चिनिया राजदुत छेन र कुलपति राईद्वारा चिनिया साहित्यको अनुवाद कृति संयुक्त लोकार्पण  

Admin
Admin२० भदौ २०८०, बुधवार
चिनिया राजदुत छेन र कुलपति राईद्वारा चिनिया साहित्यको अनुवाद कृति संयुक्त लोकार्पण  

“चिनियाँ साहित्यको वर्तमान अवस्था” नामक कृतिको एक सार्वजनिक कार्यक्रममा लोकार्पण भएको छ । समकालीन चिनिया साहित्य सम्बन्धि समालोचनात्मक लेखसंग्रहका रुपमा प्रस्तुत गरिएको सो कृतिमा १२ जना चिनियाँ लेखकका १४ वटा लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकासित गरिएको छ । 

चीनमा अध्ययन गरेर नेपाल फर्किएका स्नातकहरुको संंस्था अरनिको समाजले आयोजना गरेको लोकार्पण समारोहमा नेपालका लागि चिनियाँ राजदुत छेन् सङ र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल किरातीले संयुक्त रुपमा सो कृतिको लोकार्पण गर्नू भएको हो । 

लोकार्पण समारोहमा बोल्दै राजदुत छेन् सङले रेशम मार्ग, नदी र हिमालले जोडिएको नेपाल र चीनको सम्बन्ध साँस्कृतिक रुपमा पनि जोडिएको बिचार राख्नु भयो । चीन नयाँ युगमा प्रवेश गरिसकेको बताउँदै दुइ देश बीचको सभ्यतालाई आदान प्रदान गर्ने काममा साहित्यको भूमिका महत्वपूर्ण हुने राजदुत छेनले बताउनु भयो । 

यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले चिनिया साहित्यको अनुवाद नेपालीमा गर्ने र नेपाली साहित्य चिनियाँ भाषामा अनुवाद गर्ने काम अभियानका रुपमा थालिएको जानकारी गराउनु भयो । 

उहाँले दुवै देशलाई बुझनका लागि साहित्यले महत्वपूर्ण योगदान दिने बताउँदै अरनिको समाजको प्रशंसा गर्नू भयो । “चिनिया साहित्यको बर्तमान अवस्था” नामक सो कृति डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गर्नू भएको हो । यसको सम्पादन चिनिया लेखक रेन्मङले गर्नू भएको हो । 

अनुवादक सर्वोत्तम श्रेष्ठले यस अघि चिनिया निवन्धसंग्रह “छाङचियाङ नदी पूर्वतिर बग्दैछिन्” र चिनिया लेखक छाओ चियान्स्य्वीनको “मन जव चराको गुँडबाट निस्केर उड्छ” लगायत पाँच कृतिको अनुवाद भइसकेको छ । 

लोकार्पण समारोहमा कृतिाको समीक्षा गर्दै प्रा. धर्मदेश्वर प्रधान, शिक्षाविद् अजिव बनेपाली र उपप्राध्यापक बच्चु भट्टराईले नेपाली भाषामा प्रस्तुत भएको कृतिले नेपाली पाठकलाई फाइदा पुग्ने बताउनु भएको थियो । 

“चिनिया साहित्यको वर्तमान अवस्था” नामका अनुवादित कृति चिनिया साहित्यमा आएको उतार चढाव र बिधागत चुनौतिका बारे विवेचना गरिएको छ । य्वी खःस्य्वीनले चिनिया भाषाका  उपन्यास विधाको समालोचना गर्दै चिनिया उपन्यासकारिता ले शास्त्रीय परम्परातर्फ फड्को मारेको विश्लेषण गर्नू भएकोछ ।

यसरी नै छाइ चियाय्वीयानको “गैर आख्यानबारे पुनविचार”, याङ पीनको “ग्रामिण चीनको स्वच्छन्दतावादी अभिव्यक्ति”, छेन मेइलानको “चलायमान वक्र रेखा”, फान सीङको “समकालीन साहित्यमा उच्छृङलता र उग्रताकोवर्णन”,  शेन् च्याताको “बजारमूखि अर्थव्यबस्थाको युगमा व्यक्तिगत अभिव्यक्ति”, शेन च्याताकै “प्रशासनिक विषयबस्तुका आख्यान साहित्य”, रेन्मङको “नयाँ कविताको विकास”, हुवाङ कोइय्वीयानको “चिनिया नयाँ कविताको विकास बारे चिन्तन”, वाङ् सीन्मीन्को “समकालीन काव्यवाट के कुरा लोप भएको छ ?”, वाङ पीङको “निवन्धको विलक्षण युग”, छेन् चियानहोइको “४० बर्षका निवन्धहरुको अध्ययन”, रेनमङको “इन्टरनेट युगमा चिनिया निवन्धको विकासका दिशाहरु”, र छेन तिङचियाको “चिनिया अनलाइन साहित्यको २० बर्ष” लगायतका समालोचनाहरु संग्रहमा परेका छन् । 

पुस्तकमा पुस्तकका सम्पादक रेन्मङ्ले  नेपाली पाठकहरुलाई पत्र र अनुवादक डा. सर्वोत्तम श्रेष्ठले अनुवादको पृष्ठभूमिबारे आलेख लेख्नु भएको छ । पुस्तकको परिशिष्टमा चिनिया कवि, लेखक, समालोचकहरुको संक्ष्प्ति परिचय पनि दिइएको छ । 


 

प्रतिक्रिया