तामाङ घेदुङको आठौं महाधिवेन नजिकिदै\आगामि नीति र नेतृत्वबारे बहस

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ चैत २०७१, सोमवार

विष्णु मोक्तान
चैत २३, काठमण्डौं ।
नेपाल तामाङ घेदुङको सांगठनिक संरचना र नीतिमा परिवर्तन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । घेदुङको आठौँ महाधिवेशनको सन्दर्भमा आइतबार तामाङ सञ्चार समूहले आयोजना गरेको ‘नेपाल तामाङ घेदुङको नयाँ नीति र नेतृत्व’ विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मानवशास्त्री डा. मुक्तसिं लामाले घेदुङको केन्द्रीय कार्यकारिणी समितिमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अवलम्वन गर्नुपर्ने बताए । डा. लामाले घेदुङको संगठनात्मक सुधार, लोकतान्त्रीकरण र सबैले अपनत्व महशुस गर्न सक्ने वातावरण बनाउन समानुपातिक समावेशीताको सिद्धान्त जरुरी रहेकोमा जोड दिएका छन् ।

media

घेदुङको भावी नेतृत्व तामाङहरुको बहुल आकाक्षांहरुलाई संश्लेषण गरी नीति र अभियान तय गर्ने, आदिवासी जनजाति आन्दोलनमा सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्ने हुनुपर्नेमा उनले जोड दिए । डा. लामाले कार्यपत्रमा घेदुङले आगामी दिनमा सुधारगर्नुपर्ने नीतिगत कुराहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जनले घेदुङको संगठन देशव्यापी विस्तार भए पनि तामाङ आन्दोलनमा प्रभावकारी भूमिका नभएको टिप्पणी गरे । ‘कार्यक्रमहरु धेरै गरे होलान्, तर त्यसको प्रभावकारिता देखिएको छैन । आगामी महाधिवेशनले यसको समीक्षा गर्न जरुरी छ ।’ योञ्जनले भने । योञ्जनले तामाङ समुदायमा रहेका विविध खालका चुनौतीहरुलाई सामना गर्नसक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । ‘अबको नेतृत्व पूर्ण रुपमा घेदुङ र तामाङ समुदायको लागि समय दिनसक्ने हुनुपर्छ ।’ योञ्जनले भने, ‘यदि त्यस्तो नेतृत्व आयो भने उनीहरुलाई आर्थिक रुपमा सहयोग गर्न तामाङहरु तयार हुनेछन् ।’
घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङले घेदुङको आन्तरिक नीतिलाई पुनरावलोकन गरी परिमार्जन गर्दै बदलिएको परिवेशलाई मिल्ने खालको नीति बनाउनुपर्ने बताए । विगतमा आदिवासी आन्दोलनमा घेदुङले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै उनले अबको नेतृत्वले त्यो भूमिका दोहो¥याउन आवश्यक रहेकोमा जोड दिए । तामाङ समुदायमा हालसम्म साँस्कृतिक चेतना मात्र आएको बताउँदै तामाङले अबको महाधिवेशनबाट घेदुङले साँस्कृतिक चेतनालाई राजनीतिक चेतनामा परिणत गराउने नीति तय गर्नुपर्ने बताए ।
घेदुङको तर्फबाट बोल्दै अध्यक्ष कुमार योञ्जनले अन्य संगठन जस्तो घेदुङ चलाउन सहज नभएको बताए । घेदुङले तय गरेका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउँदै उनले अनावश्यक टिका टिप्पणी नभई सकारात्मक सहयोगको लागि आग्राह गरे । आगामी महाधिवेशनबाट विधान संशोधनको तयारी भइरहेको जानकारी दिँदै योञ्जनले कार्यक्रमबाट प्राप्त सुझावका आधारमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यपत्रमाथि अधिवक्ता कुन्साङ योञ्जन, पूर्वमन्त्री हितबहादुर तामाङ, नेपाल लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष सुभाष लामालगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, घेदुङका पदाधिकारी, भातृ संगठनका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले घेदुङको महाधिवेशन सबै तामाङहरुको चासोको विषय भएकोले कार्यक्रमको आयोजना गरिएको बताए । घेदुङको आठौं राष्ट्रिय महाधिवेशन आगामी वैशाख १२, १३ र १४ गते चितवनमा हुँदैछ ।

uploads

 

प्रतिक्रिया