जलवायू परिवर्तन र त्यसको प्रतिकूल असरहरु विश्वव्यापी रुपमा बढ्दो छ । नेपालमा पनि त्यसको अनेक असरहरु देखा परिरहेका छन् । त्यही सन्दर्भमा नेपालमा जलवायू परिवर्तन, जैविक विविधता र विकासका परियोजनाहरुले नेपालका आदिवासी जनजातिहरुमाथि पारेको प्रतिकूल असरहरुबारे असोज १९-२३ गतेसम्म ५ दिने प्रशिक्षण कार्यशाला काठमाडौँमा सम्पन्न भयो । नेपालका विभिन्न स्थानहरुमा सञ्चालित २२ वटा सामुदायिक एफएम रेडियोहरुमा कार्यरत एवं विगत दुईवर्षदेखि काठमाडौँमा सञ्चालित इण्डिजिनियस टेलिभिजनमा संलग्न आदिवासी जनजाति समुदायका युवा पत्रकारहरुलाई जलवायू परिवर्तनको बढ्दो प्रभावसम्बन्धमा जानकार तथा संवेदनशील बनाउन उक्त कार्यशाला आयोजना गरिइएको हो ।
कार्यशाला प्रशिक्षकको रुपमा जलवायू परिवर्तन, जैविक विविधता, नेपालमा सञ्चालित विकासे परियोजनाहरु, आदिवासी जनजाति र खोज पत्रकारिताका विज्ञहरु रहेका थिए । कार्यशाला इण्डिजिनियस मिडिया फाउण्डेसनको आयोजनामा सञ्चालन एवं सम्पन्न भएको हो । विषयगत विज्ञहरुको अलावा कार्यशालामा जलवायू परिवर्तनको असरसम्बन्धी नेपाल सरकारको नीति, योजना तथा कार्यक्रमहरुबारेमा सरकारी र सरोकारवाला प्रतिनिधि तथा कार्यशालाका सहभागीहरुबीचमा अन्तर्क्रियासमेत गरिएको थियो । अन्तर्क्रियाका वक्ताहरु बन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल, जलवायू परिवर्तनमा विद्यावारिधी गरेका डा. रघुबीर विष्ट, नेपाल आदिवासी जनजाति महासंघका सचिव लाक्पा हिसे शेर्पा र सामुदायिक रेडियो प्रसारक नेपाल संघका सुबास खतिवडा रहेका थिए । अन्तर्क्रियालाई वरिष्ठ पत्रकार कुमार यात्रुले सञ्चालन गरेका थिए भने इण्डिजिनियस टेलिभिजनले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।
कार्यशालामार्फत् जलवायू परिवर्तन र विकासका परियोजनाहरुका कारण प्रकृति र प्राकृतिक स्रोत-साधन र खेतीपातीमा निर्भर रहेका नेपालका आदिवासी जनजातिहरुले खेप्नुपरेको मर्का, उच्च जोखिमहरुको पहिचान र त्यसले ल्याएको एवं ल्याउने तत्कालिन र दीर्घकालिन प्रभावहरुबारे समुदायभित्रकै पत्रकारहरुको ध्यानाकर्षण गर्न र त्यसको जोखिमबारे समुदायलाई जानकार बनाउन सहयोग गर्ने सानो प्रयत्न गरिएको हो” ।
आयोजक संस्थाका अध्यक्ष देव कुमार सुनुवारकानुसार, “कार्यशालामार्फत् जलवायू परिवर्तन र विकासका परियोजनाहरुका कारण प्रकृति र प्राकृतिक स्रोत-साधन र खेतीपातीमा निर्भर रहेका नेपालका आदिवासी जनजातिहरुले खेप्नुपरेको मर्का, उच्च जोखिमहरुको पहिचान र त्यसले ल्याएको एवं ल्याउने तत्कालिन र दीर्घकालिन प्रभावहरुबारे समुदायभित्रकै पत्रकारहरुको ध्यानाकर्षण गर्न र त्यसको जोखिमबारे समुदायलाई जानकार बनाउन सहयोग गर्ने सानो प्रयत्न गरिएको हो” । कार्यशालाका सहभागीहरुले आ-आफ्ना कार्यक्षेत्रमा फर्केपछि नेपालका आदिवासी जनजातिहरुमाथि जलवायू परिवर्तनले पारेको असरकेन्द्रित कम्तीमा दुइवटा फिचर कार्यक्रम अनिवार्य रुपमा उत्पादन गरि प्रसारण गर्नेछन् ।
सहभागीहरुकानुसार, जलवायू परिवर्तन, जैविक विविधता र नेपालका आदिवासी जनजातिहरुवीचको अन्योन्याश्रित सम्बन्धलाई गहन रुपमा बुझ्न सघायो । उनीहरुले विकासको नाममा गरिने निर्माणका ठूला वा साना परियोजनाहरुले कसरी नेपालका आदिवासी जनजातिहरु प्रभावित र कतिपय सन्दर्भमा त विस्थापित पनि भइरहेका छन् भन्ने बारेमा जानकार भएको विचार व्यक्त गरेको थिए । विषयवस्तुमा धेरथोर ज्ञान प्राप्त गरेपछि सामुदायिक रेडियो वा अन्य पहुँचमा रहेका सञ्चारमा माध्यमहरुद्वारा आवाज सम्प्रेषण गर्ने ऊर्जा समेत पाएको उनीहरुले प्रतिक्रिया दिएका थिए ।
कार्यशालाका सहभागीहरुः
अनिल कुमार चौधरी, समाद एफएम, लाहान
अनुज थारु, गुरुबाबा एफएम, बर्दिया
आश गुरुङ, रेडियो मर्स्याङदी, लमजुङ
उत्तम कुमार सुनुवार, रेडियो लिखु, रामेछाप
कोपिला पुलामी मगर, त्रियुगा एफएम, उदयपुर
कमल तामाङ, रेडियो रसुवा, रसुवा
छिला राई, इण्डिजिनियस टेलिभिजन, उदयपुर
जंग योञ्जन तामाङ, सुम्हात्लुङ एफएम, पाँचथर
डोल्मा शेर्पा, इण्डिजिनियस टेलिभिजन, काठमाडौँ
देवेन्द्र खालिङ किराँत, रेडियो रबि, पाँचथर
नवराज कुलुङ राई, रेडियो खाँदबारी, संखुवासभा
प्रतिक्षा राई, चोमोलोङ्मा एफएम, भोजपुर
फूर्वा जङ्बु, सोलु एफएम, सोलुखुम्बु
बेजना महर्जन, नेवा एफएम, कीर्तिपुर
बिशाल राई, रेडियो रबि, पाँचथर
मंगली थामी, रेडियो कालिञ्चोक, दोलखा
मिङ्मा लामा, काभ्रे
मिना कुमारी श्रेष्ठ, आफ्नो एफएम, ओखलढुंगा,
रिता राई राराहाङ, कान्तिपुर एफएम, काठमाडौँ
शारदा तामाङ, रेडियो भोजपुर, भोजपुर
सरिश्मा महर्जन, नेवा एफएम, कीर्तिपुर
सर्मिला सुनुवार, रेडियो कैरन, रामेछाप
साजन श्रेष्ठ, इण्डिजिनियस टेलिभिजन, काठमाडौँ
सूर्यमाया दनुवार, रेडियो नमोबुद्ध, काभ्रे
सोनाम याङ्जी शेर्पा, इण्डिजिनियस टेलिभिजन, सोलुखुम्बु
तेज नाछिरिङ राई, सोलुखुम्बु ।
सम्पदा लिम्बु, पाँचथर ।
कुमार लघु, रेडियो जनसञ्चार, भक्तपुर ।
कार्यशालाका प्रशिक्षकहरुः
कमल कुमार साङपाङ राई
कमल कुमार साङपाङ राई जैविक विविधता एवं जलवायू परिवर्तनका विज्ञ हुन् । स्वीडेनको स्वीडिस बायोडाइभर्सिटी सेन्टरबाट जैविक विविधतामा स्नातकोत्तर गरेका राई यस क्षेत्रमा दुई दशकभन्दा पहिलेदेखि सक्रिय छन् । राईले परम्परागत ज्ञान र जैविक विविधतालाई आदिवासी जनजातिको दृष्टिकोणबाट केलाउँने गर्दछन् । उनको स्थानीय जैविक विविधतासम्बन्धी १५ वटा कृति र दुई दर्जनभन्दा बढी लेख विभिन्न जर्नल तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन् । राईले जैविक विविधता, आदिवासी जनजाति र हिमाली क्षेत्रमा जलवायू परिवर्तनको असरकेन्द्री थुप्रै मामिला अध्ययन (केस स्टडिज)हरु संकलन तथा जैविक विविधता र जलवायू परिवर्तनसम्बन्धी नीतिहरुलाई आदिवासी जनजातिको दृष्टिकोणबाट समीक्षा गरेका छन् । उनले जैविक विविधता र जलवायू परिवर्तनसम्बन्धी आफ्ना कार्यपत्र एवं लेख र विचारलाई तीसभन्दा बढी मुलुकहरुमा प्रस्तुत गरिसकेका छन् ।
कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ तीन दशकभन्दा लामोसमयदेखि नेपालको मूलधारका सञ्चारमाध्यमहरुमा संलग्न रहदै आएका वरिष्ठ पत्रकार हुन् । नेपालको राष्ट्रिय दैनिक पत्रिका ‘राजधानी’को सम्पादकको रुपमा तामाङले काम गरिसकेका छन् । नेपालका आदिवासी जनजाति समुदायका पत्रकारहरुको छाता संगठन ‘आदिवासी जनजाति पत्रकार महासंघ’ (फोनिज)को संस्थापक सदस्य तामाङले नेपालमा सयभन्दा बढी पत्रकारहरुलाई खोज पत्रकारितासम्बन्धमा प्रशिक्षित गरिसकेका छन् । दर्जनौँ पुस्तक उत्पादनमा संलग्न रहेका तामाङको सहसम्पादनमा वि.सं. २०५८ मा प्रकाशित ‘छापामा जनजाति’ नामक पुस्तक नेपालका आदिवासी जनजातिको सरोकार हिसाबले एउटा महत्वपूर्ण पुस्तक हो । छापामाध्यमको अलावा एकदशक यतादेखि तामाङले रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण; स्थानीय सरकार, वैदेशिक रोजगार, बालमैत्री शासन र आदिवासी जनजातिसम्बन्धी वृत्तचित्र निर्माणसमेत गर्दै आइरहेका छन् । उनी विगत एक वर्षदेखि स्थानीय शासन, वैदिशक रोजगार र आदिवासी जनजातिका सवाल र सरोकारकेन्दी टेलिभिजन कार्यक्रम उत्पादन र सञ्चालन कार्यमा समेत संलग्न रहँदै आइरहेका छन् । हाल उनी नेपालका आदिवासी जनजातिका सामुदायिक टेलिभिजन ‘इण्डिजिनिसय टेलिभिजन’का कार्यकारी निर्माताको रुपमा कार्यरत छन् ।
कैलाश राई
कैलाश राई डेढ दशकदेखि अनुसन्धान कार्यमा संलग्न स्वतन्त्र अनुसन्धाता, लेखक तथा सम्पादक हुन् । उनले आफ्नो अनुसन्धान कार्यको थालनीदेखि नै नेपाली महिलाभित्रको विविधता र आदिवासी जनजाति समुदायभित्रको लैंगिकताको पाटोमा लेख्दै आइरहेकी छिन् । सार्वजनिक एवं बौद्दिक वृत्तमा नेपालका आदिवासी जनजाति महिलाका सवालकेन्द्री बहस गर्न र गराउने कार्यमा राईको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनको लेखनमा ‘आदिवासी जनजाति महिलाका संगठन, आन्दोलन र लेखन’ वि.सं. २०७४ मा र सम्पादनमा ‘पहिचानको खोजीः आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६-२०७३)’ वि.सं. २०७३ मा प्रकाशित छन् । राईले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी हुन् । लैगिकता, माओवादी पूर्व लडाकु महिला, समावेशीता, सामाजिक न्याय, राजनीति र इन्टरसेक्स्नालिटीकेन्द्री उनको थुप्रै अनुसन्धानमूलक लेखहरु विभिन्न पुस्तक, जर्नल र म्यागजिनहरुमा प्रकाशित छन् । नेपालको प्राज्ञिक संस्था मार्टिन चौतारीमा दशकभन्दा बढी अनुसन्धान कार्यमा संलग्न रहेपछि स्वतन्त्र अनुसन्धाता बनेकी राई मार्टिन चौतारीको कार्यकारिणी समिति सदस्य, इण्डिजिनियस मिडिया फाउण्डेसन र चौकठ नारीवादी सञ्जाल सदस्य समेत छिन् । राई विगत पाँच वर्षयता नयाँ अनुसन्धानकर्ताहरुलाई प्रशिक्षण दिने काममा समेत संलग्न हुँदै आइरहेकी छिन् ।
खिम घले
