कीर्तिपुरमा नाराबाजीबीच मस्यौदामा सुझाव

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ साउन २०७२, मङ्गलवार
कीर्तिपुरमा नाराबाजीबीच मस्यौदामा सुझाव

काठमाडौ क्षेत्र नं १० पाँगामा साउन ४ गते आयोजना गरिएको मस्यौदा सुझाव संकलन नाराबाजीबीच कार्यक्रम भएको छ ।

नेकपा माओवादी (बैद्य) का डा. बुद्धि नेपालीले बन्द कोठामा लेखेर दिल्ली दरबारबाट अनुमोदन भइरहेको तथा सुझावको नौटंकी मात्रै गरिएकोले यो संविधान आफूहरूलाई मान्य नहुने बताए । उनले जनताको सुझावको कदर नगरिए हतियार बिसाइएको मात्रै हो, फेरि उठ्न सक्ने चेतावनी दिए । डा नेपालीले शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी नलिइएको केवल नाटक मञ्चनको लागि ल्याइएको संविधान नमान्ने बताउँदै च्यातेर हावामा उडाए । लगत्तै उनका सहकर्मीहरूले संविधानसभा चाहिदैन भनेर नाराबाजी गर्दै बाहिरिए । उनीहरूले मञ्चमा आसिन सभासदहरूलाई कालो झण्डा पनि देखाउन भ्याए । नेकपा माओवादी (बैद्य) का कार्र्यकर्ताको बाहिर कोणसभा चालु रह्यो ।

पूर्व सभासद पार्वती थापा मगरले मस्यौदामा नारीउपर विभेद भएको जनाउँदै आमाको नामबाट पनि निर्बाढ रुपले नागरिकता दिनुपर्ने बताइन् । कार्यक्रममा सुझाव दिने सबै महिलाले आमाको नामबाट पनि नागरिकता दिनैपर्ने सुझाव दोह्¥याए ।

सानुभाइ मालपुलले जनताले दिएको सुझाव टिपिदै छ कि छैन ? हामीले दिएको सुझाव सही रुपमा जाने शंका भएको बताए । आफूलाई जनआन्दोलनको घाइते बताउने सतुंगलकी यमुनादेवी श्रेष्ठले मञ्चमै गएर हिन्दु धर्मको वकालत गरेपछि एक हुल उनीतर्फ लम्किएको थियो । बुँदागत सुझाव दिने हो, कुनै धर्मको वकालत गर्ने होइन भनेर केहीबेर फेरि होहल्ला भयो । त्यसपछि शान्त भएको माहोलमा दलका प्रतिनिधि तथा संस्थागत प्रतिनिधिको सुझाव संकलन केन्द्रित गर्ने, सर्वसाधारणलाई लिखित सुझाव दिन उद्घोषण गरियो । 
नेकपा एमाओवादीका प्रतिनिधि शम्भुराम महर्जनले मस्यौदामा सकारात्मक दृष्टिले हेर्न सके थुप्रै पक्ष समेटिएको बिचार राखे । उनले धर्म निरपेक्षता हुनुपर्ने आवाज उठाएपछि फेरि केहीबेर हलमा होहल्ला भयो । एमाले प्रतिनिधि रमेश महर्जनले आदिवासी जनजाति आयोग गठन हुनुपर्ने राय दिए । नेपाली कांग्रेस प्रतिनिधि राजकुमार नकर्मीले प्रत्येक पार्टीको भातृगठनको रुपमा छुट्टै युनियन गठनले कर्मचारी अति राजनीतिकरणमा गएकोले आधिकारिक युनियनबाहेक सबै बन्द हुनुपर्ने संविधानमै लेखिनुपर्ने सुझाव दिए । नेपाल राष्ट्रिय कर्मचारी महासंघका प्रतिनिधि सुधीर महर्जनले पनि सोही धारणा राखे ।

 एमाले प्रतिनिधि रमेश महर्जनले आदिवासी जनजाति आयोग गठन हुनुपर्ने राय दिए । नेपाली कांग्रेस प्रतिनिधि राजकुमार नकर्मीले प्रत्येक पार्टीको भातृगठनको रुपमा छुट्टै युनियन गठनले कर्मचारी अति राजनीतिकरणमा गएकोले आधिकारिक युनियनबाहेक सबै बन्द हुनुपर्ने संविधानमै लेखिनुपर्ने सुझाव दिए ।

डेमोक्रेटिक सोसाइटी ट्याङ्गलाफाँटका बलबहादुर थापाले अबको सभासद कम्तीमा स्नातक हुनैपर्ने सुझाव दिए । डा प्रभात सापकोटाले कर्मचारीले ५८ बर्षमा अवकाश पाउने तर देशले ७५ बर्षको प्रधानमंत्री हेर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । दलको अध्यक्ष होइन, सेलेब्रिटीलाई दलले प्रधानमंत्रीको उम्मेद्वार बनाउनुपर्ने र प्रत्यक्ष चुनाव हुनुपर्ने उनको थप राय थियो । नेमकिपाका प्रतिनिधि नारायण महर्जनले संविधानमा कार्यकारी राष्ट्रपति हुनुपर्ने बिचार राखे । एकल महिला प्रतिनिधि सिर्जनासिंहले पारपाचुके गरेर बस्ने महिलाले पनि भत्ता पाउनु पर्ने व्यवस्था संविधानमा हुनुपर्ने बताइन् ।

अखिल नेपाल महिला संघकी बेलीमाया घर्तीले राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला, मेयर पुरुष भए, उपमेयर महिला हुनुपर्ने बताउँदै नेतृत्व तहमा महिलाको समान प्रतिनिधि हुनुपर्ने सुझाव दिइन् । जेष्ठ नागरिक बद्रीलाल महर्जनले बहुजातीय देश भनेर स्वीकारी सकेपछि जनजातिले मासुको लागि उपयोग गर्ने गाई राष्ट्रिय जनावर हुन नहुने, एकसिंगे गैंडा नै राष्ट्रिय जनावर उपर्युक्त हुने सुझाव दिए । इन्जिनियर धु्रब महर्जनले बलात्कारी, घुसखोरीलाई मृत्युदण्डको व्यवस्था संविधानमा हुनुपर्ने सुझाव दिए । राष्ट्रिय अपांग युवा सञ्जालका प्रतिनिधि महेन्द्र थापाले मस्यौदा संविधान दृष्टिमैत्री नभएकोले अध्ययनमा कठिनाइ भएको बताए । उनले अपांगले नाम मात्रको ३ सय भत्ता पाइरहेकोले बरोजगारलाई भत्ता दिने हालको व्यवस्था त्यो भन्दा पनि कम हुन सक्ने बताउँदै बरु युवाहरूलाई स्वेदेशमै रोजगारको ग्यारेण्टी गरिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा करीब ६ सयको सहभागिता थियो । मञ्चमा सुझाव सुन्न राजेन्द्रकुमार केसी, इच्छाराज तामाङ, रुपा महर्जन लगायत सभासद थिए ।

प्रतिक्रिया