अपाङ्गता भएका आदिवासी जनजाति महिलामैत्री सञ्चार  हुन जरुरी 

Admin
Admin२८ असार २०८०, बिहिवार
अपाङ्गता भएका आदिवासी जनजाति महिलामैत्री सञ्चार  हुन जरुरी 

नेपाली मिडियाले अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई वेवास्था गरेको गुनासो राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ, नेपाल (निडवान)ले गरेको छ । निडवानका पदाधिकारी र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारी बीच आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा निडवानका अध्यक्ष प्रतिमा गुरुङले यस्तो गुनासो राख्नु भएको हो । 
“सीमान्तकृतहरुमा पनि सबै भन्दा अतिसीमान्तकृत बर्ग अपाङ्गता भएकाआदिवासी जनजाति महिलाहरु हुन् । तर नेपाली मिडियाले यो सवाललाई स्थान दिएको छैन ।” गुरुङले भन्नु भयो –“आदिवासी जनजाति पत्रकारहरुले पनि यो सवाललाई वेवास्था गरेका छन् ।”

उहाँले अपाङ्गता भएका व्यक्तिहरु प्रति सम्मानजनक शव्दको प्रयोग गर्न पनि नेपाली मिडियाले कन्जुस्याई गरेको आरोप लगाउँदै अशक्ततता भन्दा पनि सामाजिक वातावरण र पहुँचयुक्त सञ्चारको अभावले  अपाङ्गता भएका व्यक्तिहरु थप पीडामा परेको बताउनु भयो । 

कार्यक्रममा डिसाविलिटि फण्डका नेपाल प्रतिनिधि कृष्णराज गहतराजले अपाङ्ताको सवालमा नेपाली मिडिया जानकार हुन नसकेको बताउँदै नेपालको विविधता अनुसार हरेक क्षेत्रमा जस्तै मिडियामा पनि विविधता झल्किनु पर्ने सुझाव दिनु भयो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले पत्रकारहरुले विभिन्न बिषयमा प्रशिक्षित हुनु पर्ने हुँदा अपाङ्गता भएका आदिवासी जनजातिका सवालमा पनि सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिनु भयो । 

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले निडवान र फोनिजको सहकार्य र समन्वयको अभाव रहेको बताउनु भयो । नेपाली मिडियामा विट पत्रकारिता कार्यन्वयन भइरहेको हुँदा अपाङ्गता भएका व्यक्तिको सवालमा पनि बिट पत्रकारिताको आवश्यकता रहेको बताउनु भयो । 

इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुले  प्रेस काउन्सील नेपालले जारी गरेको अपाङगमैत्री सञ्चार निर्देशिका नेपाली मिडियाले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले  अपांगता अधिकार सम्बन्धि ऐन २०७४ र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय महासन्धि (सिआरपीडि) बमोजिम काम भएमा पहुँचयुक्त भौतिक संरचना र पहुँचयुत्त सूचना तथा सञ्चार स्थापना हुन सक्ने बताउनु भयो । 

उहाँले आदिवासी जनजातिको सवालमा उपविबेशकारी माइन्डसेटका कारणसञ्चारकर्ममा लाग्नेहरु प्रभावित भएको हुँदा विउपनिवेशीकरण हुनु पर्नेमा जोड दिनु भएको थियो । 
वरिष्ठ पत्रकार खिम घलेले निडवानको अभियानसाथ दिन पत्रकारहरु तयार भईरहेको बताउँदै  सहकार्य नै यसको अन्तिम विकल्प भएको बताउनु भयो । 
अर्का टिप्पणीकार अमरध्वज लामाले पनि पत्रकारहरुको  क्षमता अभिबृद्धिको कार्यक्रम आवश्यक रहृको बताउनु भयो । 

प्रतिक्रिया