यसरी हुँदैछ, बान्तावा भाषाको १९औं कविता प्रतियोगिता

कुब्जोङ किरात
कुब्जोङ किरात२ मंसिर २०८०, शनिवार
यसरी हुँदैछ, बान्तावा भाषाको १९औं कविता प्रतियोगिता

‘बान्तावा साहित्य गतिविधि बढाउन बुङ्वाखा मूल अक्षयकोष निर्माण गरी अहिले ६५ लाख रुपैयाँ जति रकम संकलन गरिएको छ’

काठमाडौं– यही मंसिर २३ र २४ गते बान्तावा भाषाको ‘१९औं कविता प्रतियोगिता–२०८०’ हुने तयारी छ । यो पटक खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी गाउँमा हुँदैछ । खोटाङ जिल्लामा पहिलो पटक बान्तावा भाषाको कविता प्रतियोगिता हुन लागेको हो । बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ पत्रिकाको स्थापना दिवसको अवसरमा कविता प्रतियोगिता गरिदै आएको छ । 

रामप्रसाद राईको नेतृत्वमा २००७ मंसिर २४ गते राणाहरूको पन्जाबाट भोजपुर मुक्त गरिएको दिन हो । यही ऐतिहासिक दिवसलाई रोजेर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ‘बुङ्वाखा’ पत्रिका दर्ता गरिएको हो, २०६१ मंसिर २४ गते । दर्ता गर्दा प्रकाशन/सम्पादक चन्द्रकुमार राई हुनुहुन्थ्यो भने कार्यकारी सम्पादक पदमकुमार राई (पदम वालाहाङ) रहनु भएको थियो । स्नातक उत्तीर्णपछि बुङ्वाखाको प्रकाशन तथा सम्पादकको सम्पूर्ण भूमिका पदमकुमार राईले लिनु भएको छ । 

पदम राई बान्तावा मातृभाषाका निम्ति पूर्णकालीन सम्पादक, प्रकाशक, लेखक हुन् । त्रिभुवन विश्वविद्यालयबाट भाषाशास्त्र विषयमा स्नातकोत्तर हासिल पदमले दर्जनभन्दा बढी विभिन्न भाषाको वर्णपहिचानसमेत गरेका छन् । उनको ‘बुङ्वाखाआ बान्तावा यÞङ खुयुङ’ (कथा, सन् २००९), ‘लादिप्मा’ (बान्तावा कवितासङ्ग्रह, सन् २००९), ‘सेमुना साकेन्वा लाकछाम’ (सह–सङ्कलन सन् २०११), ‘हाङ्पोक सिन्मायु’ (बान्तावा बाल–सन्दर्भ सामग्री, पाठ्यक्रम विकास केन्द्र, सन् २०११), ‘बान्तावा सचित्र शब्दसङ्ग्रह’ (सन् २०१२) र ‘किरावा सान्दिवा’ (बान्तावा संस्मरणसङ्ग्रह, सन् २०१७) कृति प्रकाशित छन् । 
बुङ्वाखाको पहिलो स्थापना दिवस २०६२ मंसिर २४ गते ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श माविको सभा कक्षमा बान्तावा भाषाको कविता प्रतियोगिता गरी मनाइएको थियो । दोस्रो, २०६३ पुस १ गते ललितपुरको सानेपास्थित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान हलमा भएको थियो ।

तेस्रो, २०६४ मंसिर २९ गते जावलाखेलस्थित स्टाफ कलेजको हलमा भएको थियो । चौथो, २०६५ पुस १९ गते काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा भएको थियो । पाँचौं, २०६६ चैत २८ गते इलामको इलाम बजारमा सहिद रत्नकुमार बान्तावाको स्मृतिमा भएको थियो ।

यही मंसिर २३ र २४ गते बान्तावा भाषाको ‘१९औं कविता प्रतियोगिता–२०८०’ हुने तयारी छ । यो पटक खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी गाउँमा हुँदैछ । खोटाङ जिल्लामा पहिलो पटक बान्तावा भाषाको कविता प्रतियोगिता हुन लागेको हो ।

छैटौं, २०६७ मंसिर २४ गते भोजपुरको घोरेटारमा भएको थियो । सातौं, २०६८ मंसिर २४ गते धनकुटाको धनकुटा बजारमा भएको थियो । आठौं, २०६९ मंसिर २३ गते सुनसरीको धरानस्थित यलम्बर स्मृति भवनमा भएको थियो । नवौं, २०७० चैत २२ गते पाँचथरको रविमा सम्पन्न भएको थियो । दसौं, २०७१ माघ २ गते ललितपुरको मानभनवस्थित एक पार्टी प्यालेसमा भएको थियो ।

एघारौं, २०७२ फागुन १ गते झापाको दमकमा भएको थियो । बाह्रौं, २०७३ मंसिर २४ गते उदयपुरको बेलटारमा भएको थियो । तेह्रौं, २०७४ पुस ८ गते मोरङको उर्लाबारीमा भएको थियो । स्थानीय निर्वाचनले पछाडि सारिएको थियो । 

चौधौं, २०७५ मंसिर २४ गते इलामको माईमझुवामा भएको थियो । पन्ध्रौं, २०७६ मंसिर २३ र २४ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो । सोह्रौं, २०७७ चैत २६ सुनसरीको इटहरीमा भएको थियो । कोरोना महामारीले मिति पछाडि धकेलिएको थियो । 

