हेलम्बुमा प्रथाजनित संस्था ह्युलठिम सक्रिय, भव्य छिच्यु पर्ब मनाउँदै यस बर्षको चिवा फेरियो 

Admin
Admin१७ फागुन २०८०, बिहिवार
हेलम्बुमा प्रथाजनित संस्था ह्युलठिम सक्रिय, भव्य छिच्यु पर्ब मनाउँदै यस बर्षको चिवा फेरियो 

बौद्ध दर्शनका प्रबर्तक पद्मसम्भव अर्थात गुरु रिम्पोछेको जन्मदिन पारेर हरेक बर्ष मनाइने छेच्यु पर्व विगतमा झै हेलम्वु क्षेत्रका हरेक गुम्वा तथा गाउँहरुमा मनाइएको छ । खास गरेर आदिवासी ह्योल्मोलगायतका बौद्ध धर्मावलम्बीहरुले मुख्य धार्मिक पर्वको रूपमा मनाउँदै आएको यो पर्वलाई उत्सवमय तरिकाले हेलम्बु क्षेत्रमा सात दिनसम्म मनाइएको हो । 

छेच्यु पर्ब सम्पन्न भएसंगै आयोजक मानिएको चिवा पनि फेरिएको छ । यसरी फेरिएको नयाँ चिवाले एक बर्ष सम्म आयोजना हुने साँस्कृतिक पर्बहरुको सामुहिक आयोजना तथा व्यवस्थापन गर्नू पर्ने हुन्छ । 

छेच्युको अवसरमा धार्मिक महत्वका पवित्र १६ थान पुस्तक (ह्युम) पाँच दिनसम्म वाचन गरिन्छ । ह्युम पाठ  भए पछि मात्र छेच्युको तयारी पुरा भएको मानिन्छ ।विश्वमा बढ्दै गइरहेको प्राकृतिक प्रकोप, विभिन्न थरीका रोगव्याधि, मानवीय द्वन्द्वलगायत बढ्दो मानवीय असन्तुष्टि, लोभ, ईष्र्या, क्रोध आदिको पूर्ण निवारणको अपेक्षा सहित विश्व शान्ति र मानव मुक्तिको कामनाका साथ यो पूजा हुने गरेको आयोजकहरुको भनाइ छ ।

प्रथाजनित संस्थामा गुम्वाका प्रमूख लामा र गोवा लगायतको टिम स्थायी रुपमा गठन भएको हुन्छ । जसलाई ह्युलठिम भनिन्छ । ह्योल्मो जातिमा ह्युलठिम (प्रथाजनित विधि) र छ्योईठिम (प्स्तकमा बर्णन गरिएको विधि) लाई सम्मान गर्ने गरिन्छ । 

छेच्यु मनाउने विधि
हेलम्बु सेर्माथाङ स्थित साङाङ फिन्चोक उर्गेन छयोलिङ गुम्वाका प्रमूख लामा सोनामका अनुसार यो पर्ब चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसारसंगै आउने शुक्ल पक्षको दशमी देखि पूर्णिमासम्म मनाउँने गरिएको छ । सोही परम्परा अनुसार हेलम्बु क्षेत्रमा गाउँहरुमा यो पर्ब भव्य रुपमा मनाइएको छ । 

गुरु रिन्पोछेद्वारा प्रतिपादन गरिएको तान्त्रिक नृत्यको माध्यमबाट राक्षसमाथि विजय प्राप्त गरिएको प्रदर्शनीकलालाई प्रस्तुत गरेर यो पर्बलाई उत्सवमय बनाइन्छ । यही कलाको प्रदर्शनी र अवलोकन गर्नू नै यो पर्बको प्रमूख विशेषता हो । 

छेच्युको अवसरमा धार्मिक महत्वका पवित्र १६ थान पुस्तक (ह्युम) पाँच दिनसम्म वाचन गरिन्छ । ह्युम पाठ  भए पछि मात्र छेच्युको तयारी पुरा भएको मानिन्छ ।विश्वमा बढ्दै गइरहेको प्राकृतिक प्रकोप, विभिन्न थरीका रोगव्याधि, मानवीय द्वन्द्वलगायत बढ्दो मानवीय असन्तुष्टि, लोभ, ईष्र्या, क्रोध आदिको पूर्ण निवारणको अपेक्षा सहित विश्व शान्ति र मानव मुक्तिको कामनाका साथ यो पूजा हुने गरेको आयोजकहरुको भनाइ छ ।

छेच्यु पूजाको सुरुवातमा  भूमि, प्राकृतिक स्रोत हिमाल, पहाड र बन तथा  पानीका स्रोतहरुको पूजा ‘साङ’ गरिन्छ, जसबाट नकारात्मक कर्म तथा शक्तिको निर्मूल हुने र सकारात्मक ऊर्जा थप हुने विश्वास गरिन्छ । 

यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिन्पोछेको प्रतीक  र अन्य विभिन्न देवीदेवताका मुद्राका मुकुण्डोहरू लगाएर धार्मिक पूजा गर्दै नाच्ने प्रचलन छ । जसलाई बाछ् याम भनिन्छ । धार्मिक नाचका लागि भने लामाहरू आफ्नो ज्ञानअनुसारको (न्हाम्सा) पोसाक लगाएर मात्र सहभागी हुने गर्दछन् । यसका लाागि बौद्धिक ज्ञान मात्र नभई आध्यात्मिक ज्ञानको पनि आवश्यक हुन्छ । 

छेच्यु पर्बका अवसरमा धार्मिक नाचको अलावा स्थानीयहरुले ह्योल्मो भाषामागीत गाएर सहभागी भएका थिए ।  बागमति प्रदेशका पूर्व मन्त्री निमा लामाका अनुसार छेच्युको गीत  अन्य उत्सवमा गाइने गीतभन्दा पृथक् हुन्छ । यस्तो गीत छेच्युको प्रारम्भमा लामा क्ष्याम वा बाक्ष्यामसँग सँगै गाउनुपर्छ, जसलाई थेन्ज्याम भनिन्छ । यो गीत जो जो स्यारा डेन्जोङ ङिमा गर्दे लामो स्वरमा विस्तारै गाउने गीत हो, सुरुको थेन्ज्याम सकिनेवित्तिकै लामालाई गीतकै बोलीमा आसन ग्रहण गराई सगुन चढाइन्छ जसलाई तेच्या वा तेरे गीत भनिन्छ । एक आपास हात समाती नाच्दै गाउने ‘गोमा फेमा फेस्यो ह्ये, साब्सी थाङला ल्हेमो च्यी, एको पेको’ गीतहरू गाउने गरिन्छ ।

पाँच दिनसम्म चलेको यो पूजाको अन्तिम दिन छेवाङ अभिषेक तथा आध्यात्मिक अमृत जल वितरण गरी वर्षभरि सुख, शान्ति तथा समृद्धिको कामना गरिएको थियो । हेलम्बु गाउपालिका वडा नम्बर २ स्थित सेर्माथाङमा आयोजित छेच्यु पुजामा देश विदेशमा भएका ह्योल्मोहरुको उपस्थिति थियो । ह्योल्मो परम्परा अनुसार हरेक बर्ष यसका आयोजकका रुपमा फरक फरक परिवारलाई चिवा (आयोजक) तोकिएको थियो । प्रथाजनित संस्था ह्युलठिम अनुसार यस्तो चिवा तोक्ने काम लामा र गोवाको संयुक्त बैठकबाट हुने गर्दछ । 

हेलम्बु क्षेत्रमा प्रथाजनित संस्था ह्युलठिमको परम्परा अनुसार नै गाउँले सहभागिता गराइएको हुन्छ । गाऊ सहभागिताका लागि प्रत्येक घरधुरीले नगद, रक्सी, दाउरालगायतका बस्तु प्रथाजनित संस्थालाई बुझाउने प्रथाजनित नियम रहेको छ । यस्तो नियममा सहभागि नहुनेलाई कारबाही स्वरुप दण्ड सजाय गरिने गरिएको भएता पनि हाल सम्म त्यस प्रकारको कारवाही गर्न नपरेको उर्गेन छ्योलिङ गुम्वाका लामा कर्माले बताउनु भयो । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin