प्रकृति र संस्कृतिको संरक्षणका लागि चुम शताब्दी श्याग्या महोत्सव 

Admin
Admin२ फागुन २०७९, मङ्गलवार
प्रकृति र संस्कृतिको संरक्षणका लागि चुम शताब्दी श्याग्या महोत्सव 

निमा लामा, अध्यक्ष

चुम शताब्दी श्याग्या महोत्सव २०८० मुल समारोह समिति

आगामी २०८० साल वैसाख ६ –९ गते चुम शाग्या शताब्दी महोत्सव आयोजना हुने भएको छ ।  सो अवसरमा राष्ट्र प्रमुखद्वारा चुम श्याग्या शताब्दी महोत्सवको उद्घाटन  गरिने र धर्म गुरु रिन्पोछेज्यू बाट प्राकृतिक पुजा र शान्तिको दिप प्रज्वलन । गरिने कार्यक्रम रहेको छ । सोही अवसरमा राष्ट्र प्रमुखद्वारा चुम उपत्यका अहिंसा क्षेत्र घोषणामा हस्ताक्षर गरी अनुमोदन तथा चुम उपत्यका स्थानीय समुदायद्धारा संरक्षित क्षेत्रको चार किल्ला घोषणा  तथा श्याग्या शताब्दीको उपलक्ष्यामा १०० वटा वृक्षरोपरण र १०० वटा लुङ्दा(झण्डा) उत्तोलन  गरिने कार्यक्रम छ । 

महोत्सवको अवसरमा अहिंसा र बौद्ध दर्शनको विश्व शान्ति पदयात्रा, धर्म गुरु रिन्पोछेज्यूबाट अभिशेक (छेवाङ्) पुजा र बौद्ध दर्शन प्रवचन, वृक्षारोपन कार्यक्रम तथा प्रकृति र साँस्कृतिक सँरक्षणका विषयमा युवाहरुको छलफल तथा गोष्ठी,  स्थानीय प्रमुख लब्राङ लामाज्यूबाट ऐतिहासिक नाराक् छ्याम् लाखे कार्यक्रम, स्थानीय साँस्कृतिक कार्यक्रमहरुको प्रदर्शन, परम्परागत खेलकुद कार्यक्रमलगायत हुने भएको छ । कार्यक्रमको औचित्यबारे आयोजक समितिका अध्यक्ष निमा लामाद्वारा जारी गरिएको अवधारणा पत्रको साराँश यहाँ प्रस्तुत गरिएको छ ।

अहिंसा क्षेत्रको परिचय
गोरखा जिल्लाको उत्तरी भेग मनासलु संरक्षण क्षेत्र भित्र पर्ने कुल्हा पाल्साङ हिमाल, गणेश हिमाल (ज्यो डाल्हा) ७४०६ मि. र श्रृङ्गी हिमाल (टाशी पाल्साङ) ७१८६ मि.को वीचमा बग्ने बुढिगण्डकी–स्यारखोलाद्वारा निर्मित चुम उपत्यकामा, बौद्ध गुरु मिलारेपाले समेत आई ध्यान गरेको, पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासनाको कर्मथलोका रुपमा रहिआएको छ । यस उपत्यकालाई बौद्ध धर्मग्रन्थमा उल्लेख भएको बेयुल किमोलुङको एक अभिन्न अङ्गको रुपमा लिइदै आएको छ । यस उपत्यका अहिंसा परमोधर्म अथवा संसारमा सबैभन्दा ठूलो धर्म अहिंसा हो भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा रहँदै आएको छ ।

बौद्ध दर्शन र पञ्चशीलको सिद्धान्तमा आधारित अहिंसा क्षेत्रको संरक्षण गर्न स्थानीय प्रमुख लामाहरु, यस ठाउंका स्थानीय परम्पारागत निर्णयकर्ताहरु (घाजेन, श्यारा, घ्याङ्घे) एवं स्थानीय वासिन्दाहरुले बिक्रम संवत १९७७ सालमा वुद्धजयन्ती (साका दावा) को अवसरमा महागुरु करुणामय अवतारी पुज्य डुक्पा लामा सेराप दोर्जेज्यूले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दाहरुलाई अहिंसा सिद्धान्तको पालना गर्ने कुराको सामुहिक प्रतिबद्धताका लागि सम्भोटा लिपिमा लेखिएको अहिंसा सम्बन्धि प्रतिवद्धताको लिखित निर्णयमा समुदायका सबैले सामुहिक हस्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए। 

बिक्रम सम्वत १९९६ मा पनि मु गुम्बा देक्षेन ल्हुण्डुप, राछेन ज्याङ्क्षु छ्योलिङ गुम्बाका लामाहरु निले लाब्राङ्ग, ङाग् लाब्राङ्ग, खाङ्सार लाब्राङ्ग तथा तत्कालिन स्थानीय परम्पागत निर्णयकर्ताहरु (घाजेन, श्यारा, घ्याङ्घे) र स्थानीय बासिन्दाहरुले सम्भोटा लिपीमा लिखित प्रतिवद्धताको निर्णयमा सामुहिक रुपमा हस्ताक्षर गरि प्रतिवद्धता जाहेर गरेका थिए । 

बिक्रम सम्वत २०२७ सालमा सम्भोटा लिपिमा लेखिएको अहिंसा सम्बन्धि प्रतिवद्धता दस्तावेजलाई बिक्रम सम्वत २०२९ सालमा देवनागरी लिपिबद्ध गरि त्यस क्षेत्रमा रहेका सबै घरधुरीका मुलिले पुज्यानिय अवतारी गुरु ङावाङ् खेन्राप (डुक्पा रिन्पोछे) समक्ष पुनःसपथ गरी विभिन्न गाउँ र गुम्वाहरुलाई उपलव्ध गराइएका थिए । 

विक्रम सम्वत २०५५ सालको साँस्कृतिक उत्सव, बिक्रम सम्वत २०६५ सालमा छेकम्पार गाउँपरिषद्बाट अहिंसा क्षेत्रको चार किल्ला घोषणा र बिक्रम सम्वत २०६६ सालको प्रथम चुम श्याग्या महोत्सवको आयोजना गरि उक्त महोत्सवमा स्थानीय वासिन्दाहरुले अहिंसा क्षेत्रको घोषणालाई निरन्तरता दिने कुराको प्रतिवद्धता सामुहिक रुपमा हस्ताक्षर गरीजनाएका छन् । 

“चुम महोत्सव–अहिंसा र बौद्ध संस्कृतिको सन्देश” भन्ने मुल सन्देश सहित आयोजना भएको चुम श्याग्या महोत्सव–२०६९ मा चुम्चेत क्षेत्र (तल्लो चुम) लाई पनि अहिंसा क्षेत्रका रुपमा घोषणा गरिएको थियो । देवनागरी र सम्भोटा लिपीमा तयार गरि सामुहिक रुपमा गरिएको प्रतिवद्धतालाई वर्तमान तथा भविष्यका पिँढीले समेत चुम संस्कृति÷संस्कार सँगै चीरकालसम्म कायम गर्न सकुन भन्ने कुरालाई आत्मसात् गरिएको छ । 

अहिंसा क्षेत्र घोषणाको प्रतिवद्धताका बुँदाहरुः

(१)  कुनै पनि जीव–जनावर काटमार नगर्नेः याक, चौरी, भेडा, च्याङग्रा, खसी, बोका, हाँस, कुखुरा आदि पाल्तु जनवार वा पंक्षी काटमार नगर्ने । यस क्षेत्रमा आउने पाहुना, पर्यटक, कर्मचारी एवं सुरक्षाकर्मीहरुले पनि चाडपर्वमा समेत पशु बध नगरी अहिंसा प्रति श्रद्धा र भक्ति गर्ने ।
(२)  शिकार नखेल्नेः वन्यजन्तु, पशुपंक्षीको कल्याण गर्ने र यसका लागि यस क्षेत्रमा शिकार खेल्न-खेलाउन निषेध गर्ने ।पासो थापेर वा कुनै पनि किसिमका उपायबाट चराचुरुङ्गी लगायत जङ्गली जनावर छोप्ने र मार्ने कामलाई निषेध गर्ने । 
(३)  मह नकाड्ने : भीरपाखामा माहुरीका चाका र मह संकलन गर्ने,आगो–डडेलो लगाई मह काड्ने जस्ता प्राणी हत्या गरी मह काड्ने कामलाई निषेध गर्ने ।
(४)  डडेलो नलगाउने : सामुदायिक वन, निजी वन एवं चरन क्षेत्रहरुमा आगो-डडेलो नलगाउने र वन जङ्गलमा खोरिया फाँडेर खेती गर्न निषेध गर्ने । 
(५)  प्रवेश निषेधः मासुजन्य प्रयोजनका लागि व्यापार गर्ने उद्धेश्यले कुनै पनि जीव एवं पंक्षीलाई अहिंसा क्षेत्र भित्र प्रवेश निषेध गर्ने । कुनै जनावरलाई मारेर काटी खाने व्यक्तिको हातमा नबेच्ने । 
(६)  पशुवध पूर्णरुपमा निषेधः कुनै तवरवाट जीवहिंसा वा मारकाट नगर्ने चलनलाई यथावत राख्ने अर्थात काटमार र पशुवध पूर्णरुपमा निषेध गर्ने-गराउने । 
(७)  अहिंसा क्षेत्र कायम राख्नेः बौद्ध दर्शन र पञ्चशीलको सिद्धान्तमा स्थापित अहिंसा चुम क्षेत्रको संस्कृति एवं संस्कारलाई आत्मसात् गर्दै चीरकालसम्म चुम क्षेत्रलाई अहिंसा क्षेत्र कायम राख्न दिगो संरक्षण र प्रवद्र्धन गर्र्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने । 

चुम श्याग्या शताव्दी महोत्सव–२०८०को औचित्य
बौद्ध धार्मिक सभ्यताले सृजना गरेको अहिंसा सयौं बर्ष देखिको निरन्तरता हो । बिक्रम सम्ंवत १९७७ सालमा अहिंसा क्षेत्र घोषणा भै वि.स. २०७७ मा १०० बर्षमा प्रवेश गरेको थियो र सो अवसरमा हामीले शत्वार्षिकी कार्यक्रम आयोजना गर्ने सोच बनाएका थियौं तर विश्वभर फैलिएको कोरोना महामारीका कारण हामीले उक्त कार्यक्रम स्थगित गर्नु परेको थियो ।  यस कार्यक्रमको महत्वलाई ध्यानमा राखी हामी यस वर्ष वि.स. २०८० वैशाख ६ – ९ सम्म“अहिंसाको अभियान, चुमबासीको पहिचान” भन्ने मुल नाराका साथ चुम श्याग्या शताव्दी महोत्सव–२०८०को आयोजना गरि मनाउने निर्णय हामी सम्पूर्ण चुम वासीहरुले गरेका छौँ । यस महोत्सवले हामी सम्पूर्ण चुमवासीहरुको सामाजिक तथा साँस्कृति एकतालाई थप मजबुद बनाउनुका साथै प्राकृतिक तथा साँस्कृति संरक्षणमा हामीहरुको सामुहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विस्वस्त छौँ । यसको अलावा यस महात्सवले हामी सम्पूर्ण चुमवासीहरुमा हाम्रा पिता पुर्खादेखि अभ्यास गर्दै आएको हाम्रो धार्मिक तथा साँस्कृतिक विस्वास तथा अध्यासहरुलाई हाम्रा युवाहरुमा हस्तान्तरण गर्ने अवसर मिल्ने विस्वास लिएका छौँ ।  

संयोगवश नेपाल सरकारले पनि सन् २०२० लाई पर्यटन भ्रमण बर्षको रुपमा मनाउदैछ । यो महोत्सवले साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराई पर्यटन भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्ने कुरालाई पनि टेवा पुग्ने अपेक्षा गदैछौँ । चुम उपत्यका शान्तिको अग्रदूत भगवान गौतम बुद्धले दिनुभएको उपदेशको पालना गरिदै आएको अहिंसा क्षेत्र हो । यो क्षेत्र राज्यले चिन्न नसकेको राष्ट्रिय गहनाका साथै जैविक विविधताको खुल्ला संग्रहालय पनि हो । यस सम्बन्धि आजसम्म पर्याप्त मात्रमा अध्ययन, अनुसन्धान तथा प्रचार प्रसार हुन सकेको  छैन ।चुम श्याग्या शताब्दी नामक महोत्सव

चुम श्याग्या शताव्दी महोत्सव–२०८०का उद्देश्यहरु
१. प्राचिन समय देखि हाम्रो संस्कृति तथा परम्परागत अभ्यासका रुपमा रहेको अहिंसाको निति तथा अभ्यासहरुलाई निरम्न्तरता दिने र सोको संरक्षण तथा सम्वर्धन गर्ने । 
२. हाम्रो परम्परागत संस्कृति, अभ्यास तथा प्रथाजन्य नीतिका रुपमा रहेको हाम्रो अहिंसाको निति तथा अभ्यासहरुबारे जनचेतना अभिवृद्धि गर्दै मनासलु संरक्षण क्षेत्र व्यवस्थापनले अवलम्वन गरेको संरक्षणको क्रियाकलापहरुमा परिपुरकको भुमिका निर्वाह गर्ने । 
३. साग्या महोत्सवलाई प्रकृति र संस्कृतिको संरक्षणका रुपमा प्रवर्धन गर्दै भिजिट नेपाल २०२० का लागि राज्यले गरिरहेको राष्ट्रिय अभियानमा योगदान पुरयाउने । 

चुम उपत्यकामा कसरी पुग्ने
 


 

चुम उपत्यका नेपालको अति दुर्गम क्षेत्रमा रहेको एक हिमाली गाउँ हो । यस ठाउमा आजको मितीसम्म आयायातको सुविधा पुग्न सकेको छैन । यसकारण यस उपत्यका पुग्नका लागि काठमाण्डौबाट करिव एक दिन बसको यात्रा र ४ दिन पैदल यात्रा गर्नु पर्दछ । हवाई यात्राको पनि सुविधा नभएको कारण यसको विकल्पका रुपमा यस उपत्यकापूग्नका लागि निजी रुपमा हेलिकप्टर चारटर्ड वा रिजर्भ गरि करिव ३५ मिनेटमा काठमाण्डौबाट पुग्न सकिन्छ । तर यसका लागि करिव २५०० अमेरिकी डलर वा करिव तीन लाख हुन आउने हुनाले यसरी गरिने यात्रा खर्चका हिसावले अति महंगो छ । 


 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin