समानुपातिक निर्वाचन प्रणाली हटाउने एजेन्डामा सबैको चासो, चुनावी मसला मात्र बन्ने आशङ्का   

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२२ असार २०८१, शुक्रवार
समानुपातिक निर्वाचन प्रणाली हटाउने एजेन्डामा सबैको चासो, चुनावी मसला मात्र बन्ने आशङ्का   

समानुपातिक निर्वाचन प्रणालीका कारण संघीय र प्रादेशिक सरकार अस्थिर भएको भन्दै संविधान संशोधन गर्ने सहमतिको खबर बाहिरिएसंगै पुरै देश तरङ्गित बनेको छ । यो सहमतिबाट संघीय संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भएर स्वागत गर्न पुगेको छ भने अन्य राजनीतिक दलले अहिले सम्म मुख खोलेका छैनन् । 

२०६२/६३को जनआन्दोलनको उपलव्धीका रुपमा व्याख्या विश्लेषण हुँदै आएको समानुपातिक निर्वाचन प्रणाली सहितको समाबेशी व्यबस्थाले संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभालाई इन्द्रेणीसभा बनाउन सहयोग गरेको थियो ।

अहिलेको संवैधानिक व्यबस्था अनसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट समानुपातिक प्रतिनिधिका आधारमा ११० सिट आरक्षित रहेको छ । यसै गरी प्रदेश सभाहरुमाती सबै क्लस्टरबाट चालिस प्रतिशतको प्रतिनिधित्व रहेको छ ।

नेपालको संविधानमा ११ वटा प्रावधानहरु आदिवासीको विरुद्धमा छ । २३ वटा प्रावधानले आदिवासीलाई विभेद गर्दछ । ४९ वटा प्रावधानले  समुदायलाई वहिस्करण गर्दछ भने ५ वटा संवैधानिक कुराले नश्लीय व्यवस्थालाई संस्थागत गर्दछ । 

यदी अहिले प्रचार गरिएजस्तो प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक कोटा कटौतिसहितको संविधान संशोधनको प्रस्ताव आएको खण्डमा आदिवासी जनजाति, मधेशी र थारु समुदायबाट ठूलो विरोध आउन सक्ने प्रायः निश्चित छ । नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भूजेल भन्नु हुन्छ, ‘समानुपातिक र समोवेशी व्यबस्था काट्नु प्रतिगमन हो, त्यसो हुन हामी दिदैनौ ।’

महासंघकै पूर्व अध्यक्ष जगत बरामको शव्दमा ‘आदिवासी जनजाति, मधेशी, मुस्लिम, महिला र पिछडिएका क्षेत्रको प्रतिनिधित्व त्यसै आएको होइन, लामो संघर्ष र आन्दोलनको प्रतिफल हो । यसलाई मास्ने कार्य गर्न हामी दिदैनौ ।’ बरामले राजधानीमा आयोजित एक कार्यक्रममा आदिवासी युवाहरुलाई सम्बोधन गर्दे ‘अव युवाहरु संघर्षमा ओर्लने बेला आएको’ पनि बताउनु भएको थियो । 

संविधान संशोधन अवसर पनि हो 
संविधान र कानूनका ज्ञाता अधिवक्ता शंकर लिम्बू भने संविधान संशोधनको मुद्धालाई अवसरका रुपमा स्वीकार्ने बताउनु हुन्छ । आदिवासी, मधेशी र मुस्लिमले नेपालको संविधानलाई नश्लवादी भन्दै विरोध गर्दै आएको पृष्ठभूमिमा संविधान संशोधनको ढोका खोलिएमा अवसर हुने उहाँको तर्क छ । 

अधिवक्ता लिम्बूका अनुसार नेपालको संविधानमा ११ वटा प्रावधानहरु आदिवासीको विरुद्धमा छ । २३ वटा प्रावधानले आदिवासीलाई विभेद गर्दछ । ४९ वटा प्रावधानले  समुदायलाई वहिस्करण गर्दछ भने ५ वटा संवैधानिक कुराले नश्लीय व्यवस्थालाई संस्थागत गर्दछ । 

यदि संविधान संशोधनको ढोका खोलिएको खण्डमा यी प्रावधान संशोधनका लागि आदिवासी जनजातिहरुले पहल गर्न सक्छन् । 

तर नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजाल पनि समावेशी मर्मलाई मर्न नदिन समानुपातिकको सबै कोटा खारेज नगरेर संख्या घटाउनु पर्ने सुझाव दिनु हुन्छ । हाल ११० जना समाबेशी कोटामा पुग्नु हुन्छ, त्यसलाई घटाएर ६०मा सिमित गर्न उपयुक्त विकल्प भएको धारणा सार्वजनिक गर्नू भएको छ ।

चर्चामा आएजसरी समानुपातिक कोटालाई राष्ट्रिय सभामा पठाउने प्रस्ताव पनि उपयुक्त नहुने उहाँको सुझाव छ ।  उहाँको थप भनाइ छ, ‘हाम्रो अनुभव र सिकाईका आधारमा यसलाई परिमार्जन गर्नू ठिक हो, तर यसलाई फाल्नु ठिक होइन ।’ 

यसमा प्रतिनिधित्वको संख्या घटाउने सवालमा आदिवासी अभियन्ता तथा अधिवक्ता लिम्बूको पनि सहमति छ । उहाँ भन्नु हुन्छ, ’प्रतिनिधिको संख्या घटाउनु स्वागतयोग्य कुरा हो । तर निर्वाचन प्रणाली जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक बनाउनु पर्छ ।’

समानुपातिक र समाबेशी प्रावधानलाई कटौति गर्न खोजेको भन्दै मधेश केन्द्रीत राजनीतिक शक्तिहरुबाट पनि शसक्त बिरोध हुने संकेत देखिएको छ । मधेशको राजनीतिक शक्तिलाई एकीकृत गराउन अभियान चलाइरहनुभएका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महत्तो अधिकार खोस्ने योजना सफल नहुने बताउनु हुन्छ । जनताले प्राप्त गरिसकेको अधिकार खोसेर दुई दलीय राजनीतिक दल बनाउने निर्णयले सार्थकता प्राप्त नगर्ने उहाँले ठोकुवा गर्नू भयो । 

मधेश केन्द्रीत अन्य दलहरु जनता समाजवादी, जनता समाजवादी नेपाल र जनमत पार्टीहरुले यो सवालमा मुख खोली सकेका छैनन् । तर यि शक्तिहरु समानुपातिक व्यवस्थाको विपक्षमा जानसक्ने अवस्था छैन ।

 त्यसो त मधेशले जनसंख्याका आधारमा प्रतिनिधित्व हुनु पर्ने माँग सुरु देखि नै गर्दै आएको छ । 

मधेशकै अर्को शक्ति मुस्लिमको पनि यसमा सहमति हुने अवस्था छैन । 

संविधान संशोधनमा जनमतको कुरा 
संविधान संशोधनको प्रस्ताव संसदमा आए पछि त्यसको ३० दिन भित्र जनताको राय लिन प्रकाशन गर्नू पर्ने संवैधानिक व्यबस्था रहेको छ । यसरी जनताका राय सुझाव लिने क्रममा विविध प्रस्तावहरु आउन सक्नेमा दूइमत छैन । ती सुझावलाई संसदले स्वीकार गर्ने वा नगर्ने अधिकार राखेता पनि जनताको जायज मागलाई अस्वीकार गर्ने संभावना न्युन हुन्छ । सबैभन्दा ठूलो कुरा संसदमा संख्याको खेल पनि रहन्छ । 

विद्यमान राजनीतिक गणितका आधारमा नेपाली काँग्रेस र नेकपा एमालेको संख्याले मात्र संविधान संशोधन हुने गणीत नभएका कारण सत्ताच्युत भएको माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादी सकारात्मक नबन्न सक्छ । यस्तो अवस्थामा संविधान संशोधन आगामी निर्वाचनका लागि केवल चुनावी मसला मात्र बन्न सक्ने संभावना छ । 

प्रतिक्रिया