चार बर्ष अगाडि २०७७ साउन ३ गतेको बर्खामासमा चितवन राष्टिय निकुन्जले घरमा हात्ती र आगो लगाएर नष्ट गरे पछि बिच्चलीमा परेका ५६ घर परिवार चेपाङहरुको उचित व्यबस्थापनका लागि बागमती प्रदेश र स्थानीय माडी नगरपालिकालाई ज्ञापनपत्र दिइएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र माडी नगरपालिकाकी प्रमूख ताराकुमारी काजी महत्तोलाई ज्ञापनपत्र दिदै विस्थापित चेपाङ लगायतको बस्ती व्यबस्थापनका लागि ध्यानाकर्षण गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघकी महासचिव शोभा सुनुवार, सचिव रिना बराम, कार्यक्रम संयोजक हिरा तामाङलगायत हुनु हुन्थ्यो ।
निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुम खोलाबाट खेदाइएका चेपाङहरुलाई माडी नगरपालिकाले माडीकै कृष्णनगर, परवी खोला किनार, खरकट्टा, प्याउली लगायतको सार्वजनिक पर्ती जग्गामा अस्थायी बसोबास गराएको थियो । तर त्यहाँ पनि उनीहरुको दैनिकी कष्टकर भएको त्यहाँ बसीरहेका चेपाङहरुले बताएका छन् ।
‘ओत लाग्ने टहरा पाए पनि हातमुख जोर्ने साधनकै अभाव छ,’ स्थानीय माडी–७ परवी खोलामा वसोबास गरीरहेका कमल चेपाङले बताउनु भयो –‘हामी ५६ परिवारको खेती गर्ने जग्गा पनि छैन, ज्याला मजदुरी गर्न पनि सधै पाइँदेन ।’
स्थानीय जालीमाया चेपाङले चेपाङ बालवालिकाको जन्मदर्ता र केही चेपाङहरुमा नागरिकताको पनि समस्या भएको बताउनु भयो ।
परवीमा नै रहनु भएकी आरती प्रजा र कविता प्रजाले एकातिर ज्याला मजदुरी गर्दा आइपर्ने समस्या त छदैछ, थप चेपाङहरुको परम्पागत अभ्यास पनि गर्न नपाएको गुनासो गर्नू भयो । ‘चेपाङहरु जंगलको कन्दमूल र सागसव्जीमा निर्भर जाति हो, तर यहाँको निकुन्जले जंगल प्रबेशमा रोक लगाएका परम्परागत खाद्यपदार्थको अभाव रहेको छ ।’ उहाँको थप भनाई थियो –‘हामी भोकमरी समस्या र स्वच्छ पिउने पानीको अभाव झेली रहेका छौ ।’
नगरपालिकाले अस्थायी बसोबास गराए पनि उनीहरु बिहान बेलुका छाक टार्ने समस्यामा पर्दे आएका छन् ।
सो स्थानमा बासबस्ने ओतको व्यबस्था त गरिएको छ, तर रोजगारी, स्वच्छ खानेपानी, स्वास्थ्य तथा सरसफाई लगायतका आधारभूत आवश्यकताबाट बन्चित हुँदै आएका छन् ।
उहाँहरुले सो स्थानमा पनि निकुन्ज प्रशासनले समय समयमा दुख दिने गरेको बताउनु भयो । सो अवस्थालाई ध्यानमा राखी राष्टिय आदिवासी जनजाति महिला महासंघले उनीहरुको उचित व्यबस्थापनका लागि बागमती प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । महिला महसंघको ज्ञापन पत्र बुझ्दै माडी नगरपालिकाका प्रमूख तारा कुमारी काजी महत्तोले उनीहरुको आवश्यकतालाई ख्याल गर्दे खानेपानीको धारा जडान गर्न लागिएको र बसोबासका लागि क्रमशः आवासको व्यबस्था गर्दै लैजाने बताउनु भयो ।