लिम्बुलाई सहिद घोषणा र दोषीमाथि कारबाही नगरेसम्म शव जिम्मा नलिने

Admin
Admin१० चैत २०७९, शुक्रवार
लिम्बुलाई सहिद घोषणा र दोषीमाथि कारबाही नगरेसम्म शव जिम्मा नलिने

प्रदेश नामाकरण आन्दोलनका क्रममा तेह्रथुमका पदम लिम्बु (लाजेहाङ) प्रहरीको कुटाईबाट मृत्यु भएपछि यसको प्रतिक्रियामा पहिचान पक्षधरहरुले आन्दोलनलाई तीब्र बनाएका छन् ।
शुक्रबारमात्र कोशी प्रदेशको  १४ वटै जिल्ला र काठमाडौँको माइतीघरमा विरोध सभा गरेर घटनाको शसक्त विरोध गरेका छन् । विरोध सभामा बोल्ने अधिकाँश वक्ताहरुले घटनाको निन्दा गर्दै स्वर्गीय लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले राज्यको दमन विरुद्ध निरन्तर अगि बढ्ने र माग पुरा नगरेसम्म आन्दोलन अगि बढिरहने बताउनुभयो । यसैगरि किरात याक्थुम चुम्लुङका महासचिव निरन्ति तुम्बापोले शान्तीपुर्वक गरेको आन्दोलनमा राज्यले प्रहरी दमन गरेर अमानविय व्यवहार गरेको र आदिवासी आन्दोलनका एक योद्धा गुमाउन परेकोमा राज्य जिम्मेवारी हुनुपर्ने धारणा राख्नु भयो । उहाँले सरकारले मृतक लिम्बुलाई सहिद घोषणा र परिवारलाई माफी नमागेसम्म शव नलिने बताउनुभयो ।

शुक्रबार मात्र प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले स्व. लिम्बुलाई राज्यले सहिद घोषणा नगरेसम्म र दोषीमाथि कारबाही नभएसम्म स्व. लिम्बुको शव जिम्मा नलिने निर्णय गरेको छ । स्व. लिम्बु धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । गत चैत ५ गतेको विरोध सभाका क्रममा प्रहरीको लाठी लागेर घाइते हुनु भएको थियो ।

यसै गरी आदिवासी जनजाति आयोगले नागरिकको वाक स्वतन्त्रता, आत्मा सम्मानपुर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिदै मृतकलाई उचित क्षतिपूर्ति सहित आन्दोलनरत समुदायको माग सुन्न र बार्ताबाट सम्बोधन गर्न आग्रह गरेको छ ।

संघर्ष समितिको तर्फबाट मृतक परिवारलाई १ लाख ५० हजार हस्तान्तरण गरिएको छ ।  संघर्ष समितिले  शनिवार चैत्र ११ गते दिउँसो १ देखि २ बजे प्रदेश १को १४ वटा जिल्लामा चक्का जाम गर्ने निर्णय गरेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिनुभएको  छ । यससंगै संघर्षसमितिले घोषणा गरेका पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु निरन्तर राख्ने समितिले जनाएको छ ।

 

प्रतिक्रिया