मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगमा जोड, भाषा बाँचे मात्र संस्कृतिको संरक्षण हुने

Admin
Admin२१ मंसिर २०८०, बिहिवार
मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगमा जोड, भाषा बाँचे मात्र संस्कृतिको संरक्षण हुने

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा  ‘‘मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग’’ विषयक कार्यपत्रसहित विचार गोष्ठीको आयोजना  सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले गोष्ठीको उद्घाटन  गर्नुहुँदै  प्रत्येक जातजातिको मातृभाषा, संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र वहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्व, मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था, जन्म संस्कार, छेवर तथा गुन्यूचोलो संस्कार, विवाह संस्कार, मृत्यु संस्कार, मगर भाषाका कर्मकाण्डीय पुस्तक, पुजाआजा, मगरका ठान, मन्दिर, चाडवाड, नातापाता, खानाका परिकार, नाचगान, मगर संस्था, मगर दर्शन, विस्थापन र संस्कारमा मगर भाषाको प्रयोगका सम्बन्धमा बताउनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोष र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मन्तव्य दिनुँहुँदै संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाको प्रयोग कसरी भइरहेको छ र भाषा बोल्नमा किन ह्रास आइरहेको छ भन्ने कारण खोज्नेमा जोड दिँदै भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी दिनुभयो ।

कार्यक्रमका संस्कृतिविद् प्रा.डा.प्रेमकुमार खत्रीले प्रत्येक भाषा, संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैले गर्नुपर्ने र त्यसले मात्रै भाषा र संस्कृति बाँच्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘रोल्पाको मगरहरुको संस्कार थारु जातिले मान्दो रहेछ । कमजोर भएको संस्कृति भन्ने चलन छ । अमूर्त सम्पदा ज्यादै महत्वपूर्ण हुन्छ । भाषा संरक्षण गर्न सके संस्कृतिको समेत संरक्षण हुने बताउँदै आफूभन्दा नयाँ पीँढीलाई सानैदेखि सिकाउन सके संरक्षण गर्न सिकिन्छ ।’ 

जनसंख्याविद् उत्तम नारायण मल्लले मगरहरूको जनसंख्या घटेको नभई वृद्धिदर मात्र घटेको बताउनुभयो । मगरहरू सक्रिय भएको भए वृद्धिदरमा समेत बढाउन सक्ने भनाई राख्नुभयो ।    
यसैक्रममा भाषाविद् पूर्ण रानाले कार्यपत्रमाथि टिप्पणी गर्दै मगरहरुको मृत्यु संस्कारमा संस्कार गर्दा डोको भित्र पिठो छरेर डोकाले छोप्ने चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो डोकाले छोपेको ठाउँमा पाइतालाको डोब देखिएमा स्वर्ग गएको भनि ठान्ने किम्बादन्ती रहेको धारणा राख्नुभयो ।

आदिवासी अधिकारकर्मी सञ्जोग लाफा मगरले डोल्पाको काइके गाउँपालिकामा सबैले काइके बोल्छ जन्मदेखि मृत्युसम्म जनगणना मिथ्याङ्क भएको आरोप लगाउनुभयो । मगरले थप्दै भन्नुभयो ‘मगरहरुको संस्था भेजा एकदम शक्तिशाली छ । सिङ र डी मगरहरुको विशेषतासँग जोडिएको छ । रुख काट्नु भनेको मातृहत्या बराबर हो । वन भनेको बाँध घर भनेको ओडार हो । प्रकृति पुजक भएकाले दर्शन ढुंगाबाट आगो निस्कन्छ । जसलाई मगरहरुले शक्तिको रुपमा लिने गरेको छ ।’ 

मगर भाषा, संस्कृतिक विज्ञ, अभियन्ताहरु सुरेन्द्र थापा, डा.लालबहादुर पुन मगर, नरकुमारी घर्तीमगर, हेमबहादुर पुलामी मगर, माया रोका मगर, आ–आफ्नो धारणा कार्यपत्रमा छुटेका विषयहरुमाथि प्रथाजनित विषयहरु राखेर कार्यपत्रलाई मूर्त रुप दिन सुझाव दिनुभएको थियो । 
 

प्रतिक्रिया