इतिहास र वर्तमानः ओल्लो किरातको बुङनाम गढी र बनुङ अर्थात् बायुङ राई

कुब्जोङ किरात
कुब्जोङ किरात१९ माघ २०८०, शुक्रवार
बुङनाम गढीको पुनःनिर्मार्ण गर्नुअघि २०७४ सालमा कुन्तादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बानिया“ र लेखक दिपेन्द्र रुम्दाली राई रहेका छन् भने पछिल्लो पटक पुनःनिर्माण (२०७९) गरिएको फोटो लेखक कुम्भराज राईबाट प्राप्त भएको हो ।

१. ओल्लो किरात

६ सय वर्ष पहिले लेखिएको नेपाल वृत्तान्त (गोपालवंशावली) मा गोपालवंशी र महिषपालवंशी राजाहरू भएपछि बत्तीस किराती राजाले नेपालमा राज्य गरेको कथा उल्लिखित भएको छ, ती बत्तीसै राजाहरूको नाम र राजभोग वर्ष पनि त्यहाँ वर्णित छ । वंशावलीमा किरात राजाको उल्लेख पाइयो । पशुपतिपुराण, हिमवत्खण्ड आदि पुराण माहात्म्यका ग्रन्थमा किराती राजालाई जितेर लिच्छवि राजाले नेपालमा राज्य गर्नेछन् भन्ने भविष्यवाणी पाइएकोले र लिच्छविका प्रत्येक शिलालेखमा अड्डा–अदालतका, शासनसम्बन्धी र कर सम्बन्धी धेरै पारिभाषिक शब्द किरात भाषाकै उपलब्ध भएबाट पनि लिच्छवि आउनुभन्दा पहिले किरातीहरूले नेपालमा शासन गरेका थिए र तिनको शासन व्यवस्थित थियो भन्न पनि हामी सक्तैनौं । उनका समयका केही लिखित सामग्री अभिलेख पनि नपाइएबाट यसभन्दा पर अरू केही भन्न गाह्रो भएको छ । हामीले जान्दा ओल्लो किरात, पल्लो किरात र माझ किरातमा किरातका विभिन्न शाखा छरिएर बसिरहेका छन् । .. विशेष गरेर पल्लो किरातमा लिम्बू, माझ किरातमा राई किराती, ओल्लो किरातमा राई, सुनुवार सराबरी नै रहँदै आएका छन् । ओल्लो किरातको पश्चिमी पाहाडमा सुनुवार र दक्षिणको भित्री मधेसको घाँचमा दनुवार जाति रहेका छन् (नेपाल, ज्ञानमणि, नेपाल निरूपण, २०५५ः२८७)।

काठमाडौं पूर्व काभ्रेपलाञ्चोकदेखि दुधकोशी नदीको सीमासम्मको भूभागलाई ओल्ला किरात भनिन्थ्यो । ओल्लो किरातलाई पूर्व एक नम्बर, पूर्व दुई नम्बर र पूर्व तीन नम्बर भनेर चिनिन्थ्यो । त्यहाँ किरातहरूले शासन गरेका थिए । (ऐ.) यस आलेखमा पूर्व तीन नम्बर ओखलढुंगा जिल्लामा रहेको बुङनाम गढी र किराती राजा बुङ (बोनो) लाई लिएर चर्चा गर्न लागिएको छ । 

२. किल्ला वा गढी

किल्ला भन्नाले प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ, गढी, गढ, दुर्ग, खावा, कोट, सिमाना, साँध भनेर उल्लेख पाइन्छ । राज्य व्यवस्थाको सुरुआत भइसकेपछि किल्ला र दरबारहरू निर्माण गर्ने परिपाटीको पनि उद्भव भएको मानिन्छ । यसो गर्दा त्यो राज्य अथवा राजा सुरक्षित हुन सक्छ भन्ने भावनाबाटै किल्ला, गढ तथा दुर्गहरूको निर्माण गर्ने परिपाटीको सुरुआत भएको हो । यसैले किल्ला, गढ र दुर्ग शब्दले सुरक्षित बासस्थान अथवा शहरको सुरक्षात्मक रचनालाई इङ्गित गरेको हुन्छ (शर्मा, डिल्लीराज, नेपालको किल्लावास्तुकला, २०५५ः१)। अमरकोशमा राजा, अमात्य, मित्र, कोष, राष्ट्र, दुर्ग र सैन्य यी सात तत्वलाई राजाङ्ग भनिएको छ । नेपालको इतिहासमा गोपाल, महिषपाल, किरात, लिच्छविकाल, मल्लकालमा अनेकन किल्लाहरू निर्माण भएको उल्लेख छ । 