सत्रौं, २०७८ मंसिर २३ र २४ गते भोजपुरको आमचोक बालँखामा भएको थियो । अठारौं, २०७९ मंसिर २३ र २४ गते धनकुटाको सहिदभूमि गाउँपालिकाको पिप्लेमा भएको थियो । 
सम्पादक पदमका अनुसार चार वर्ष उपत्यका बाहिर र पाँचौं वर्षमा संघीय राजधानी काठमाडौं उपत्यकामा सम्पन्न गर्ने नीति रहेको छ । उपत्यका बाहिर बान्तावा भाषीको सघन बसोबास रहेको ठाउँमा सम्पन्न गर्ने गरिन्छ । बान्तावा भाषामा हतुवाली, आमचोके र दिल्पाली भाषिका बोलिन्छ । फरक ठाउँमा गर्नु भनेको सम्बन्धित भाषिक समुदाय समेटिने गरेको छ । बान्तावाको नजिकको भाषाहरूमा पुमा, छिन्ताङ, छिलिङ, दुङ्माली लगायत पर्छन् । 

बान्तावा कविता प्रतियोगिताको सुरुवाती चरणमा पहिलो ५ सय, दोस्रो ३ सय र तेस्रो २ सय रुपैयाँ राशिको पुरस्कार दिइएको थियो । अहिले पहिलो पुरस्कारको राशि २० हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार रुपैयाँ रहेको छ । 

पहिलो पुरस्कार प्राप्त कविमध्ये असीम बान्तावाले कविता संग्रह र अन्य विधाका कृति प्रकाशित गरेका छन् । अरु दोस्रो र तेस्रो हुने बान्तावा कविहरू मातृभाषाका कविता र अन्य विधाको कृति प्रकाशित गरेका छन् । 

पहिलो पुरस्कार प्राप्त कविमध्ये असीम बान्तावाले कविता संग्रह र अन्य विधाका कृति प्रकाशित गरेका छन् । अरु दोस्रो र तेस्रो हुने बान्तावा कविहरू मातृभाषाका कविता र अन्य विधाको कृति प्रकाशित गरेका छन् । 

बुङ्वाखा मासिक पत्रिका प्रकाशन भएयता बान्तावा भाषामा करिब ७० वटा कृति प्रकाशनमा आएका छन् । त्यसमध्ये १२ वटा जति कविता संग्रह छन् । एक वर्षमा ८ वटा कृति एकसाथ विमोचन गरेका छौं । 
‘सुरुमा चन्दा उठाएर पुरस्कार वितरण गथ्र्याैं । त्यसरी वर्षेनी चन्दा उठाउन अप्ठारो लागेपछि ‘बुङ्वाखा मूल अक्षयकोष निर्माण’ अभियान सुरु ग¥यौं,’ समुदायलाई गुहारेर मातृभाषा अभियानलाई अघि बढाएको उल्लेख गर्दै पदम राई भन्नुहुन्छ, ‘अहिले समुदायलाई गुहारेर मूल अक्षयकोषमा ६५ लाख रुपैयाँ जति रकम संकलन गरिएको छ । त्यसको ब्याजबाट कार्यक्रम संचालन गर्ने गरिएको छ ।’ बुङ्वाखा पत्रिका प्रेस काउन्सिलबाट ‘क’ वर्गमा वर्गीकृत छ । काउन्सिलबाट प्राप्त रकम, वार्षिक ग्राहक रकम र विज्ञापनबाट यो पत्रिका प्रकाशन गरेको उहाँको भनाइ छ । अहिले ‘बुङ्वाखा’ मासिक वर्ष १९, पूर्णाङ्क २२४, २०८० कात्तिक प्रकाशित छ भने पूर्णाङ्क २२५ लाई १९औं कविता प्रतियोगिता स्थलमा वितरण गरिनेछ । 

पछिल्लो वर्षमा बान्तावा साहित्य महोत्सव संचालनका निम्ति स्थानीय तह पालिकाको सहयोग, नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम संचालन गर्ने गरिएको छ । यो पटकको प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्ट १९ रचना कविले वाचन गर्नेछन् । छनोटमा परेका कविताका स्रष्टालाई यातायात, खान, बास र पारिश्रमिकको समेत दिने सूचनामा उल्लेख छ ।

‘कविता प्रतियोगिताको मुख्य उपलब्धी यही हो भन्ने मापन भएको छैन,’ बान्तावा भाषा लेखनमा विधागत रूपमा कविता बढी आएकाले प्रतियोगिता गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘तर, वाम्बुले राईले अघिदेखि नै वाम्बुले कविता प्रतियोगिता गर्दै आउनु भएको पाइयो । अहिले २३औं वाम्बुले भाषा यही मंसिर २० गते धरानमा हुने जानकारीमा आएको छ । अहिले हामी बान्तावा कवितामात्र नभई साहित्य, संस्कृति महोसत्वका रूपमा अघि बढाएका छौं । लेखनको चेतना अझै उठ्न सकेको छैन । उठौं, जागौं भन्नैमै छ । केहीले वैचारिक लेखनको सुरुवात गरेको पाइन्छ ।’

दुई दिने कार्यक्रममा बान्तावा भाषा, साहित्य, कला, संस्कृतिक, बिनायो बजाउने प्रतियोगिता, स्थानीय भौगोलिक अवस्थितिबारे विमर्श गर्ने गरिएको छ । यो वर्ष जन्तेढुंगामै गएर त्यसको ऐतिहासिकता, त्यसको किरातीहरूसँगको मिथकीय सम्बन्ध आदिबारे विमर्श गर्ने सम्पादक राईले जनाएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार बान्तावा भाषा बोल्नेको जनसंख्या १ लाख ३८ हजार ३ जना रहेको छ ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात