किरात येले संवत्को भारी शुभकामना !

कुब्जोङ किरात
कुब्जोङ किरात१ माघ २०८०, सोमवार
किरात येले संवत्को भारी शुभकामना !

‘कःक्फेक्वा तङ्नाम साथै येले कुसङ तङ्बे (नयाँ वर्ष)को शुभकामना सम्पूर्णमा !’

याक्थुङ सांस्कृतिक अभियन्ता सेमिमा तुम्बाहाङ्फेमाले आफ्नो फेसबुक स्टाटसमा हिजो पुस अन्तिम दिन पोस्ट्याउनु भएको हो । कःक्वा (सेतो गुराँस)÷चिमालको फूलैफूलमाझ आफ्नो मुहारमुनि शुभकामना दिने र कमेन्ट्याउनेहरूको ओइरो छ । 
खड्का दिनविनोद येले कुसङ तङ्बे कति साल भयो होला ? अंक छुटाउनु भयो र जिज्ञासा लाग्यो ।

सेमिमा, म बिवादमा पर्न चाहन्न सर ! धन्यवाद ।

कुरो यहींबाट आरम्भ गरौं भन्ने लाग्यो । माघ १ गते किरात येले संवत्को पहिलो दिन हो । देश विदेशमा जहाँ जहाँ किरातीहरू छौं, त्यहाँ धुमधामसाथ नयाँ वर्ष मनाउने चलन छ । यसमा दुइमत छैन । छ त एउटै संवत्को दुई खाले मिति चलाइन्छ । यसरी दुइखाले मिति प्रयोग हुन थालेको सन् २००९ देखि हो । परम्परागत रूप समाजमा किरात संवत् ५०८४ र इतिहासविद्को मतानुसार किरात येले संवत् ३८०३ आरम्भ भएको छ । अर्थात् नयाँ वर्ष मनाइदैछ । त्यसैले कुन मिति प्रयोग गर्ने भन्नेबारे समाज दुइभागमा विभाजित छ । त्यसैले आदाङ्मा सेमिमा तुम्बाहाङ्फेमाले ‘म बिवादमा पर्न चाहन्न’ भन्नु भएको हो । 

लागौं चुरो कुरोतर्फ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजको संयुक्त सहभागिता रहेको किरात येले संवत् अध्ययन समन्वय समितिद्वारा सन् २००९ नोभेम्बर १४ र १५ तारिख काठमाडौंमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ आयोजना भयो । प्रसिद्ध मुन्धुमविद् बैरागी काइँलाको सभापतित्वमा सम्पन्न गोष्ठीमा इतिहासविद्त्रयजगदीशचन्द्र रेग्मी, मन्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईले यो संवत्लाई इतिहाससम्मत तथ्य पेश गर्नु भएको थियो । किरात येले संवत् निर्धारणका आधार यसरी मानिएको छ । पहिलो आधार ३२ पुस्ता किरात राजाहरूले शासन गरेका थिए, जुन शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको थियो । त्यसका प्रवर्तक यलम्बर (एलम्) हाङ थिए । 
दोस्रो आधार, किरातहरूको शासनको अन्त्य लिच्छवि राजा जय वर्माको पालामा भएको थियो, जुन प्रमाण काठमाडौंको मालीगाउँमा पाइको जय वर्माको सालिकमा उल्लेख अभिलेखबाट पुष्टि भएको थियो । उक्त सालिकको संवत् १०७ अथवा ई. १८५ हुन आउँने लैनसिंह बाङ्देलले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।

तेस्रो, जय वर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ । यस आधारमा ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ । यही १७७९ वर्ष ८ महिना (१७७९ वर्ष)मा हालको सन् २०२४ जोड्दा ३८०२।८ (अर्थात सन् २०२४ मा किरात येले वर्ष ३८०३) हुन्छ । यसरी माघे संक्रान्तिका दिनदेखि किरात येले संवत् ३८०३ सुरु हुन्छ । 
प्रा.डा. जगदीशचन्द्र रेग्मीले ‘नेपाली किरात जातिको गौरवपूर्ण इतिहासको परिप्रेक्षमा किरात येले संवत्को प्रचलन तथा संवैधानिक उपक्रम’ शीर्षक विचारपत्र प्रस्तुत गर्नु भएको थियो । रेग्मीद्वारा प्रस्तुत गोपालराजवंशावलीका आधारमा सूचिकृत गरिएका ३२ किरात राजाहरू र तिनको शासन अवधि यस प्रकार रहेको छ । 

१) राजा श्री एलम् (९० वर्ष)
२)राजा श्री पेलं (८१ वर्ष)
३)राजा श्री मेलं (८९ वर्ष)
४)राजा श्री चमिं (४२ वर्ष)
५) राजा श्री धस्कं (३७ वर्ष)
६) राजा श्री वलुंच (३१ वर्ष ६ महिना)
७) राजा श्री हुतिं (४० वर्ष ८ महिना)
८) राजा श्री हुरमा (५० वर्ष)
९) राजा श्री तुसके (४१ वर्ष ८ महिना)
१०) राजा श्री प्रसफुं (३८ वर्ष ६ महिना)
११) राजा श्री पवः (४६ वर्ष)
१२) राजा श्री दास्ती (४० वर्ष)
१३) राजा श्री चम्ब (७१ वर्ष)
१४)राजा श्री कंकं (५४ वर्ष)
१५) राजा श्री स्वनन्द (४० वर्ष ६ महिना)
१६) राजा श्री फुकों (५८ वर्ष)
१७)राजा श्री शिंघु (४९ वर्ष ६ महिना)
१८) राजा श्री जुलम् (७३ वर्ष ३ महिना)
१९)राजा श्री लुकं (४० वर्ष)
२०)राजा श्री थोरम (७१ वर्ष)
२१) राजा श्री थुको (८३ वर्ष)
२२)राजा श्री वर्म्म (७३ वर्ष ६ महिना)
२३) राजा श्री गुंजं (७२ वर्ष७ महिना)
२४)राजा श्री पुस्क (८१ वर्ष)
२५) राजा श्री त्यपमि (५४ वर्ष)
२६)राजा श्री मुगमम् (५८ वर्ष)
२७) राजा श्री शसरु (६३ वर्ष)
२८)राजा श्री गुंणं (७४ वर्ष)
२९) राजा श्री खिम्बु (७६ वर्ष)
३०)राजा श्री गिरिजं (८१ वर्ष)
३१) राजा श्री खुरांज (७८ वर्ष)
३२) राजा श्री खिगु (८५ वर्ष)
(स्रोतः किरात येले संवर अभिलेख, सम्पादक बलिराज खम्बु र अन्य, २०१०)