केही किरातीहरू काठमाडौं उपत्यका प्रवेश गरेनन् पूर्वक्षेत्रतिरै गढी तथा किल्लाहरू बनाएर बसे । पछिल्लो समयमा काठमाडौंमा लिच्छवि शासकहरूबाट युद्धपछि जबरजस्त खेदिएका किरातीहरू पनि अन्त्यमा पूर्वतिर आएर यस्तै गढी किल्ला बनाएर बसोबास गरेको बुझिन्छ । 

मल्लकालतिर धेरै राज्यहरू गठन हुनपुगे । पश्चिम खण्डतर्फ बाइसी राज्य, मध्यखण्डमा चौबिसी राज्यथिए । उपत्यकाभित्र काठमाडौं, भक्तपुर र पाटन गरी तीन राज्यथिए । पूर्वीखण्डमा विजयपुर, चौदण्डी राज्यहरू थिए । ती राज्यभित्र अनेक उपराज्यहरूमा रजौटाहरू थिए । पहाडी भू–भागमा छरिएका राज्य, उपराज्यहरूको सिमांकन गर्न र राज्यपालक जोगाउन, उपराज्यका रजौटाहरू जोगाउन अनेकन किल्ला, सानाठूला गढीहरू निर्माण गरिएका थिए । केही किरातीहरू काठमाडौं उपत्यका प्रवेश गरेनन् पूर्वक्षेत्रतिरै गढी तथा किल्लाहरू बनाएर बसे । पछिल्लो समयमा काठमाडौंमा लिच्छवि शासकहरूबाट युद्धपछि जबरजस्त खेदिएका किरातीहरू पनि अन्त्यमा पूर्वतिर आएर यस्तै गढी किल्ला बनाएर बसोबास गरेको बुझिन्छ ((चाम्लिङ, भोगीराज र राई, तारामणि (सम्पा.), किरात क्षेत्रका गढी, ‘केपिलासगढीउपर पृथ्वीनारायण शाहको आक्रमण’ चतुरभक्त राई, २०७४ः६)।

३. बुङ (बोनो) राजा, बुङनाम गढीमाथि आक्रमण

जनश्रुतिअनुसार कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले भीम मल्ललाई काजी (मन्त्री) नियुक्त गरे । भीम मल्ल चलाख र नेतृत्व कुशल थिए । त्यस समय राजा र काजीको मुख्य काममध्ये राज्य विस्तार अभियान चलाउनु हुन्थ्यो । भीम मल्लको नेतृत्वमा भक्तपुर पूर्वी भागमा राज्य विस्तार अभियान चलाए । त्यसमा ओखलढुंगा पनि गाभेका थिए । 
वर्तमान ओखलढुंगा जिल्ला सदरमुकाम पश्चिम मोलुङ गाउँपालिकाअन्तर्गत बुङ (बोनो) किरात राय (राई)ले राज्य गर्दथे । बुङ राजाको नाम अपभ्रंश भई बुङनाम भयो । बुङ राजा जनतामाझ लोकप्रिय थिए । निष्पक्ष न्याय दिनु उनको मुख्य गुणमध्ये एक थियो । सबैसँग समान व्यवहार गर्थे । जनता खुसी र प्रशन्न थिए । त्यहाँ जनतामा तीन भाषाको प्रभाव थियो । फ्रेलो मुन्धुमी भाषा, बायुङ भाषा र थारी भाषा (अन्य समुदायसँग बोलिने सम्पर्क भाषा) हुन्थ्यो । परिवारमा आमाको निर्णायक भूमिका हुन्थ्यो । जनताको मुख्य पेसा कृषि र पशुपालन थियो । उनीहरू सिकार खेल्न सिपालु, धनुवाण चलाउन निपूर्ण हुन्थे । जनताहरू मिहिनेती थिए । उनीहरूको आर्थिक अवस्था राम्रो थियो । 

