अपाङ्गता भएका आदिवासी जनजातिलाई परम्पारगत ज्ञानमा आधारित दुना–टपरीको तालिम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ असार २०८२, मङ्गलवार
अपाङ्गता भएका आदिवासी जनजातिलाई परम्पारगत ज्ञानमा आधारित दुना–टपरीको तालिम

परम्परागत ज्ञानमा आधारित दुना टपरी बनाउने तालिम प्रदान गरिएपछि सिन्धुलीमरिणका अपाङ्गता भएका आदिवासी जनजातिहरु खुशी भएका छन् । तालिममा सहभागी भएकाहरुलेयसबाट आर्थिक शसक्तिकरण तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नू भएको छ । 

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (निडा) सिन्धुलीले अपाङ्गता भएका आदिवासी जनजातिलाई लक्षित गरी अपाङ्गता भएका व्यक्ति र उनीहरुको अभिावकहरुलाई सिन्धुली मरिणको कात्तिकेमा १५ दिने दुना टपरी बनाउने तालिम प्रदान गरिएको हो । 

निडाले यस अघि अपाङ्ता भएका व्यक्तिहरुलाईमौरीपालन र धुप बनाउने तालिम प्रदान गरेको थियो । आदिवासी जनजाति मगर र तामाङ बहुल रहेको सिन्धुलीको मरिण गाउँपालिका वडानम्बर १ कत्तिकेमा आयोजित दुना टपरी बनाउने  तालिममा २६ जना अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता थियो । 

वनमा निशुल्क पाइने साल तथा भोर्लाको पातबाट बनाइने दुना टपरी जस्ता परम्परागत ज्ञान हाल लोपोन्मूख अवस्थामा पुगेको हुँदा यसको संरक्षण गरी स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक शसक्तिकरणका लागि यो तालिमको आयोजना गरिएको नेपाल आदिवासी जनजाति अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष जीवन राना मगरले बताउनु भयो । 

बिबाह, भोज तथा पुजा अनुष्ठान लगायतका साँस्कृतिक क्रियाकलापमा अनिवार्य रुपमा आवश्यक पर्ने दुना टपरी पछिल्लो समयमा लोप हुँदै गएको छ । खास गरेर दैनिक व्यवहारमा प्लास्टिकका भाडाबर्तनको प्रयोग बढे पछि दुना टपरी जस्ता परम्परागत ज्ञानमा कमी आएका कारण जलवायुजन्य  प्रकोप बढेको अनुसन्धानहरुमा उल्लेख छ । यही तथ्यलाई ध्यानमा राखेर नेपाल आदिवासी जनजाति अपाङ्ग संघ, निडाले बागमती प्रदेश, सामाजिक विकास कार्यलयको आर्थिक सहयोगमा सो तालिमको आयोजना गरेको हो । 

दुना टपरीजस्तो परम्परागत ज्ञानलाई व्यवसायिक बनाउन प्रविधिको प्रयोग गरेर थप गुणस्तरीय बनाएर व्यवसायिक बनाउन सकिने तालिमकी प्रशिक्षक भावाना पुलामीमगरले बताउनु भयो । 
दुना टपरी बनाउन पातसंकलन देखि टपरी निर्माणसम्मको चरणमा बिशेष सीप आवश्यक पर्ने बताउनु भयो । उहाँले परम्परागत तरिकाले दुना टपरी बनाउने सीपलाई नै परिमार्जन गरी पातको ग्रेडिङ र दुना टपरीलाई आकर्षक बनाउन हाइड्रोलिक मेसिनको प्रयोग गरी बनाइने सीप सिकाइएको जानकारी दिनु भयो ।

नेपाली बजारमा दुना टपरीको उच्च माँग रहेको पनि बताउनु भयो । जलवायु परिवर्तनका कारण प्लास्टिकजन्य सामाग्रीलाई न्युन गराउन होटल तथा रेष्टुरेन्टले हाल दुना टपरीको प्रयोग गरी रहेको बतउनु हुँदै निशुल्क पाइने वनजन्य स्रोतको सदुपयोग हुने अपेक्षा गर्नू भयो । 

आफुले धनगढीमा यही दुना टपरीको व्यबसायबाट राम्रो आर्थिक उपार्जन र धेरैलाई रोजगारी सिर्जना गरेको अनुभव सुनाउँदै सरकार र संघ संस्थाको सानो सहयोगले अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन आउन सक्ने भएकाले निरन्तर सहयोगका लागि पनि अपील गर्नू भयो । 

तालिममा सहभागी मध्येकी एक विष्णु माया बल तामाङ नियतीले एउटा खुट्टा गुमाएर  अपाङ्गता हुन परे पनि पुर्खाले आर्जेको ज्ञान प्रणालीको सीपबाट बाँकी जीवन सहज हुने विश्वास व्यक्त गर्नू भयो । 
‘दुना टपरी पनि विक्री हुन्छ भन्ने थाहा थिएन, तालिमबाट यसको बजार र मूल्य थाहा भयो ।’ विष्णु मायाले भन्नु भयो, –‘खुट्टा नभएर पनि कमाइ खाने बाटो देखाएकोमा निडालाई धन्यबाद छ ।’ 

तालिममा सहभागी स्थानीय विनिता आले मगरले अपाङ्गहरु समाज र परिवारका बोझ नभएर सिर्जनात्मक काम गर्ने कर्मी भएको धारणा राख्नु भयो । तालिमबाट आफु थप उत्साहित भएको पनि उहाँले बताउनु भयो । 

तालिम कार्यक्रमको समापन समारोहमा मरिण गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुर्मछानले  निडाको कामबाट आफु प्रभावित भएको बताउनु भयो । निडाले नै घचघचाए पछि मरिण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि बजेट विनियोजन थालिएको बताउनु हुँदै आगामी आर्थिक बर्षमा ठोस कार्यक्रम सहितको बजेट ल्याउन पहल गर्ने बताउनु भयो ।  

यसरी नै नेपाल आदिवासी जनजाति महसंघ, बागमती प्रदेशका अध्यक्ष काजीमान थिङले आदिवासीका थुप्रै ज्ञान प्रणाली रहेका बताउनु हुँदै यसको संरक्षण गर्ने काम सराहनीय भएको बताउनु भयो । उहाँले आदिवासी ज्ञानले आर्थिक उपार्जनमा पनि सहयोग गर्ने धारणा राख्दै सरकार आदिवासीमैत्री हुनु पर्ने बताउनु भयो । 

कार्यत्रममा सहभागी हुनु भएका आदिवासी अभियन्ता अधिवक्ता दिल प्रसाद थापा मगरले जलवाय परिवर्तनको संकट समाधान गर्न आदिवासी ज्ञानमा आधारित सीप र ज्ञानलाई आधुनिक प्रविधिको सहयोगले उन्नत हुने धारणा राख्नु भयो । 

 

प्रतिक्रिया