आदिवासी ज्ञान के हो ?

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१६ असोज २०७७, शुक्रवार
आदिवासी ज्ञान के हो ?

विश्वका विभिन्न ७० देशहरुमा बसोबास गरिरहेका ३७ करोड भन्दा बढी जनसंख्या भएका आदिवासीहरुको आफनै परम्परा, आफनै संस्कृति र जिविका सञ्चालनका तौरतरिकाहरु छन् । मानव विकासको क्रमसंगै आदिवासीले आर्जन गरेको अनुभव, अभ्यास र कतिपय अवस्थामा चुनौतिलाई समाधान गर्ने क्रममा उपलव्ध ज्ञानहरु रहेका हुन्छन् । आधुनिक राज्य प्रणालीको विकास नहुँदै अभ्यासमा आएका त्यस प्रकारका ज्ञानलाई पृथक सामाजिक संगठन, संस्कृतिहरुमार्फत समाजलाई सुव्यबस्थित बनाउन सहयोग गरेको हुन्छ । यस्ता ज्ञानहरु धेरै प्रकारबाट अभिव्यक्त हुन्छन् । कतै मूर्त वा अमुर्त साँस्कृतिक सम्पदाका रुपमा दृश्य वा अदृश्य हुन्छन् भने कतै प्रचलन र आध्यात्मिक विश्वासमा अनुवाद भएका हुन्छन् । तथापि कुनै पनि समाज ज्ञान सून्य भने हुन्नन् । 

मान्छेले आफनो ज्ञान र अनुभवका आधारमा तत्कालीन समस्यालाई समाधान गर्ने  र  जीवनलाई अझ गुणस्तरीय बनाउने उदेश्यले अनेकौ खोजहरु गरेको छ । मानिसलाई अनेकौ रोगव्याधि लाग्दा उपचार खोज्यो, खनिज, खाद्यपदार्थको उपयोगिता, पृथ्वी, वायूमण्डल लगायत प्रकृति र प्राकृतिक स्रोतको उपादेयता माथि अनुसन्धान ग¥यो । परिणाम स्वरुप जीवनलाई एक स्वीकृत तरिकाले (Accepted Modes Of Life) परिबर्तन गर्दै लग्यो ।  यसैको परिणाम. स्वरुप धर्म, ज्ञान, कला, विश्वास, प्रथा, कानुन, विज्ञान, दर्शन, साहित्य, वास्तुकला, बानी व्यहोरा आदिको विकास गर्न पुग्यो । तीनै सन्दर्भहरुको गर्भबाट आदिवासी ज्ञानको पनि विकास हुँदै गएको मान्न सकिन्छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । जीव विज्ञानको क्षेत्रमा जसरी जीवको संरचना परिबर्तन हुँदै जान्छ भन्ने मान्यता छ, त्यसै गरी आदिवासी ज्ञानको क्षेत्र पनि फराकिलो हुँदै जान्छ । प्रशिद्ध दार्शनिक चाल्र्स डार्विन (Charles Darwin) ले प्राकृतिक चयनको सिद्धान्तको व्याख्या गर्दै जैविक परिवर्तन संगै केही आन्तरिक शक्तिको पनि अभिबृद्धि हुने बताएका थिए । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

सुरुमा सबै मानव जाति जंगली युगमा थिए । जंगलमा उपलव्ध फलफूल, पशुपंक्षीको शिकार गरेर जीवन धान्ने गर्दथे । अभ्यासका क्रममा पशुपंक्षीको शिकार गर्नका लागि हतियारको आवश्यक भयो । ढुंंगाका हतियारहरु बने । कन्दमूल संकलन गर्न कुनै न कुनै प्रकारका ज्यावलहरु आवश्यक भयो, यसका लागि काठका ज्यावल बने । मानव समाज ओडारमा बस्थे, घाम पानीबाट  र अन्य जंगली हिंस्रक जनावरको आक्रमणबाट बच्नका लागि सुरक्षित स्थान आवश्यक भयो, परिणाम स्वरुप आवासको जुक्ति निस्क्यो । मानिसहरु आगोको उपभोग गर्न जाने । आगोको ताप, भोजन बनाउन सहयोगी सिद्ध भयो । 

अभ्यासकै क्रममा मानिसले खान हुने र नहुने जंगली कंन्दमूल, अन्नपातको पहिचान गरे । उत्पादनलाई भण्डारण गर्न सिके । यसबाट कृषितर्फ मानिसको आकर्षण सुरु भयो । शिकार, फलफूल, कन्दमूलसंगै पशुपालन सहायक सिद्ध भयो । यस पछि धातुको प्रयोग गर्ने सीप सिके । माटोका भाँडाकुँडा बनाउने, बनको काठ पैदावरको सदुपयोग गर्न सिके । 

मानिसहरु बिभिन्न कारणले बिरामी पर्ने बेलामा उपचारपद्धतिहरुको आविश्कार भयो । खाद्यन्न, पोषिलो पदार्थहरु खाने अभ्यासमा लागे । लाज ढाक्न झारपात, रुखका बोक्राहरुको बस्त्र बनाउन थाले पछि कालान्तरमा कपडा बुन्ने रेशाहरुको विकास गरेर कपडाहरु लगाउन थाले । असभ्य जंगली समाजबाट उक्लदै सामाजिक व्यबस्था, प्रथाजनित संस्थाहरुको निर्माण, आध्यात्मिक विश्वासहरुका माध्यमले समाजलाई सुव्यवस्थित बनाउन लागे । यही विकासक्रममा अनेको प्रथा, परम्पराहरुको जग बसाले । यही पृष्ठभूमिबाट आदिवासी ज्ञानको प्रचलन हुन थाल्यो । यो ज्ञानको पुस्तान्तरण, प्रचलन र मान्यताहरु स्थापित भएकै कारणले आजको विश्वमा करौडौ संस्कृति, संस्कार र भाषा तथा सभ्यता विकसित रुपमा रहेका छन् । 

परिभाषा 

आदिवासी ज्ञान (Indigenous Knowledge)  मानव समुदायको लामो समय देखिको अभ्यास र अनुभवको निरन्तरता हो । यसलाई परम्परागत ज्ञान (Traditional Knowledge) र  कसैकसैले स्थानीय ज्ञान (Local Knowledge) पनि भन्ने गर्दछन् । तथापि विज्ञान र प्रविधिको बढदो प्रयोग, विश्वव्यापीकरण, शहरीकरण, आधुनिक जीवनशैलीका कारण यस्तो ज्ञान आदिवासीहरुमा मात्र प्रचलनमा रहेको छ ।

जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ ।

 आदिवासी ज्ञान आदिवासी समुदायको साझा इतिहास, आफनै भौगोलिक क्षेत्रको परम्परागत भूमि र भूक्षेत्र, साझा संस्कृति, मातृ भाषाको प्रयोगका कारण जिवित रहेको छ । जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । किनकि आदिवासीहरुको जिवन्त मौखिक परम्पराले यस्ता ज्ञानलाई बचाएको हुन्छ । आदिवासी ज्ञान केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका रुपमा बाँचेका हुन्छ भने कतै गीत तथा नाचहरुमा, अभिव्यक्त हुन्छ । केही आदिवासीहरुमा चित्रकला, मुर्तीकला एबम् धार्मिक संस्कारहरुमा देख्न सकिन्छ । 

आदिवासी ज्ञान सिर्जना वा आविस्कारबाट प्रारम्भ भएको नभै अभ्यास र अनुभवबाट खाँरिदै परिस्कृत हुँदै आएको हुँदा यसको स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिती वा सुरुवाती समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई दिइन्छ । यस्तो अभ्यास केही स्थानमा आध्यात्मीक आस्था र विश्वासका आधारमा रहेको हुन्छ । 

आदिवासी ज्ञानलाई पश्चिमा संसारमा नेटिभ्स साइन्स (Natives Science) का नामले पनि सम्बोधन गरिन्छ । अमेरिका स्थित नेटिभ्स नेशन इन्स्ट्रिच्यूडका संस्थापक मध्ये एक  जर्ज क्याजेटले Gregory Cajete नेटिभ्स साइन्स शव्दको प्रयोग गरेका थिए । उनको कथन अनुसार प्राकृतिक संसारमा रहेका आदिवासीहरुको मानवीय अनुभव, बिचार, अनुभवबाट  नेटिभ्स साइन्सको विकास भएको हो । यो रुढ विचार वा अन्धविश्वास भन्दा पनि यसमा विज्ञान रहेको हुन्छ र यो विज्ञान मानव समुदायको सहयोगी हुन्छ ।  जुन भूमिमा उनीहरु जन्मे, बढे र प्रकृतिसंग आत्मसाथ गरे, त्यही भूमि र प्रकृतिको देन नै आदिवासी ज्ञान हो भन्ने उनको व्याख्या छ ।

आदिवासी ज्ञान आदिवासी समाजको साँस्कृतिक मूल्य र मान्यतासंग जोडिएको हुन्छ । जहाँ जीवन निर्बाहका जटिलता बिरुद्ध सहज निकाशको बाटो खोलिएको हुन्छ । उदाहरणका लागि हातहतियारहरु, शिकार खेल्ने साधानहरुलाई लिन सकिन्छ । कृषिसंग सम्बन्धी अनेको प्रविधिहरु छन् । कृषिसंग सम्बन्धीत बिउको संरक्षण गर्ने प्रविधिहरु छन् । कुन मौसममा  कुन बाली लगाउने भन्ने ज्ञान उनीहरुसंग छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ । हिमाली आदिवासीले प्रयोग गर्ने स्वरिग्पा पद्धति यसैको निरन्तरता हो । आयुर्बेदका माध्यमले प्रयोगमा ल्याएका अनेको जडिबुटी आदिवासी ज्ञानको प्रतिफल हो । 

आदिवासी ज्ञान प्राचीन र परम्परागत ज्ञान भएता पनि आधुनिक वैज्ञानिक ज्ञान प्रणाली Morden Science Knowlodege System (MSKS)  को परिपुरक हो । वैज्ञानिक ज्ञानमा झै यसमा जहिले पनि नविनता, दीगो र विश्वासयोग्य ज्ञान हुन्छ ।  पर्याबरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ । यसका तरिकाहरु, प्रविधिहरु आधुनिक वैज्ञानिक ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको प्रयोग एक उदाहरण हो । तिनै जडिबुटीबाट आधुकि औषधि विज्ञानले क्याप्सुल र सुईको आविस्कार गर्छन् । जस्लाई आदिवासी समाजमा तामाङको, वोन्वो, लिम्बुको फेदाङमा, गुरुङहरुको पैडी र लम तथा हिमालीभेगमा आम्चीहरु औषधीय ज्ञानलाई प्रयोगमा ल्याइरहेका छन् ।

आदिवासी ज्ञान र आदिवासी ज्ञान प्रणालीको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृति हो भने आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको स्रोत अन्तराष्ट्रिय ज्ञान प्रणाली हो । बिश्वविद्यालय, अनुसन्धान संस्थान तथा अनेको कम्पनीहरुमा आवद्ध बैज्ञानिकहरुको खोज र अनुसन्धानबाट आधुनिक वैज्ञानिक ज्ञान प्रणालीबाट जन्म हुन्छ । यो ज्ञान प्रणाली मौखिक रुपमा प्राप्त गर्न सकिन्न । कठोर शैक्षिक अध्ययन, प्रशिक्षण र लामो शैक्षिक अनुसन्धानबाट प्राप्त हुन्छ ।  तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता हस्तान्तरणका माध्यमले प्राप्त हुन्छ । तथापि केही आदिवासी ज्ञानलाई आधुनिक विज्ञान प्रणालीले अस्तित्व स्वीकार गरेको मात्र नभै यसको अध्ययन अनुसन्धान नै सुरु गरेको छ । उदहरणका लागि आयुर्वेद औषधालयहरु नेपालमा खुल्न थालेका छन् । सरकारले आयुर्वेद विभाग नै बनाएको छ । चिनिया एक्युपञ्चर प्रणालीको अभ्यास विभिन्न अस्पतालमा पनि हुन थालेको छ । अमेरिकमा राष्टिय स्वास्थ्य अनुसन्धानमा एक्युपञ्चर र आयुर्बेद, आम्ची प्रणालीको अनुसन्धान हुन थालेको छ । 

आदिवासी ज्ञान सबै विज्ञानको जननी मान्नेहरु पनि छन् । आदिवासी ज्ञानको प्रयोग प्राकृतिक स्रोतहरुको उपयोग, संरक्षण र व्यबस्थापनमा बढी उपयोगी देखिएकोछ । पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसंग अनेकौ जुक्तिहरु हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरु पनि छन् । तर ती ज्ञानहरु कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा प्रतिबन्धित छन् । 

चुनौतिहरु 

आदिवासी ज्ञान यतिबेला लोपोन्मूख अवस्थामा छ । माथि नै चर्चा भए अनुसार विश्वव्यापीकरण, आधुनिक समाज, शहरीकरण तथा राज्यका असहिष्णु नीतिले आदिवासी ज्ञान प्रणाली लोप हुने खतरामा छ । प्रभूत्वशाली जाती वा समूदायको संस्कार र संस्कृति थोपर्ने प्रबृत्तिका कारण पनि आदिवासी ज्ञान वेवास्थामा परेको छ । 

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ ।

धेरै देशहरुमा आदिवासीको पहिचानको पनि समस्या छ । समाजको बनावटमा साँस्कृतिक अन्तरघुलन, बिबाह आदि कारण साँस्कृतिक सम्बन्धहरुमा अन्तरविरोध कायम हुँदा पनि आदिवासी ज्ञान लोप हुने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा बसाईसराईको बढदो प्रबृत्तिका कारण विभिन्न जातीय पृष्ठभूमिका मानिसहरु एकै समाजमा बस्न पुग्छन् । यो क्रम आन्तरिक बसाईसराईमा पनि बढ्दोक्रममा छ । यस्तो समाजमा आदिवासी र गैरआदिवासीबीच मित्रता भयो भने आदिवासी ज्ञान लोप हुने खतरा हुन्छ भने द्वण्द्वले समाजमा हिंसा र अन्य सुरक्षा व्यबस्थालाई चुनौति दिन्छ । यी दुबै अवस्थामा आदिवासी ज्ञानको प्रचलन अविश्वसनीय बन्छ ।  

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ । तर त्यसरी सुधार गर्दा यसको आत्मामा भने नराम्ररी चोट पुगेको हुन्छ ।

(आदिवासी ज्ञान, प्रथा र परम्परा नामक प्रकाशोन्मूख पुस्तकबाट लिइएको हो ) 

प्रतिक्रिया