सुनकोशी मरिन डाइभर्सन परियोजनाबाट माझी आदिवासी आतङ्कित, एफपीक लागु गर्न माँग

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२४ जेठ २०८०, बुधवार
सुनकोशी मरिन डाइभर्सन परियोजनाबाट माझी आदिवासी आतङ्कित, एफपीक लागु गर्न माँग

सुनकोशी नदीमा फरक–फरक तीनवटा उच्च बाँधका परियोजना निर्माण हुने भए पछि त्यस नदी किनारामा बसोबास गर्ने आदिवासी माझीहरु डुवानका कारण उठीबासको सन्त्रासले आतङ्कित भएका छन् । 

जलविद्युत् र सिँचाइ आयोजना एकैसाथ अगाडि बढाउने उद्देश्यका साथ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य धमाधम भइरहेको छ भने सुनकोशी–२ र सुनकोशी–३ उच्च बाँध सहितको परियोजनाको संभाव्यता अध्ययन गर्ने काम सकिएको छ । 

 “यो परियोजना आए पछि माझी समुदाय सबै विस्थापित हुनेछन् । आफनो थातथलोबाट विस्थापित हुनु भनेको जाति हत्या सरह हो ।” संघर्ष समितिका संयोजक माझीले भन्नु भयो–“हाम्रो माँग एक शुत्रीय छ, यो परयोजना फिर्ता गरियोस ।”

तीनैवटा परियोजना सञ्चालनमा आए पछि सुनकोशी र तामाकोशी नदी किनारालाई आफनो थातथलो बनाउँदै आएका सिन्धुली, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकका माझी समुदायको उठीबास हुने छ । यसैकारण सुनकोशी–मरिन बहुउद्देश्य र सुनकोशी २ र ३ जलविद्युत परियोजना प्रभावित माझी समुदायले  बलबीर माझीको संयोजकत्वमा परियोजना बिरुद्ध संघर्ष समिति बनाएर यसको विरोध गर्दै आएका छन् । “यो परियोजना आए पछि माझी समुदाय सबै विस्थापित हुनेछन् । आफनो थातथलोबाट विस्थापित हुनु भनेको जाति हत्या सरह हो ।” संघर्ष समितिका संयोजक माझीले भन्नु भयो–“हाम्रो माँग एक शुत्रीय छ, यो परयोजना फिर्ता गरियोस ।”

नेपाल माझी महिला उत्थान संघकी अध्यक्ष रिता माझी पनि आदिवासी माझीको पैत्रिक भूमिमा परियोजना सन्चालन पूर्ब परियोजना प्रभावितहरुसंग परामर्श तथा सहमति हुनु पर्नेमा जोड दिनु हुन्छ । “तामाकोशी र सुनकोशी नदी किनारामा बसोबास गर्ने माझी मासेर निर्माण हुँदै गरेको राष्ट्रिय गौरवको यो परियोजना कुनै पनि हालतमा सफल हुँदैन ।” उहाँले भन्नु भयो । 

राष्ट्रिय गौरवका आयोजना 

सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना र सुनकोशी–२ र ३ जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भनिएको छ । गत बर्ष नै मन्त्रिपरिषद् बैठकले सुनकोशी–मरिन नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको थियो । यो परियोजनाले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी आन्तरिक तथा बाह्यरूपमा स्थापित गर्ने लक्ष लिएको छ । 

देशको औद्योगीकरण र व्यावसायीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने र बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्ने सरकारको  उद्देश्य रहेको छ । बहुउद्देश्य परियोजनाले बिद्युत उत्पादन संगै मधेश प्रदेशको बारा, रौतहट, धनुषा, महोतरी र सर्लाही गरी ५ जिल्लाका १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पु¥याउने छ ।

सुनकोशी नदीको पानी सुरुङ मार्फत मरिन खोलामा मिसाए पछि बागमती नदीको सिंचाई क्षमतामा वृद्धि हुनेछ । यसका लागि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी गाँउपालिकाको वडा नं ६ स्थित सुनकोशी नदीमा १२ मि. उचाईको बाँध बाँधिनेछ । यो बाँधबाट ६७ क्युविक मिटर प्रति सेकेण्ड पानी १३.१ कि. मि. लामो सुरुङ्गको माध्यमबाट कमलामाई नगरपालिका बडा नं २, कुसुमटारस्थित मरिन खोलामा खसाली २८.६२ मेगाबाट जलविद्युत उत्पादन गरिने लक्ष लिइएको  छ ।

“तामाकोशी र सुनकोशी नदी किनारामा बसोबास गर्ने माझी मासेर निर्माण हुँदै गरेको राष्टिय गौरवको यो परियोजना कुनै पनि हालतमा सफल हुँदैन ।”

मन्थली नगरपालिका ५ र सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याकुटारमा सुनकोशी–२ जलविद्युत आयोजनाको बाँध बन्ने छ । यो बाँध ३९० मिटर लामो र १६१ मिटर अग्लो हुनेछ । यसबाट एघार सय मेगावाट क्षमताको विद्युत उत्पादन हुने गरी  आयोजनाको डिजायन बनेको छ । 

यसरी बाँध बनाएर जम्मा गरिएको पानीलाई १०५० घनमिटर प्रतिसेकेन्डका दरले १.२ किलोमिटरको सुरुङबाट सिन्धुलीको च्याकुटार नजिकै निर्माण गरिने विद्युतगृहमा खसालिनेछ । विजुली निकालेपछिको पानीलाई टलरेस सुरुङबाट पुनः सुनकेशीमै खसालिने छ । 

सुनकोशी ३ भने रामेछापको खँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सिमाना लुभुघाटमा अर्कोे बाँध बन्नेछ । बाँध ४४८ मिटर लामो हुनेछ भने १६६ मिटर अग्लो हुनेछ । यो बाँध बाँधेपछि ५७० घनमिटर प्रतिसेकेन्डको पानीलाई १.१ किलोमिटर लामो सुरुङबाट लुघुघाट नजिकै विद्युत गृहमा खसालिनेछ । यसको पानी पनि टेलरेस सुरुङबाट पुनः सुनकोशीमै खसालिनेछ । 

आयोजनाको प्रभावित क्षेत्र 

सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना र सुनकोशी–२ र ३ जलविद्युत आयोजनाबाट सिन्धुली, रामेछाप, काभ्रे र सिन्धुपाल्चोक क्षेत्रको तामाकोशी र सुनकोशी नदी किनाराहरु पुरै डुवानमा पर्ने छन् । सुनकोशी २ र ३ ले काभ्रेको तेमाल गाउँपालिकाको ९ नम्बर वडासहित रामेछापको खँडादेवी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको केही भाग डुबाउनेछ । त्यसैगरी मन्थली नगरपालिकाको १, २, ६, ७, ८ र ११ नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछ । त्यस्तै लिखु गाउँपालिकाको ७ नम्बर वडासहित रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ नम्बर वडा बाँध सहितको डुबान क्षेत्रका रुपमा प्रभावित हुनेछ ।

यति मात्रै होइन, सिन्धुलीको गोलन्जर गाउँपालिकाको १, २, ३, ६, र ७ नम्बर वडा पनि बाँध, विद्युतगृह र डुबान प्रभावित क्षेत्र कायम गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ७ तथा फिक्कल गाउँपालिकाको २ नम्बर वडा पनि डुबान क्षेत्र निर्धारण भएको छ । 

यी आयोजनाको् प्रभाव सिन्धुपाल्चोकसम्म पुग्ने छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको १, ३, र ४ नम्बर वडासहित बलेफी गाउँपालिकाको वडा नम्बर ५ तथा चौतारा साँगाचोक गढी नगरपालिकाको ९, १०, ११, १२ र १४ नम्बर वडा डुब्नेछन् । यस्तै इन्द्रवती गाउँपालिकाको वडाहरु १०, ११ र १२ सहित मेलम्ची नगरपालिकाको १३ नम्बर वडा पनि डुबान हुने क्षेत्रमा तोकिएको छ ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ७, ९, १०, १२ र १४ नम्बर वडा पनि सुनकोशी–३ जलविद्युत आयोजनाको डुबान प्रभावित क्षेत्र हो । पाँचखाल नगरपालिकाको १३ र ८ नम्बर वडासहित भुम्लु गाउँपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पनि डुबानबाट प्रभावित हुनेछन् । चौरीदेउराली गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको केही भेगलाई पनि आयोजनाले डुबाउनेछ ।

काभ्रेकै तेमाल गाउँपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडाहरुलाई विद्युतगृह, बाँधसहितको डुबान क्षेत्रका रुपमा कायम गरिएको छ । रामेछापको सुनापाती गाउँपालिकाको १, ४ र ५ सहित खँडादेवी गाउँपालिकाको १ नम्बर वडा पनि आयोजनाको जलाशय र बाँधबाट प्रभावित हुनेछ । सिन्धुलीकै सुनकोशी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा पनि सुनकोशी–३ को डुबान क्षेत्रमा पर्छ ।

यसरी नै सुनकोशी मरिन डाइभर्सनबाट रामेछापको  मन्थली न.पा. वडा नं. ६, वेणी बगर, वेनी, भलुवाजोर मसानटार, खाँडादेवी गा.पा. वडा नं. ४, माडीफांट, खाँडादेवी गा.पा. वडा नं. ४, खल्लरी पनि प्रभावित हुने छ ।  । यो सुनकोशी मरिन डाइभर्सनबाट प्रभावित क्षेत्र भएकाले यसको मुआव्जा र क्षतीपुर्ती प्रदान गर्ने कार्य पनि सुरु भइसकेको छ । त्यस्तै साविक पकरबास वडा नं. १, गरुण रजगांऊं, पुछिघाट सिमलादी पनि प्रभावित क्षेत्र हो ।

यी सबै क्षेत्रमा माझी आदिवासी र तामाङहरुको बसोबास रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरु मुआव्जा वा क्षतीपूर्ती भन्दा पनि परियोजना विस्थापनको पक्षमा उभिएका छन् । उनीहरुले त्यहाँको आदिवासी माझी समुदाय परम्परागत भूमि र भूभागबाट विस्थापन हुने भन्द्यै अन्तराष्ट्रय कानुन अनुसार पूर्ब सुसूचित सहमति –एफपीक) गरेर मात्र आयोजना अघि बढाउन माँग गरेका छन् ।

 

प्रतिक्रिया