विसं. १७०२ मा रामेछाप हुँदै साँघुटारबाट भीम मल्ल नेतृत्वको सैनिक डफ्फा ओखलढुंगा प्रवेश ग¥यो । भीम मल्ल अगाडि बढ्दै गए । उनीहरू सर गर्दै बुङनाम पुगे । बुङ राजाको दरबारमा अचानक आक्रमण गरे । बुङ राजाले कुनै तयारी गर्न पाएन । सैन्य रणनीतिअनुसार युद्ध लड्न नपाई हार भोग्नु प¥यो । ज्यादै कम संख्यामा रहेका सेनाको भरमा युद्ध लड्दा धनजनको क्षति व्यहोर्नु पर्ने भयो । बुङ राजाले भीम मल्लको फौजसँग आत्मसमर्पण गरेनन् । बुङ राजा दलबलसहित मोलुङखोलाको किनारै किनार ओर्लिए । दुधकोसी तरेर खोटाङको भुम्जु आसपासमा बस्न थाले । बुङनाममा रहेका रैतिहरू तितरबितर हुनपुगे । कोही बोनोहरू चिसंखुगढी माम्खा, नवलपुर पुगे । कोही चौरास भेगमा पुगे । काजी भीम मल्लको फौजले विना लडाइँ विजयप्राप्त गरेको खुसियालीमा बुङनाम राज्य केन्द्रको अधिनमा भएको घोषणा गरे (राई, वसन्त, ओखलढुंगाको ऐतिहासिक गढी, ‘चासुवा’ वर्ष १, अंक १, २०७८ः१३५)।

यो गढी सेनकालीन हो भन्ने विश्वास गरिन्छ । स्थानीयका अनुसार गढीमा बुङ्गे नामक किराती राजाले शासन गर्थे । त्यसलाई कोटगढी पनि भन्ने गरिन्थ्यो । अझै पनि यस गढीभन्दा मुनितिर कोटगाउँ नाम गरिएको गाउँ छ (राई, कुम्भराज, ओखलढुंगा ः तथ्य र इतिहास, २०७९ः ७९–८५)।

नेपालको पूर्वको भूगोलाई हेर्दा सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी, होङ्गुखोला, इङ्खखोला, ठोट्ने, रावाखोला, तापखोला, साप्सुखोला, सावाखोला, मेवाखोला, इर्खुवा, चिर्खुवा, पिखुवाखोला, याङटाङ, मुगाखोला, कोकाह, अरुणनदी, तमुरनदी, कमला, त्रियुवा जस्ता अनगिन्ती नदीखोलाहरूले छियाछिया पारेको भूमि, लिब्जु, भुम्जु, रुपाकोट, ऐसेलुखर्क, डुम्रे, हरिसे, बिस्काम, साल्पा, मैयुडाँडा, ट्याम्के सेल्मे, तुवाचुङ, पानधारे, सुन्तले, साँगुरीडाँडा, हिलेजस्ता कयौं डाँडाहरू जो एक डाँडाले छेकेपछि अर्को भूमि देख्न सकिंदैन । यस्ता क्षेत्रहरूमा आवातजावत गर्न कठिनाइ भएको कारणले पनि नजिकको पायक पर्ने इलाकालाई गढीको रूपमा शासकीय किल्ला स्थापित गरिएको पाइन्छ । सुरक्षाका दृष्टिले पनि किरातीहरूले तत्काल ठूलो शासकीय केन्द्र बनाउनुभन्दा सानाकेन्द्र बनाएर बस्नमा रुचाएको पाइन्छ । त्यस समयमा गढीको शासकहरू बीचमा पनि मेलमिलाप थिएन । त्यसैले एक गढीमाथिको आक्रमण अर्को गढीको लागि रमिता हेर्नुभन्दा अर्को कुनै काम भएन । तत्कालीन गढीमाथिको आक्रमणको इतिहासलाई हेर्दा आफूलाई पर्दा छिमेकीले साथ दिएको पाइन्न (राई, २०७४ः११)।

४. ओखलढुंगा नामाकरण

इतिहासमा ३२ किरात राजाले शासन गरेको उल्लेख पाइन्छ । ‘प्राचीन किरात राजा यलम्बरले पश्चिममा त्रिशुली नदीदेखि पूर्वमा टिस्टासम्म आफ्नो राज्यविस्तार गरेका थिए भन्ने अनुमान वा दावी सत्य भएको खण्डमा हालको ओखलढुंगा क्षेत्र पनि उक्त राज्यमा परेको हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ । अझसम्म पनि साधारण बोलीमा यो क्षेत्रलाई वल्लो किरात भनिने गरेकोबाट पनि किरातहरूको प्रभुत्व यस क्षेत्रमा रहेको अडकल गर्न गाह्रो पर्दैन (मेचीदेखि महाकाली भाग–१, पूर्वाञ्चल विकास क्षेत्र, २०३१, श्री ५ को सरकार सन्चार मन्त्रालय, सूचना विभाग, काठमाडौं, सिंहदरबार)।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ को १४ जिल्लामध्ये एक ओखलढुंगा हो । वि.सं. २०१८ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजित हुनु अगाडि ओखलढुंगा ‘पूर्व तीन नम्बर’ भनेर चिनिन्थ्यो (सूचना विभाग, २०३१)। किंवदन्तीअनुसार १७औं शताब्दीमा भीम मल्लको फौजले किरात शासकहरूलाई धपाए । फौजले लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ठूलो लाम्चो ढुंगामा कुटेर खाएका थिए । त्यो ढुंगामा खोपिल्टा प¥यो । त्यही ढुंगाको ओखल रहेको ठाउ“लाई ‘ओखलढुंगा’ भनिएको हो । 

वीर पुरुष भीम मल्लले कान्तिपुर पूर्व लाग्दा उनको फौज किराती सेनासँग भिडन्त हुन्छ र किराती सेनाले हार्छन् । ती किराती सेनाले जम्मा गरेका अन्नपात भीम मल्लका सेनाले फेला पार्छन् । अनि ती अन्नलाई ढुंगामा ओखल खोपी, काठका मुसल बनाइ अन्न कुटेर चामल– च्याख्ला आदि बनाइ खान्छन् । केही दिनको बसाइपछि कान्तिपुरे सेना अन्यत्र जान्छन् । कान्तिपुरे सेनाले छाडेर गएका ओखलहरू रहेको ठाउँलाई पछि ‘ओखलढुंगा’ भन्न थालिन्छ । हाल उक्त स्थानमा ‘ढुंगाका ओखलका प्रतीक’ राखिएका छन् । 

वीर पुरुष भीम मल्लले कान्तिपुर पूर्व लाग्दा उनको फौज किराती सेनासँग भिडन्त हुन्छ र किराती सेनाले हार्छन् । ती किराती सेनाले जम्मा गरेका अन्नपात भीम मल्लका सेनाले फेला पार्छन् । अनि ती अन्नलाई ढुंगामा ओखल खोपी, काठका मुसल बनाइ अन्न कुटेर चामल– च्याख्ला आदि बनाइ खान्छन् । केही दिनको बसाइपछि कान्तिपुरे सेना अन्यत्र जान्छन् । कान्तिपुरे सेनाले छाडेर गएका ओखलहरू रहेको ठाउँलाई पछि ‘ओखलढुंगा’ भन्न थालिन्छ । हाल उक्त स्थानमा ‘ढुंगाका ओखलका प्रतीक’ राखिएका छन् (बस्न्यात, डा. प्रेमसिंह, सेनापति काजी भीम मल्ल र ओखलढुंगा नामाकरण, २०८० जेठ २८ आइतबार, साँघुन्युज डटकम)।

