तुम्खेवा र बाँस्कोटालाई अमर नेम्वाङ स्मृति साहित्य सम्मान 

Admin
Admin२८ माघ २०८०, आइतवार
तुम्खेवा र बाँस्कोटालाई अमर नेम्वाङ स्मृति साहित्य सम्मान 

पाँचथर पौवासार्ताप निवासी स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित अमर नेम्वाङ स्मृति साहित्य सम्मान तथा पुरस्कार सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा र नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ ।  तुम्खेवालाई आख्यान विधा र बाँस्कोटा नियात्रा लेखनमा अभ्यस्त भएकाले अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर पुरस्कारसहित  सो सम्मान अर्पण गरिएको हो ।

अमर नेम्वाङ साहित्य पुरस्कार तुम्खेवा र बाँस्कोटालाई उनीहरुलाई जनही नगद ५० हजार रुपैयाको पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो ।पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार हस्तान्तरण गर्नू भएको थियो । 

अमर नेम्वाङ लिम्बु स्मृति दिवसकै अवसरमा वितरण हुने अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति यो वर्ष ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई प्रदान गरिएको थियो ।  छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत पनि दिँदै आएको छ ।यो वर्ष आलागीमा ज्यान गुमाएका हिलिहाङ–७ का सेसे पन्दाक, फिदिम–५ का सनिप खाती, फाल्गुनन्द–१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ–७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै गत असार २ गते गएको बाढीपहिरोमा ज्यान गुमाएका हिलिहाङ–७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी सँगै फालेलुङ–४ की जुना सावदेन, फिदिम–१० का सन्जोग लोवा र फिदिम–५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो ।

साहित्य लेखनमा सिद्वहस्त व्यक्तित्वका रुपमा स्थापित अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो । 
उहाँको निधन पश्चात परिवारका सदस्यले स्थापना गरेको अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष स्मृति दिवसको अवसर पारेर स्रष्टा सम्मान, राहत वितरण र पुरस्कार वितरण गर्दै आएको छ ।

स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डा. देवी क्षेत्री दुलाल,मुनाराज सेर्मा,डा. गोविन्दराज भट्टराई, बीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा,श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसक्नु भएको छ । 
 

प्रतिक्रिया