इतिहासविद् दिनेशराज पन्तले ‘प्रथम किरात राजा यलम्बरको समय’ नामक अनुसन्धानात्मकग्रन्थ लेख्नु भएको छ, जुन किताब नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०६९ सालमा छापिएको पाइन्छ । पन्तका अनुसार नेपालमा सबभन्दा पहिले चलेको संवत् सक संवत् हो, जुन विक्रम संवत् १३५ देखि चल्यो । त्यसयता अरु संवत् प्रचलनमा आएका हुन् । पृथ्वीनारायण शाहको प्रसंगमा आफूमाथि प्रथम किरात राजा यलम्बरको समय निर्धारणबारे प्रश्न सोधिने गरेको बताउनु हुन्छ । ‘प्रथम किरात राजा यलम्बरको समय दिनेशराज पन्तकोमा अपूर्णताको दोष हुन्छ, अशुद्धिको दोष हुँदैन भनेर लेख्छ भन्नुहुन्छ ? अर्को प्रमाण खण्डन आउनु प¥यो । हामीले किरातकाल भनेको के हो भने अहिले करिब अढाइसय अभिलेख लिच्छविकालका पाइएको छ । ती सबै संस्कृत भाषामा छन् । ती संस्कृत कति प्राञ्जल छ भने किरात श्रीहर्ष वाणहरूसँग जोडेर लाने संस्कृत छ । तर त्यहाँ करको नाममा सिंकर, कुथेर, लिंग्वल, मापचोक जस्ता यी किराँत परिवारको भाषा छ । त्यहाँबाट हाम्रा वंशावलीले पनि लिच्छवि आउनुभन्दा अगाडिको प्रसंग पशुपतिपुराणमा छ :
जित्वा कैरातराजानं वाक्येन प्रत्येयन च ।
करिस्यति तदा राज्यं वैशाल्यधिपतिर्बली ।१२।।
(वैशालीका बलवान् राजाले किराती राजालाई जिती बोलीवचनले विश्वास दिलाएर राज्य गर्नेछन् । लिच्छवि राजाहरूको यो राम्रो राज्यमा बाहिरबाट पनि दुनियाँहरू आउँछन् ।)

गोपालराजवंशावलीमा छः 
अथः सूर्यवम्सप्रभावात् नेपाले किरात राजा निज्र्जित्य ।। लिच्छवीवंस्स प्रवत्र्ततेः।। (अनि सूर्यवंशको प्रभावले नेपालमा किरात राजालाई जितेर लिच्छविवंश चल्यो ।)
किरातकाल रहेछ भन्ने प्रमाणित भयो । आजको प्रचण्ड प्रधानमन्त्री छन् । हिजो अर्कै थिए । यसलाई प्रमाणित गर्नु पर्दैन । तर पृथ्वीनारायण शाह वा यलम्बरका बारेमा अनुसन्धान गर्ने हो । जसले बढी परिश्रम ग¥यो, उसको राम्रो हुन्छ । राजा यलम्बरबारे इतिहासलाई केलाएर तथ्यमा टेक्न जरुरी छ ।’ (इतिहासविद् पन्तसँग २०८० पुस २६ गते गरिएको कुराकानी)

इतिहासविदका अनुसार पहिलो किरात राजा हाङ यलम्बर (एलम, इलम्ब, यलम्ब, यलिम्ब, येलुङ भनेर लेखिएको पाइन्छ)को स्मारक संवत् मान्दा किरात येले संवत् ३८०३ हुनआउँछ । समाजमा प्रचलित ५०८३ संवत् कलिगतमा आधारितमात्र हो, जुन इतिहासले प्रमाणित गर्दैन । तसर्थ, माघ १ गते ‘यलम्बर दिवस’लाई येले तङ्बे, येले दोङ, येले दुङ, येले थोचेलाई इतिहाससम्म एकरूपता कायम गर्न, गराउन किरातजन्य संघसंस्थाहरूको सामुहिक पहल हुन जरुरी छ । 
यलम्बर फाउन्डेसनको विज्ञप्तिः

किरात येले  संवत्को नव वर्ष ३८०३ को हार्दिक शुभकामना !

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !

गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा शुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ ।

हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात येले संवत्का सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येÞलेÞ संवत् अन्तरराष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ बैरागी काइँलाको प्राज्ञिक सारथि, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई. सं. १३८२ — १३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात येले संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) लाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन !

किरात जनलोकमा प्रचलित किरात येले संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा। रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात येले संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनस्र्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हुन आएको छ । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरूको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।

यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरी दिनुहुन्छ भन्ने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवत्को नयाँ वर्ष ३८०३ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येले संवत्को प्रामाणिक काल गणना ३८०३ (सन् २०२४) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात