बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न तीन गाउँपालिकालाई ज्ञापनपत्र 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ मंसिर २०८२, बिहिवार
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न तीन गाउँपालिकालाई ज्ञापनपत्र 

बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न स्थानिय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल बराम संघले  मंगलबार  गोरखा जिल्लाको वारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेनथापा गाउँपालिका लाई बराम विशेष, संरक्षित  वा स्वायत्त क्षेत्र घोषणा गर्नका लागि ज्ञापनपत्र बुझाएको हो  । नेपाल बराम संघका अध्यक्ष भद्रकुमारी बरामु सहितको प्रतिनिधि टोलीले गाउँपालिका कार्यलय पुगेर ध्यानर्कषण गराएको हो ।

बराम/बरामु जाति नेपालको एक सीमान्तकृत अल्पसंख्यक आदिवासी समुदाय हो । सामाजिक, आर्थिक, राजनीतिक, र शैक्षिक रुपमा पछाडि रहेको यस समुदाय भाषा, संस्कार र संस्कृतिमा भने अत्यन्तै धनी छ । तर पछिल्लोसमय  यसको जगेर्ना र प्रयोग गर्न नसक्दा लोप हुने अवस्थामा छ । 

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार बराम/बरामु समुदायको देशभरिको जनसंख्या जम्मा ७ हजार ८ सय ५९ रहेको छ । गोरखा जिल्ला मुलथाकथलो रहेका बराम जाति विशेष गरेर जिल्लाको वारपाक सुलीकोट, आरुघाट र भीमसेन थापा गाउँपालिकामा सघन बस्ती रहेको छ । 

नेपालको संविधानको धारा ५६ को उपधारा ५ ले परिकल्पना गरेको अल्पसंख्यक तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र बनाउने प्रावधान गरेको छ । संविधानको धारा ५६ को उपधारा ५ लाई लागु गर्न सर्बोच्च अदालतले २०७५ पुस महिनाको १६ गते बराम जातिको सामाजिक साँस्कृतिक तथा आर्थिक विकासको लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र बनाउनू भनी निर्देशनात्मक आदेश फैसला गरेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, व्यवस्थापिका संसद, संसद सचिवालयको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, वारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेनथापा गाउँपालिकाको नाममा निर्देशनात्मक आदेश जारी गरेको व्यहोरा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।


 
 

प्रतिक्रिया