छन्त्यालहरूले विपतमा सम्झिए थामीहरूलाई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ असार २०७२, शुक्रवार

Chhantyal

भूकम्पबाट अति प्रभावित दोलखाको लापिलाङ गाविसका १० वटा विद्यालयहरूलाई नेपाल छन्त्याल संघको तर्पmबाट सहयोग गरिएको छ । छन्त्याल संघबाट स्टेसनरी, जस्तापाता, र ट्वाइलेटका लागि कमोड प्यान, सिमेन्ट, पाइप, काँटी लगायतका सामाग्री गत मंगलबार र बुधबार सहयोग गरिएको हो । १० वटा विद्यालयहरूका १ हजार ७ सय १४ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी १ दर्जन कापी, ३ वटा डटपेन र २ वटा विद्यालयहरूलाई ५÷५ बन्डल जस्ता, ट्वाइलेटका लागि २÷२ वटा कमोड प्याड, २÷२ वटा पाइप, सिमेन्ट र काँटी छन्त्याल संघको तर्पmबाट वितरण गरिएको थियो ।

दोलखाको सदरमुकाम चरिकोटदेखि विकट लापिलाङ गाविसका कालिका भगवती प्रावि, गुराँसे प्रावि, भगवती निमावि, देउराली प्रावि, गोल्मादेवी प्रावि, बलम्बु निमावि, भद्रवती प्रावि, गुजर्पा निमावि, जनज्योति मावि, लापिलाङ उच्च माविमा सहयोग गरिएको थियो । त्यसैगरी गुराँसे प्रावि र देउराली प्राविलाई थप ५÷५ बन्डल जस्ता, ट्वाइलेटका लागि २÷२ वटा कमोड प्याड, २÷२ वटा पाइप, सिमेन्ट र काँटी समेत दिइएको थियो ।

यस्तो राष्ट्रिय विपत्तिमा छन्त्याल जातिजस्तै पछाडि परेका थामी जातिको बाहुल्यता भएको क्षेत्रमा आएर थोरै भए पनि सहयोग गर्न पाएकोप्रति संघका पूर्व अध्यक्ष तथा छन्त्याल महाभूकम्प राहत सहयोग तथा पुनस्र्थापना (पुननिर्माण) कोषका संयोजक चित्रबहादुर छन्त्यालले गर्व लागेको बताए, ‘यस्तो विपत्तिका बेला कसले कति र के सहयोग ग¥यो भन्नु भन्दा पनि जति सकिन्छ त्यसरी हातेमालो गर्ने बेला हो ।’ ऐतिहासिक थातथलो बागलुङ र म्याग्दी जिल्लाको धौलागिरि हिमालको दक्षिणी भूभाग भएका छन्त्यालहरूको प्रतिनिधिमूलक संस्था नेपाल छन्त्याल संघ हो ।

छन्त्याल संघको सहयोग र नेपाल थामी समाजको समन्वयमा लापिलाङ गाविसका विद्यालयहरूलाई सहयोग गरिएको छन्त्याल संघका केन्द्रीय सदस्य गोबिन्द छन्त्यालले बताए,‘थामी समुदायको बाहुल्यता भएको विकट क्षेत्र तर उज्जवल भविष्यका लागि संघर्ष गरिरहेका सबै जातजातिका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ हुने हेतुले स्टेस्नरी सामाग्रीलाई जोड गरिएको हो ।’

छन्त्याल संघको तर्पmबाट थामी समदाय सम्झिएर सहयोग गर्न चासो देखाएकोप्रति थामी समाजका अध्यक्ष बिनकुमार थामीले भने, ‘यो सहयोग थामी समुदायका लागि मात्र नभई दोलखाको लापिलाङ गाविसका सबै जाति समुदायका लागि बिर्सनै नसकिने कार्य हो । र विद्यार्थी भाइबहिनीहरूले यिनै सहयोग गरिएका कलमले कापीमा लेख्दै भोलिको दिनमा राष्ट्रका लागि महान र असल जनशक्ति उत्पादन हुनेछन् ।’

कूल ५ लाख ३८ हजार रुपैयाँ बराबरको सामाग्री लापिलाङमा वितरण गरिएको हो । थामीहरूको सबभन्दा बढी बसोबास भएको दोलखा जिल्लाका अधिकांश विकट गाविसहरूमा थामीलगायतका आदिवासी जनजातिहरूको बसोबास रहेको छ ।

छन्त्याल संघद्वरा गठित छन्त्याल महाभूकम्प राहत सहयोग तथा पुनस्र्थापना (पुननिर्माण) कोषको पहलमा देशदेखि विदेशरमा रहेका छन्त्यालहरूले सो रकम संकलन गरेका थिए । अष्ट्रेलिया छन्त्याल परिवारले मात्र २ लाख ९४ हजार ३० रुपैयाँ कोषलाई सहयोग गरेका हुन् ।

५ लाख ३८ हजार रुपैयाँ बराबरको सामाग्री दोलखा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा छन्त्याल संघका पूर्व अध्यक्ष मनिचन छन्त्याललगायत १४ जना छन्त्याल संघको प्रतिनिधिहरूबाट नेपाली सेनाका बर्दबहादुर गणका क्याप्तेन प्रकाश केसी, एबिसि टेलिभिजनका पत्रकार कमन देवान, लापिलाङका गाविस सचिव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, स्थानीय अभिभावकहरूको रोहबरमा सामाग्री वितरण गरिएको समेत सहभागी गोबिन्द छन्त्यालले जानकारी गराए ।

छन्त्याल र थामी आदिवासी जनजाति बीचको संस्थागत रुपले एकअर्कामा सहयोग गर्ने कार्यलाई स्थानीयहरूले समेत प्रशंसा गरेका थिए । पछिल्लो जनगणनाअनुसार, छन्त्याल जातिको जनसंख्या ११,८१० जसमा महिला ६५६५ र पुरुष ५२४५ रहेका छन् भने थामी जातिको जनसंख्या २८,६११ देखाइएको छ । नेपालका ४३ जिल्लाहरूमा छन्त्यालहरूको तथ्यांक देखाइएको छ भने थामीहरूको ५२ जिल्लामा देखाइएको छ । त्यसैगरी छन्त्याल जातिको साक्षरता ७२.७ प्रतिशत छ भने थामी जातिको ५७.४ प्रतिशत छ ।

Chhantyal

 

प्रतिक्रिया