५. काजी भीम मल्ल

लक्ष्मीनरसिंह मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन् । उनी राजा शिवसिंह मल्लको जेठा नाति तथा हरिहरसिंहको जेठा पुत्र थिए । उनका भाइ सिद्धिनरसिंह मल्ललाई राजा शिवसिंहले पाटनको राजा बनाएका थिए ।

राजा लक्ष्मीनरसिंह मल्लको समयमा काजी भीम मल्ल काठमाडौंका प्रसिद्ध व्यापारी थिए । नाताले भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनीज्वाइँ थिए । तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्लविरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके । ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए ।

आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले ‘नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्, दरबारमा कसैको पनि विवेक नरहोस्’ भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ । भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा ‘सतीको श्राप पाएको नेपाल’ भन्ने लोककथन बनेको छ (विकिपिडिया डट ओआरजी÷लक्ष्मीनरसिंह—मल्ल)।

६. बनुङ अर्थात् बायुङ राई

बुङ/बोनो/बुङ्गे राजाका सन्तान र रैती नै बायुङ राई हुन् भन्ने छ । बायुङ राईलाई विभिन्न भूगोलमा रुम्दाली, नेचाली, बायिङ, बनुङ र बाहिङ समेत भनेर चिनिन्छ भनेर उल्लेख गरेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले बाहिङ जातिको जनसंख्या ६५४७ रहेको छ । यसैगरी बाहिङ÷बायुङ मातृभाषा बोल्नेको जनसख्या १४४४९ जना रहेको छ । 

‘आदिम कालदेखि प्रयोग गरिएको मौलिक शब्द बायुङ हो तर पछिल्लो समयमा विभिन्न ठाउँ तथा जिल्लामा बसाईसराईको क्रममा ७–११ पुस्ता बितेपछि बायुङ नाम वा चिनारीलाई केही ठाउँहरूमा नेचाली, रुम्दाली, रदु, पाइलो, बाइङ, बनुङ, बायिङ, किराँती, रदी, रःदु, प्रोचा र बाहिङ भनेर पनि चिनिन्छ (राई, ज्ञान बायुङ, किरात बायुङ राई सुम्निखिमको स्थापना र औचित्य, ‘चासुवा’ वर्ष १, अंक १, २०७८ः१)। 

बुद्धिकुमार बायुङ राईले ‘किरात बायुङ राईको तुम्लोयालो’ (किरात बायुङ राईहरूको धर्म–संस्कार सँगालो, २०८०) मा दाप्सिनिङ (गोत्र)को चर्चा गर्नुभएको छ । ‘बायुङहरूको आफ्नो वंश र कुटुम्ब छुटाउनको लागि र शुभ–अशुभ कार्य गर्दा सार्थ बिजुवा नक्सोबाट उपचार गर्नुप¥यो भने आफ्नो दाप्सिनिङ (गोत्र) जानेको हुनुपर्छ ।’ भन्नु भएको छ । यसभित्र ४९ वटा दाप्सिनिङको चर्चा रहेको छ । त्यसमा ह्वङ्गुचा, रिःपोचा, मुलुवा, मोब्लोचा, रिनाम्सोचा, रुम्दाली, पियाचा, नोपो बोनो, थाम्रोचा, दिबुरिचा, खारादिबुरिचा, हजुपाचा, दुङ्मोचा, युन्बुचा, सुस्तोचा, नेचाली, सेचोचा, नाबेरसाचा, खारायुल्चा, ह्वलुन्दु, रोकेचा, मेर्साचा छन् । नाबेरसाचा (फाकु), गेल्दार्चा, तर्कसेचा, रल्लोचा, डेङ्पाचा, तोनिमी, नाबेरसाचा (दोस्रो र तेस्रो समूह), जयलोङ्चा छन् । यसैगरी जुबुलेजुगुलेबोनो, सल्लो बोनो, दिलिङ्बाचा, खाल्सेचा, मुनारिचा, प्रोङ्मोचा, दिलिङ्बाचा (साखा), परोचा, पियाचा, चाङा तोःलाचा, मोब्लोचा (देउसा थुलु), याखा बायुङ, मेर्साचा बायुङ, फ्याक्तिचा लगायत उल्लेख छन् । 

माथि उल्लेख बुङ अर्थात् बोनो राजाका सन्तान तथा रैतीहरू बुङ्नाम गाउँबाट उँबुचौरास क्षेत्रमा आएर बसोबास गरेकाहरू बोडोम भएर बसेका छन् । बोडोम अहिले वाम्बुले राईको एक पाछा भएर रहेका छन् । वाम्बुले राई बनेका छन् । सिकारी पुर्खाहरू बुङनाममा हारेर आएको पुर्खाले खाएको पानी (वान्टाकाकु) बोडोमहरूले खाँदैनन् । पिउँदैनन् भन्ने विश्वास रहेको छ । (राई, कृष्णजित, ब्वाचो फुरि (वाम्बुले राई भाषाको नाटक संग्रह, २०६८ः वान्टाकाकु ११–१६)।

ओखलढुंगाको मोली, पँखुलगायत गाउँमा बसोबास गर्नेले आफूलाई बाहिङ भनेर चिनाउँदछन् । खोटाङको चिचिङ्गा, च्यास्मिटार भुम्जु वरपर बसोबास गर्नेले बनुङ, नपो राई भनेर चिनाउँदछन् । कतिले रुम्दालीभनेर चिनाउँदछन् । इलाममा नेचालीभनेर चिनाउने गर्दछन् । सुनसरीतिर आफूलाई बायिङ भनेर चिनाउँदछन् । बनुङ, नपो, जुबुलेलगायत बायुङ राईको उपपाछा हुन् भन्ने छ ।

७. बुङनाम गढीको वर्तमान अवस्था

ऐतिहासिक नाम : बुङनाम गढी÷कोटगढी 
अहिलेको नाम : कुन्तादेवीको मन्दिर
स्थान : ओखलढुंगा सदरमुकामभन्दा पश्चिम (साबिक कुन्तादेवी गाविस–४) मोलुङ गाउँपालिका–१ कुन्तादेवी ।
स्थिति : मन्दिरसम्मै कच्ची सडक पुगेको छ ।
उचाई : समुद्री सतहदेखि करिब १३२० मिटर 
बनोट  : चौघेरा युद्धकालीन खाल्डो किल्ला घेरिएको र माथि मन्दिर रहेको ।
किंवदन्ती : बोनो अर्थात् बुङ्गा भन्ने राई राजाले शासन गरेका थिए । यस क्षेत्रलाई बुङनाम भनियो । तिनै बोनो राजाका सन्तान बोडोम राई हुन् भन्ने भनाइ छ । बोडोम राईहरू यत्रतत्र छरिएर रहेका छन् । पितृपूजा गर्दा भने यही बुङनामलाई पुख्र्यौली थलोका रूपमा मुन्धुम पुकार्दछन् ।

वर्तमान अवस्था

पश्चिमतर्फ केही भिरालो र वरिपरि रूखबिरूवाले घेरिएको यस गढी आसपासमा आहाल, पोखरी, पाटी र अन्य भग्नावशेष रहेका छन् । यस मन्दिरकै छेउमा वाग्ले, बानियाँ, ढकाल, भुजेल, तामाङ, भुजेल, गिरी जातिको बसोबास रहेको छ । कुन्तादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बानिया“का अनुसार यस मन्दिरमा मगरकी छोरी र बाहुनकी छोरीलाई देवीका रूपमा पूजा गर्ने गरिएको छ । मन्दिर क्षेत्रफल यकिन नभएपनि करिब १० रोपनी रहेको अनुमान गरिएको छ भने  मन्दिर गुठीको ४० मुरी र ६० मुरी माटो (जग्गा) अन्य व्यक्तिले बेचबिखन गरिसकेको जनाइएको छ । उधौली र उभौलीमा पूजाआजा गर्ने गरिन्छ । कुन्तादेवीलाई पर्यटकीय दृष्टिले विकास गर्ने लक्ष्य राखेर चरिचरण बन्द गरिएको छ भने पुरातत्व विभागबाट एक लाख रूपैयाँ सहयोगमा मन्दिर वरिपरि जिर्णोद्धार गरिएको छ । 

यो गढीसँगै पश्चिमतर्फको भू–भाग अतिक्रम गरी खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । गढीलाई मन्दिरको नाम दिइएको भएपनि ऐतिहासिकताबारे खासै चासो राखेको पाइदैन । यस थलोलाई पर्यटकीय विकास गर्न सकिने अवस्था छ । (चाम्लिङ, भोगीराज र राई, तारामणि (सम्पा.), किरात क्षेत्रका गढी , ‘ओखलढुंगाका गढीहरू’ गणेश वाम्बुले राई र दिपेन्द्र रुम्दाली राई, २०७४ः२१३–२१८)।

ऐतिहासिक गढी भनेर संरक्षण गर्ने नाममा इतिहास नै मेटिने काम हुनु पक्कै पनि निन्दनीय विषय हो । यसतर्फ नेपाल सरकारको तालुकदार मन्त्रालयका रूपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागको ध्यान पुगेको देखिदैन । संरक्षणको नाम प्रदेश सरकार र स्थानीय सरकारको बजेट लिएर उपभोक्ताले आफूखुसी गर्न मनासिब देखिदैन । 

बुङ्नामगढीमा करिब चारसय वर्षअघिसम्म बुङ्गे नामक किराती राजाले शासन गरेको भन्ने भनाइ छ । यो गढी कम्तीमा चार सयदेखि सात सय वर्ष पुरानो मानिन्छ । दुःखद् भनौं सुखद् । २०७८ सालमा यस गढीको पुनःनिर्माण र उत्खनन् भएको छ । तर त्यो बुङनामगढी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत मनोमानी ढंगले पुनःनिर्माण र उत्खनन् गरिएको हो । प्रदेश–१ सरकारको पर्यटन मन्त्रालयले पुरातत्व विभागसँग समन्व नगरी पुनःनिर्माण गरियो । पुनःनिर्माणका क्रममा पुराना ढुंगाको पर्खालका बँकर भत्काएर नयाँ कँक्रिटको पर्खाल निर्माण गरियो (राई, २०७९ः ८४)।

ऐतिहासिक गढी भनेर संरक्षण गर्ने नाममा इतिहास नै मेटिने काम हुनु पक्कै पनि निन्दनीय विषय हो । यसतर्फ नेपाल सरकारको तालुकदार मन्त्रालयका रूपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागको ध्यान पुगेको देखिदैन । संरक्षणको नाम प्रदेश सरकार र स्थानीय सरकारको बजेट लिएर उपभोक्ताले आफूखुसी गर्न मनासिब देखिदैन । 

८. निचोड

(क) बुङ/बोनो/बुङ्गे भन्ने किराती राजाको किंवदन्ती बोकेको ऐतिहासिक बुङनाम गढीको संरक्षण उचित ढंगले हुनुपर्दछ ।
(ख) बुङ/बोनो/बुङ्गे राजाका सन्तान या रैतीहरू जो जहाँ जस्तो अवस्थामा रहेका छन्, आफूलाई पुर्खाप्रति गर्व गर्ने, इतिहासको खोजी गरेर पहिचान संरक्षणमा प्रतिवद्ध रहन जरुरी छ ।
(ग) वर्तमानमा बुङनाम गढी आसपासमा किराती इतरका समुदायको बसोबास रहे पनि सम्बन्धित कथालाई हिन्दुकरण गरेर कुन्तादेवी बनाइए पनि सम्बन्धित किरात समुदायको इतिहासलाई संरक्षण गर्न संघ, प्रदेश र स्थानीय सरकारले पहल गर्न जरुरी छ ।
(घ) ऐतिहासिक तथा प्राचीन गढीलाई धार्मिक थलोका रूपमा नभई पुरातात्विक स्मारकका रूपमा रहन, विकास हुनुपर्छ । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात