मुकुलुङ्ममा जारी रहेको नो केवलकार आन्दोलन नयाँ चरणमा प्रबेश गरेको छ । गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समितिसंगको ६ बुँदे सहमति कार्यन्वयन नभए पछि आन्दोलनरत समूहले नयाँ चरणको आन्दोलन घोषणा संगै वार्तालाई समेत साथै लैजाने गरी रणनीति बनाएका छन् ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ आन्दोदोलनसंग सम्बद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् ।
त्यसै गरी सोही दिन एक प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकसंग पनि सम्बाद गरेका थिए । सोमबार साँझ गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको सम्बादमा आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने निश्कर्ष निकालेको थियो ।
सम्वादमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का साँसद योगेश भट्टराई, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा लगायतको सहभागिता थियो ।
समाचार अनुसार सो अवसरमा गृह मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्नू भएको थियो । त्यस विषयमा सरकार पनि गम्भीर रहेको उहाँले जानकारी गराउनु भएको थियो ।
यस अघि आन्दोलनरत पक्षले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका थिए ।
प्रकासित आन्दोलनको कार्यक्रम अनुसार माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको आइएमई समूहलाई बहिष्कार गर्ने, फागनु ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध गर्ने र काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा आयोजना गर्ने कार्यक्रम रहेको छ ।
आन्दोलनरत समूहले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि ल्याएका छन् । त्यहीक्रममा उनलीहरूले विरोध प्रदर्शन कार्यक्रम पनि तय गरेका छन् । यो चरण पूरा भएपछि यसअघि माघ तेस्रो साताको जस्तै अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको तयारी उनीहरूले गरेका छन् ।
ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन थालिएपछि विरोधमा उत्रिएका ‘नो केबलकार समूह’का सदस्य र प्रहरीबीच माघ १२ गते झडप हुँदा २४ जना घाइते भएका थिए । जसमा आन्दोलनकारीतर्फ तीनजना गम्भीर घाइते भएका थिए । गोली लागेका दुईजनाको अहिले काठमाडौंमा उपचार जारी छ ।
त्यसपछि आन्दोलनित समूहले कोशी प्रदेशमा आमहड्ताल गर्दा जनजीवन अस्तव्यस्त भएको थियो । जनजीवन प्रभावित भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
उक्त वार्टा टोली र आन्दोलितबीच माघ २२ गते ६ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने उल्लेख थियो ।
माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको थियो ।
गत माघ २२ गते भएको वार्तामा केबलकारको स्टेशनबारे माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको थियो । तर यसबारेमा शनिबार र आइतबारको वार्तामा कुरा नभएपछि आन्दोलन थाल्न लागिएको हो ।