस १४ देखि १९ गतेसम्म (डिसेम्बर २९, २०२५ देखि जनवरी ३, २०२६ सम्म) सञ्चालन हुनेछ। पूजा तथा प्रार्थना कार्यक्रम दैनिक बिहान ७ः३० देखि ११ बजेसम्म र दिउँसो १ देखि ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मोन्लममार्फत प्राणीहरूमा देखिने रोग, व्याधि, आपसी द्वन्द्व तथा प्राकृतिक विपद् शान्त होस् भन्ने कामना गरिनेछ। साथै, यस कार्यक्रमले आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।
पुण्यकार्यमा सहभागी तथा दानदाताहरूको सुस्वास्थ्य, दीर्घायु र मनोकामना पूर्ण होस् भन्ने उद्देश्यका साथ विशेष प्रार्थना गरिने आयोजकले जनाएको छ।



.png)