खिम घले दुई दशकभन्दा लामो समयदेखि नेपालको मूलधारका सञ्चारमाध्यममा कार्यरत पत्रकार हुन् । आदिवासी जनजाति समुदायका वरिष्ठ पत्रकार घलेले नेपालको एक प्रभावशाली राष्ट्रिय दैनिक पत्रिका ‘कान्तिपुर’को वरिष्ठ संवाददाताको रुपमा काम गरिसकेका छन् । विशेषत मानव अधिकार र आदिवासी जनजातिकेन्द्री सवालहरु बाहिर ल्याउने कार्यमा उनको महत्वपूर्ण भूमिका छ । पत्रकारितामा स्नातकोत्तर घलेले संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डमा Hubert H. Humphrey फेलोको रुपमा इन्भेस्टिगेटिभ जर्नालिज्म एण्ड मल्टिमिडिया स्कील एण्ड रिसर्च विषयमा अध्ययन गरेका छन् । त्यस्तै, आदिवासी फेलोको रुपमा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यलय जेनेभा, स्वीट्जरल्याण्डमा घलेले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी औजारहरु र संयुक्त राष्ट्र संघीय संयन्त्रसम्बन्धी प्रयोगात्मक अध्ययन समेत गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघको सल्लाहकार समिति अध्यक्षको रुपमा रहीसकेका घले लमजुङस्थित रेडियो मर्स्याङदीको संस्थापक समेत हुन् । नेपाल आदिवासी जनजाति महासंघ अन्तर्गतको रेड परियोजनामा विज्ञको रुपमा काम गरेका घले हाल कान्तिपुर अनलाइन संस्करण सम्पादक छन् ।
टुंगाभद्र राई
टुंगाभद्र राई नेपालका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघअन्तर्गतको जलवायू परिवर्तन पार्टनरसीप कार्यक्रम संयोजक हुन् । जलवायू परिवर्तन र नेपालका आदिवासी जनजातिहरुसम्बन्धी सरकारी निकायसँग समन्वय तथा छलफल गर्न र गैर सरकारी निकायको तहबाट खासगरी नेपाल आदिवासी जनजाति महासंघको जलवायू परिवर्तनबारेको धारणा र अडानको खाका स्पष्ट पार्नेलगायतका कार्यक्रमहरुमा राईको सक्रियता रहँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर राईले कर्नेल युनिभर्सिटीबाट क्रस कल्चरल एकाडेमिक लर्निङ कोर्स गरेका छन् । हर्क गुरुङ रिसर्च फेलो समेत रहेका राईको जलवायू परिवर्तन र आदिवासी जनजातिसम्बन्धी थुप्रै जर्नल लेखहरु प्रकाशित छन् ।
देवकुमार सुनुवार
देवकुमार सुनुवार आदिवासी जनजातिहरुको एकमात्र सामुदायिक टेलिभिजन ‘इण्डिजिनियस टेलिभिजन’का अध्यक्ष हुन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको काठमाडौँ स्कूल अफ लमा असिस्टेन्ट प्रोफेसरको रुपमाले सुनुवारले सार्वजनिक अन्तर्राष्ट्रय कानून पढाउँछन् । उनी सन् २०११ देखि संयुक्त राष्ट्र संघका विभिन्न संयन्त्रहरुभित्र उठाइने आदिवासी जनजातिहरुको सवाल र सरोकारहरुसँगको सघन अन्तर्क्रियामा संलग्न रहँदै आएका छन् । आदिवासी फेलोको रुपमा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यलय जेनेभा, स्वीट्जरल्याण्डमा सुनुवारले आदिवासी जनजातिका सवालहरुसम्बन्धमा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी औचारहरु र संयुक्त राष्ट्र संघीय संयन्त्रसम्बन्धी अध्ययन गरेका छन् । हाल उनी संयुक्त राष्ट्रमा इण्डिजिनियस मिडिया एण्ड कम्यूनिकेसन ककसको संयोजक छन् । बोस्टनस्थित कल्चरल सर्भाइभल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको इण्डिजिनियस कम्युनिटि मिडिया ग्रान्ट एसोसियटको रुपमा उनले एसिया र अफ्रिकाका आदिवासी सामुदायिक सञ्चार परियोजना हेर्ने गर्दछन् । उनले पत्रकारिता तथा आम सञ्चार, राजनीतिशास्त्र र कानुन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । डेढ दशकदेखि छापा, रेडियो, टेलिभिजन र अनलाइनहरुसमेत गरेर १५ वटा भन्दा बढी विभिन्न सञ्चारका माध्यमहरुमा काम गरिसकेका सुनुवारले खोज पत्रकारिता केन्द्र, नेपालको खोज संवाददाता तथा राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द काठमाण्डु पोष्टमा काम गर्नुको साथै स्तम्भकारको रुपमा आदिवासी जनजाति र सीमान्तकृत समुहबारे लेखहरु लेखका छन् ।
प्रगति शाही
प्रगति शाही एक दशकदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय छापा तथा डिजिटल सञ्चारका माध्यमहरुमा कार्यरत अवार्ड विजेता एक स्वतन्त्र वातावरण पत्रकार तथा लेखक हुन् । राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द काठमाण्डु पोष्टमा उपसम्पादकको रुपमा रहँदा शाहीले विशेषगरी स्थानीय र विश्वव्यापी वातावरण र दिगो विकास, विपद् र सीमान्तीकृत समूह, महिला, बालबालिकादेखि वैदेशिक कामदारहरुका सवालहरुमा जोड दिइन् । नेपालमा वन्यजन्तु संरक्षण र चुनौतीहरु, जलवायू परिवर्तन, विपदु र वन्यजन्तु अपराधसम्बन्धमा शाहीको खोजमूलक लेखहरु अमेरिकाबाट प्रकाशन हुने टाइम, द एटलान्टिक, पब्लिक ब्रोडकाष्टिङ सर्भिस, ब्रोडली, युसीएन्यूज र अलजजिरालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित छन् । उनी डब्लुडब्लुएफ मिडिया इन कन्जरभेसन अवार्ड, बेस्ट इन्भारोमेन्ट रिपोर्टिङ अवार्ड, दक्षिण एसियाको जलवायू परिवर्तनसम्बन्धी अवार्ड विजेता तथा ब्रिटिस काउन्सिल क्लाइमेट च्याम्पियनबाट सम्मानित पनि हुन् । उनी नेपालका वातावरण पत्रकारहरुको छाता संगठन ‘वातावरण पत्रकार समूह’को कार्यसमिति सदस्य समेत थिइन् ।
शंकर लिम्बु
शंकर लिम्बु नेपालका आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तिको कानूनी वकालत गर्दैआएका एक प्रभावशाली अधिवक्ता हुन् । लिम्बुले आदिवासी जनजातिहरुको मानव अधिकारको संरक्षण र आधारभूत स्वतन्त्रताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लगातार वकालत गर्दैआइरहेका छन् । पूर्वाग्राही विकासका परियोजनाले नेपालका आदिवासी जनजातिका जग्गा जमिन र जीवनचर्यामाथि पारेको अतिप्रभाव र मानवअधिकार हननका मुद्दाहरुलाई अन्तर्राष्ट्रिय अदालतहरुमा र संयुक्त राष्ट्र संघीय संयन्त्रहरुमा सुनुवाईको लागि पुर्याउने कार्यमा उनको विशेष भूमिका रहीआएको छ । उनले युनाइटेड नेसन्स भोल्यून्टरी फण्ड फर इण्डिजिनियस पिपल्सको कार्यसमिति सदस्य तथा थाइल्याण्डस्थित एसिया इण्डिजिनियस पिपल्स प्याक्ट (एआइपीपी) फाउण्डेसन को कार्यकारी सदस्यको रुपमा काम गरिसकेका छन् । आदिवासी जनजातिहरुको अधिकार र सवालहरुसम्बन्धी उनको थुप्रै जर्नल लेखहरु प्रकाशित छन् । उनी नेपालका आदिवासी जनजातिहरुको कानूनी अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) का सचिव पनि हुन् ।