सरकारी अधिकारीलाई भेट्दै नभेटी संयुक्त राष्ट्रसंघीय विशेष समाधिक्षक नेपाल भ्रमण सकेर फर्किए

Admin
Admin२ असोज २०८०, मङ्गलवार
सरकारी अधिकारीलाई भेट्दै नभेटी संयुक्त राष्ट्रसंघीय विशेष समाधिक्षक नेपाल भ्रमण सकेर फर्किए

आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय विशेष समाधिक्षक होसे फ्रान्सीस्को कालित्जेको नेपाल भ्रमण  सकिएको छ । उहाँ आइतवार उहाँको आफनो मुलुक ग्वाटेमाला फर्किनु भएको छ । विशुद्ध प्राज्ञिक भनिएको सो भ्रमणका क्रममा नेपालमा भइरहेको आदिवासी जनजाति विरुद्ध हुने विभेद र समस्याको अनौपचारिक अध्ययन गर्नु भएको छ । 

विशेष समाधिक्षक होसे फ्रान्सीस्को कालित्जले नेपालका आदिवासीहरुका प्रतिनिधिमूलक संस्थाहरुसंग सम्वाद तथा अन्तरक्रियाहरु गर्नू भएको छ  भने प्रदेश पुननामाकरणका लागि आन्दोलन भइरहेको १ नम्बर प्रदेशको विर्तामोड, धरान तथा तेह्रथुमको बशन्तपुरसम्मको भ्रमण गरी आन्दोलनरत स्थानीय अगुवासंग पनि सम्वाद गर्नू भएको छ ।  उहाँले तेह्रथुमको तीनजुरे मिल्केमा रहेको बन क्षेत्रको पनि अवलोकन गर्नू भएको छ । तीनजुरे मिल्के बन क्षेत्रमा आदिवासी र सरकार बीच विवाद रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राइका अनुसार उहाँको अनौपचारिक र प्राज्ञिक भ्रमण भएको भएतापनि यहाँका आदिवासी जनजातिहरु उत्साहित भएका छन् । यहाँका आदिवासीको मुद्धा र  सरोकारका बारे चासो राख्नु भयो । 

उहाँ राजधानी काठमाडौमा रहँदा आदिवासी जनजातिहरुका संघसंस्था र  त्रिभूवन विश्व बिद्यालय मानवशास्त्र बिभागले आयोजना गरेको आदिवासी र विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको थियो । 

सम्वादका क्रममा आदिवासीहरुको मानव अधिकारको उल्लघनका घटनामा चासोका साथ उहाँले प्रश्नहरु सोध्नु भएको थियो । भ्रमणका क्रममा सरकारी अधिकारीहरुसंग भने उहाँले भेट गर्नु भएन । 
उहाँले पटक पटक आफनो भ्रमण अनौपचारिक र प्राज्ञिक भएको हुँदा सम्वादमा व्यक्त विचार तथा धारणाहरु राष्टसंघीय प्रतिबेदनमा आउन नसक्ने बताउनु भएको थियो । 

तथापि उहाँले नेपालका आदिवासीको अधिकार सम्बन्धि कुटनीतिक ढंगले सम्बोधन गर्दै नेपाल पक्षराष्ट बनेका अन्र्तराष्टिय महासन्धीहरुले सुनिश्चित गरेका अधिकारहरु नेपालले कार्यन्वयन गर्ने विश्वास व्यक्त गर्नू भएको थियो ।  

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागले आयोजना गरेको एक अनतरक्रिया कार्यक्रममा संयुक्त राष्टसंघीय विशेष समाधिक्षक होसे फ्रान्सीस्कोेले नेपालका आदिवासीहरुको मानव अधिकार उल्लघनका घटनामा नेपालबाट संयुक्त राष्ट्र संघमा उजुरी आएको बताउनु भएको थियो ।  

इन्भेस्टमेन्ट वैंकको लगानीमा संचालित मस्र्याङदी कोरिडोर ट्रान्समिसन लाईन परियोजनाबाट त्यहाँका आदिवासीको अधिकार हनन गरेको सूचना संयुक्त राष्टसंघ मानव अधिकार उच्च आयोगमा प्राप्त भएको उहाँले जानकारी गराउनु भएको थियो । 

उहाँले सम्बोधनका क्रममा आदिवासीहरुको थाँतथलोहरुमा विकास निर्माण गरिँदा आदिवासी जनजातिहरुको मानव अधिकार चरम उल्लंघन भएका विश्वको अनुभवहरु पनि सुनाउनु भएको थियो । 
उहाँले विगतमा आदिवासीको मानव अधिकार उल्लघनका घटनामा मुद्धाको सुनुवाई गरी संयुक्त राष्टसंघको महासभा र मानव अधिकार परिषदलाई बुझाइएको प्रतिवेदनबारे जानकारी गराउनु भएको थियो । 

होसे फ्रान्सीस्को कालित्जे, ग्वाटेमालाका मायान काचिकेल आदिवासीका प्रतिनिधि हुनुहुन्छ । उहाँ सन् २०२० मार्चमा संयुक्त राष्टसंघको आदिवासी जनजातिको विशेष समाधिक्षक नियुक्त हुनुभएको हो । सन् १९८० को दशकदेखि संयुक्त राष्टसंघ र अन्तराष्ट्रिय मञ्चहरुमा आदिवासीको सवाल र अधिकार प्रवद्र्धनमा संलग्न होसेले १६ वर्षसम्म सवैखाले जातीय विभेद उन्मुलन समितिमा अध्यक्षको जिम्मेवारी सम्हानुभएको थियो ।

एआइपीपीका महासचिव पनि साथमा 
संयुक्त राष्टसंघीय विशेष समाधिक्षक होसे फ्रान्सीस्कोको कार्यक्रममा एशियाका आदिवासीहरुको छाता संगठन, एशिया इन्डीजीनीयस पिपुल्स प्याक्ट (एआइपीपी) का महासचिव ग्याम सिम्रे र आदिवासी मामिलामा अन्तराष्ट्रिय कार्य समूह, इगीयाकी कार्यकारी निेर्देशक काथ्रिन वेस्सेन्डफ पनि  साथमा हुनु हुन्थ्यो । 

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा   एआइपीपीका महासचिव ग्यामले नेपाललगायत एशियाका विभिन्न मुलुकहरुमा विकास आयोजनाका नाममा सरकार र नीजि लगानीकर्ताहरुले आदिवासीको भूमि र स्रोतसाधनको दोहन गरेको उल्लेख गर्नु भयो । 

उहाँले संयुक्त राष्टसंघको आदिवासी जनजातिको विशेष समाधिक्षक होसे फ्रान्सीस्को कालित्जेलाई यो विषयलाई अन्र्तराष्टिय मन्चहरुमा विशेषरुपमा उठाउन आग्रह गर्नुभयो । 
उता इगीयाकी कार्यकारी निेर्देशक काथ्रिन भने आदिवासी जनजातिका संघ संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनु भएको थियो । सो कार्यक्रममा विशेष समाधिक्षक होसे संगै सम्बोधन गर्नु भएको थियो । 

कार्यक्रमहरुमा नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह, लाहुर्निपका उपाध्यक्ष, अधिवक्ता शंकर लिम्बु र समाजशास्त्री डा. कृष्ण बहादुर भट्टचनले कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

आदिवासी मानवअधिकार हननको सूचि  
आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्टसंघीय विशेष समाधिक्षक होसे फ्रान्सीस्को कालित्जेलाई आदिवासीजन्य संघ संस्थाहरु र आदिवासी आन्दोलनका घटकहरुले नेपालका आदिवासी जनजातिका मानव अधिकार उल्लघनका घटनाको विवरणहरु प्रस्तुत गरेका थिए । 

प्रस्तुतकर्ताहरुले नेपालका आदिवासीहरु विकासका नाममा भएको ज्यादतीबाट विस्थापित हुनु परेको, उचित मुआव्जा र क्षतिपूर्ती विना नै घर जग्गा लगायतका निजी र सार्वजनिक सम्पति कव्जा गरिएको विवरण सुनाउनु भएको थियो । 

खास गरेर नेपालको जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा, बन जंगल र बन्यजन्तु संरक्षणका नाममा निकुन्ज तथा आरक्षहरुबाट पीडित हुनु परेको पीडितहरुले बताउनु भएको थियो । 
समग्रमा कार्यक्रममा संयुक्त राष्टसंघीय विशेष समाधिक्षक होसे फ्रान्सीस्को कालित्जेको नेपाल भ्रमणबाट आदिवासीजन्य संघसंस्थाका प्रतिनिधिहरु उत्साहित भएका थिए । 

प्रतिक्रिया