चितवन
करोडौं रुपैयाँ बराबरको जग्गा निःशुल्क रुपमा दिए पनि रत्ननगर नगरपालिकाले जग्गादातालाई उचित सम्मान गर्न सकेको छैन । रत्ननगर नगरपालिका–१, निपनीका कृष्ण चौधरीका अनुसार निजका बुवा स्वर्गीय नाथुराम महतोले नगरपालिकालाई निःशुल्क रुपमा जग्गा दिए पनि नगरपालिकाले स्वर्गीय बुवाको सालिक बनाउन नमानेको जनाएको छ ।
स्वर्गीय नाथुराम महतोले वि.सं. २०२२ साल पुस १० गतेका दिन साविक डेबैली गाविस तथा हालको रत्ननगर नगरपालिकालाई १९ कट्ठा ३ धुर क्षेत्रफल जग्गा निःशुल्क दिएका थिए । तर संरक्षणका अभावमा पछि त्यो जग्गा ११ कट्ठा १२ धुरमा सीमित हुन पुग्यो । त्यस जग्गामा नगरपालिकाले भवन बनाएर भवनको भित्तामा एउटा एक वर्गफिटको शिलालेखमा उक्त जग्गा स्व. नाथुराम महतोले दिएको कुरा उल्लेख गरेकोे छ । नगरपालिकालाई मात्र होइन, उनले २०२७ सालमा हरिहर मन्दिरलाई पनि एक विघा जग्गा निःशुल्क दिएका थिए । हाल भैरहेको जग्गाको खरिद बिक्रीको मूल्य अनुसार नगरपालिकालाई दिएको जग्गाको मूल्य पाँच करोडभन्दा बढी हुन्छ । मन्दिरलाई दिएको जग्गा राजमार्गमा मोहडा परेकोले त्यसको मूल्य दश करोडभन्दा बढी हुन जान्छ । तर ती जग्गा निःशुल्क रुपमा दिए पनि सम्बन्धित निकायले जग्गादातालाई उचित सम्मान गर्न नसक्नु निकै लज्जास्पद कुरा हो । विगतमा नगरपालिकाले स्व. नाथुराम महताको सालिक बनाउन औपचारिक निर्णय पनि गरीसकेको थियो । तर कार्यान्वयन भएन ।
को हुन् ? नाथुराम महतो
स्व. नाथुराम महतो वि.सं. १९९१ साल बैशाख २१ गते रत्ननगर नगरपालिका–४, भोकहा गाउँमा सम्पन्न परिवारमा जन्मेका थिए । उनका पिता सुखली चौधरी आर्थिक रुपले निकै सम्पन्न थिए । ५ वर्षको छँदा नै उनको आमाको देहान्त भएकोले लालनपालन कान्छी आमाबाट भयो । उनको बाल्यकाल भोकहा, मझुई र कठारमा बिते पनि पछि उनी २०१२ सालमा निपनीमा जिम्दारी किनेर बसोबास गरेका थिए । उनको बाल्यावस्थाको समयमा थारू समुदायका बालबालिकालाई पढाउने चेतना र अध्ययन अध्यापन गर्ने ठाउँको अभावमा पढाउने चासो लिईदैनथ्यो । तर उनको बुवा निकै समझदार भएकोले उनलाई कलैया र बीरगञ्जमा राखेर कक्षा १० सम्म पढाएका थिए । उनका चार छोरा र बुहारीहरू निपनीमा बसोबास गर्दछन् । उनका भाई स्व. रामसिंह चौधरीका चार छोराहरू भोकहामै बसोबास गर्दछन् । उनका दुई श्रीमति, चार छोरा र बुहारी, ६ छोरी र ज्वाई तथा २३ जना नातिनातिना रहेका छन् ।
स्व. नाथुराम महतोले आफ्नो जीवनकालमा शैक्षिक संस्था, बाटोघाटो, नहर कुलो, पर्यावरणप्रति निकै जागरुक हुँदै निरन्तर ईमान्दारी र निष्ठाका साथ समाजसेवा गरेको कुरा नेपाली काँग्रेसले उनको श्रद्धाञ्जली प्रतिवेदनमा उल्लेख गरेको छ । उनी २०२१ सालमा सक्रिय राजनीतिमा प्रवेश गरी २०२३ सालमा जनपक्षीय प्रधानपञ्चमा निर्वाचित भएका थिए ।
स्व. नाथुराम महतोले आफ्नो जीवनकालमै नगरपालिकाले सालिक निर्माण गरिदिन र आफ्ना परिवारका दुई सदस्यहरूलाई योग्यता अनुसारको रोजगार प्रदान गर्न बारम्बार अनुरोध गर्नु भए पनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ । उनको चाहना पूरा नहुँदै वि.सं. २०६५ चैत्र २८ गते ७५ वर्षको उमेरमा निपनी गाउँमा निधन भयो । जीवनभर नेपाली काँग्रेसको सक्रिय सदस्य रहेर सेवा गरेका स्व. नाथुराम महतोको सपना पूरा गर्न सो दलले पनि श्रद्धाञ्जली सभामा दुई शब्द गुणगानबाहेक केही गरेन ।
नाथुराम महतोको सालिक बनाउने विषयमा विगतमा नगरपालिकाले औपचारिक निर्णय पनि गरिसकेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुनुका सट्टा निर्णय पुस्तिका नै गायब हुनु निकै रहस्यमय बनेको छ । हरेक वर्ष करोडौं रुपैयाँ फ्रीज भएर फिर्ता पठाउने नगरपालिकाले सालिक बनाउन नसक्नु निकै लाजमर्दो कुरा हो । नगरपालिका जस्तो सरकारी स्थानीय निकायले त यस्तो धोकापूर्ण काम गर्छ भने विगत साठी सत्तरी वर्षमा चितवनका भूमिपुत्र आदिवासी समुदायलाई उनीहरूको सोझोपनालाई आयातित वर्गले धोका र जालसाजी तरीकाले कति जग्गाजमिन हड्पेर लिएका होलान् ? यी र यस्ता विषयहरूलाई थारू समुदायले उठान ग¥यो भने उल्टै फलानोले साम्प्रदायिक कुरा ग¥यो भनेर दोष दिने गरिन्छ । यसबारे थारू अगुवाहरूले आवाज बुलन्द गर्नैपर्छ ।