रामेछापको उमाकुण्ड र गोकुलगंगामा बालकला र साहित्य महोत्सव, मातृभाषा शिक्षा लागु गर्न बिशेष जोड

Admin
Admin३ जेठ २०८१, बिहिवार
रामेछापको उमाकुण्ड र गोकुलगंगामा बालकला र साहित्य महोत्सव, मातृभाषा शिक्षा लागु गर्न बिशेष जोड

रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको फरक फरक तीन स्थानमा बालकला तथा साहित्य महोत्सव सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको बाम्तीभण्डारस्थित सिद्धेश्वर माध्यामिक विद्यालयको प्राङ्गणमा र गाउँपालिकाको केन्द्र रहेको प्रितिस्थित चण्डेश्वरी माध्यामिक विद्यालयमा तथा गोकुलगंगा गाउँपालिकाको ठोसे स्थित चण्डेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा यसैसाता भव्य रुपमा बाल कला तथा साहित्य महोत्सव आयोजना भएको हो ।

सामुदायिक रुपान्तरण नेपालको आयोजनामा भएको महोत्सवमा स्थानीय कवि तथा साहित्यकारहरुको कृतिहरु पनि विमोचन भएको थियो ।  ठोसेमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा बस्नेत कार्की प्रमूख अतिथि हुनु हुन्थ्यो भने प्रितिमा उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार र बाम्तीमा स्थानीय वडा अध्यक्ष तथा अभिभावक गुणकुमार थापा प्रमूख अतिथि हुनु हुन्थ्यो । 

आयोजक संस्था सामुदायिक रुपान्तरण नेपालका अध्यक्ष भूवनेश्वर प्रधानले स्थानीय बालबालिकाको कला, साहित्य क्षेत्रमा समेत व्यक्तित्व विकास  गर्ने हेतुले सो महोत्सव आयोजना गरिएको बताउनु भयो । बालबालिकालाई पाठ्यपुस्तक बाहिर पनि सिर्जनात्मक क्षमता बढाउन यस प्रकारको कार्यक्रम विगत पाँच बर्ष देखि सन्चालन गर्दे आएको बताउँदै अध्यक्ष प्रधानले स्थानीय सरकार र विद्यालयहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको बताउनु भयो । 

कार्यक्रमहरुमा स्थानीय बालबालिकाहरुले कथा, कविता, मुक्तक तथा गीतहरु प्रस्तुत गर्नू भएको थियो । यसै गरी कार्यक्रमको बीचमा स्थानीय लोकनृत्य प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाइएको थियो । 

महोत्सवमा बाल साहित्यिक समाजका अध्यक्ष प्रमोद प्रधान, सामुदायिक रुपान्तरण नेपालका सचिव देवकुमार सुनुवार, साहित्यकार सुशिला प्रधानाङ्ग, विजय आचार्य, कैलाश राई, केशरी आमगाई, पत्रकार कुमार यात्रु समेतको सहभागिता थियो । 

कार्यक्रममा कथा, निवन्ध, कविता र चित्रकलाको फरक फरक कार्यशाला सम्पन्न भएको थियो । तीनै स्थानमा भएको कार्यशालाको सहजीकरण प्रमोद प्रधान, सुशिला प्रधानाङ्ग, कैलाश राई, विजय आचार्यले गर्नू भएको थियो । 

चित्रकला कार्यशालाको सहजीकरण भने साहरा तँुनिज कोइँचले गर्नू भएको थियो । चित्रकलामा बालबालिकाहरुले रमाई रमाई आफनो आफनो चित्रहरु बनाउनु भएको थियो । महोत्सवमा यस अघिबनाइएका चित्रहरुको संकलन सिर्जनाका मुनाहरु तीनै स्थानमा विमोचन भएको थियो । 

कार्यक्रमकै एक अभिन्न अंगका रुपमा बाल अधिकार सम्बन्धि फरक फरक शीर्षकमा प्यानल डिस्कशन भएको थियो । ठोसेको प्यानल डिस्कशनमा गाउँपालिककी उपाध्यक्ष उषा बस्नेत कार्की, गोकुलगंगा वडानम्बर २ का वडा अध्यक्ष सुन्दर कुमार कार्की, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर बहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष डबल बहादुर श्रेष्ठ हुनुहुन्थ्यो । बाल अधिकार संरक्षणमा स्थानीय सरकार, अभिभावक र शैक्षिक संस्थाको भूमिका विषयक सम्वादमा वालवालिकाहरुले विभिन्न प्रश्नहरु गर्नू भएको थियो । 

खास गरेर बालबालिकाहरुले आफनो विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको, ट्युशन पढ्ने समय नमिलाइएको, बालबालिका हिड्ने सडक बालमैत्री नबनेको बिषयमा प्रश्न गर्नू भएको थियो । प्रश्नको जवाफ दिदै प्यानलिष्टहरुले यस सम्बन्धि गुनासोको सम्बोधन गरिने बताउनु भएको थियो । 

मातृभाषा शिक्षा र स्थानीय पाठ्यक्रममा बहस 
उता उमाकुण्ड गाउँपालिकाको बाम्ती र ठोसेमा आयोजित सम्बाद कार्यक्रममा मातृभाषाको शिक्षा र स्थानीय पाठ्यक्रमका विषयमा सम्वाद भएको छ । सम्वादमा सहभागी हुँदै गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले अन्य स्थानीय तहको अभ्यास हेरेर मातृभाषाको शिक्षाका लागि अध्ययन भइरहेको बताउनु भयो । उहाँले उमाकुण्डमा कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम यसै आर्थिक बर्षदेखि लागु भएको हुँदा यसबाट पनि स्थानीय परिबेशको जानकारी बालबालिकालाई हुने दावी गर्नू भयो । 

कार्यक्रममा उमाकुण्ड वडानम्बर २का वडा अध्यक्ष रुद्रमणि नेवार र चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक शेषकुमार श्रेष्ठ प्यानालिष्ट हुनु हुन्थ्यो । उहाँहरुले पनि स्थानीय पाठ्यक्रम लागु भए पछि बालबालिकालाइ स्थानीय विषयबस्तुमा जानकारी मिल्ने बताउनु भयो । 

उमाकुण्ड गाउँपालिकाकै बाम्तीमा आयोजित सम्बाद कार्यक्रममा भने गाउँपालिकाका शिक्षा शाखाका प्रमूख ङावा शेर्पाले विद्यालयमा मातृभाषाको शिक्षा कार्यक्रम लागू हुन नहुनेमा जोड दिनु भयो । उहाँले मातृभाषाको शिक्षाले समाजमा विभाजन ल्याउने आफनो बुझाई भएको बताउनु भयो । कार्यक्रममा अर्का वक्ता रहनु भएका वडा अध्यक्ष गुणकुमार थापाले भने प्रदेश सरकारबाट निर्देशन आएमा भाषा शिक्षा लागु गर्न तयार रहेको बताउनु भयो । सम्वाद कार्यक्रममा सिद्धेश्वर शिक्षा पव्लिक क्याम्पसका सहायक क्याम्पस प्रमूख जगदीश बस्नेतले स्थानीय पाठ्यक्रमको सफल कार्यन्वयन हुनु पर्नेमा जोड दिनु भयो । 

सो सम्वाद कार्यक्रमको सहजीकरण पत्रकार कुमार यात्रुले गर्नू भएको थियो । कार्यक्रममा बालबालिकाहरु र अभिभावकहरुको बाक्लो सहभागिता थियो । 


 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin