नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय बौद्धनाथ क्षेत्र विकास समितिले गुरु पद्मसंभवको जन्म दिवस (छेच्यु) र महाँकाल जात्रा मनाउने भएको छ ।
सरकारी तहबाट पहिलो पटक गुरु पद्मसंभव अर्थात गुरु रिन्पोछेको जन्म दिवसको अवसर पारेर बृहत छेज्यु पूजाको आयोजना गर्ने भएको हो ।
शुक्रबार बौद्धनाथ क्षेत्र विकास समितिले क्षेत्र विकास समितिकै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो बुद्ध भनेर चिनिने बौद्ध धर्ममा निकै महत्वपुर्णका साथ मान्ने गुरुरिन्पोछेको जन्मजयन्तीलाई समितिले मनाउन गईरहेको जानकारी दिइको थियो । छेच्यु पूजा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना हुने भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुरु पद्मसंभवको जन्म दिवस छेच्यु पूजा, समितिले पहिलो पटक गर्न गईरहेको बताउनुभयो । उहाँले गुरु रिन्पोछे बौद्ध धर्ममा महत्वका साथ पुज्ने र बौद्ध महाचैत्यसंग पनि इतिहास जोडिएकोले संरक्षण गर्न आवश्यक भएकोले समितिले छेच्यु पूजा गर्न गईरहेको भनाई राख्नुभयो । लामाले छेच्यु पूजाआगामी वर्षहरुमा पनि निरन्तरता मनाउदै लैजाने पनि प्रतिबद्धता व्यक्त गनुभयो ।
सो अवसरमा प्रेस विज्ञप्ती वाचान गर्दै समितिका कार्याकारी निर्देशक मोहन कुमार तामाङले गुरु रिन्पोछे (गुरु पद्मसम्भव) को इतिहास बौद्ध (खास्ती) संग जोडिएको हुँदा सरकारी तहबाटै महत्व दिलाउने उदेश्यले पूजा आयोजना गर्न गईरहेको बताउनुभयो ।
प्रेस विज्ञप्तीमा छेच्यु पूजा यहि साउन १९ गते सोमबार हुने जनाएको छ । पूजापाठ विहाना ९ बजे महाँकाल, तिनचुली र ध्योइलिसाङ पोखरीमा हुने उल्लेख छ । यसैगरि गरु रिन्पोछे शोभायात्रा दिउँसो २ बजेर ३० मिनेटमा तिनचुलीबाट बौद्ध महाचैत्यमा परिक्रममा गरि गरु छेङ्गे छ्याम ४ बजे बौद्ध महाचैत्य परिसरमा हुने विज्ञप्तीमा रहेको छ ।
छेच्यु पूजा प्रत्येक वर्ष छेवा च्यु अर्थात दशमीका दिन मनाउने प्रचलन छ । हिमाली क्षेत्रमा बसोबास आदिवासी समूदायहरुले छेच्यु विशेष उत्सवको रुपमा हर्षका साथ मनाउने गरिन्छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले यहि श्रावण २७ गते दुइ हाते महाकालको जात्रा गर्ने भएको छ । छेच्यु पूजाको कार्यक्रमको जानकारी सहित महाँकाल जात्राको अयोजना गर्ने पनि जानकारी दिईएको हो ।
लामा गुरुहरु, बज्राचार्य गुरुहरु र ब्राह्माणहरुबाट महाँकालको पूजा गरि महाँकालको प्रतिमालाई खटमा राखि महाँकाल देखि रामहिटी, तिनचुली भई बैद्ध परिक्रमा गराई टुसाल, चुच्चेपाठी हुँदै पूनः महाँकाल स्थानमा पुर्याई समापन गर्ने कार्यातालिका सार्वजनिक गरेको छ ।
महाँकाल तीन प्रकारको रहेको देखिन्छ । दुई हाते महाँकाल, चार हाते महाँकाल र छ हाते महाँकाल हुने गरेको छ । महाँकाललाई बुद्धधर्ममा धर्मपालको रुपमा लिइन्छ । महाँकाललाई आर्यअवलोकितेश्वरको अवतारको रुपमा पनि लिइन्छ ।