दशै आदिवासी तथा किरातहरुको हो भनेर जिकीर गर्नु मुर्खता हो

नन्द कन्दङवा
नन्द कन्दङवा१३ असोज २०७४, शुक्रवार
दशै आदिवासी तथा किरातहरुको हो भनेर जिकीर गर्नु मुर्खता हो

१. चाडको महत्व

कुनै पनि चाडको सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक महत्व हुन्छ । यस्ता चाडहरु कहि न कहि धर्म र राजनीतिसंग जोडिएको हुन्छ । चाडले समाजलाई बिशेष सन्देश दिएको हुन्छ र निश्चित मुल्य र मान्यतालाई बढावा दिएको हुन्छ र समाजलाई डोर्याइरहेको हुन्छ । चाडले खास मानव समुह या समाजको पहिचान पनि दिन्छ । कुनै पनि चाड कुनै न कुनै धर्म तथा धार्मिक विश्वाससंग गासिएको हुन्छ । त्यसले उक्त धार्मीक तथा सामाजिक विश्वासलाई मजबुत बनाउने काम गर्दछ । चाड मानव समुदायमा घटित कुनै न कुनै घट्नासंग जोडिएको हुन्छ । चाडहरुले कुनै पनि जातिय या सामाजिक या सांस्कृति समुहको संस्कृतिकोरुपमा पहिचान दिन्छ । यति मात्र होईन यसले ईतिहासमा मानव समुहहरु वीच भएको राजनीतिक घट्ना तथा नियन्त्रणको पनि रिफ्लेक्सन दिन्छ । यस अर्थ, चाडको बहुपक्षिय महत्व छ । सामान्य चाड मनाउने, रमाईलो गर्ने, मिठा मिठा खाने कुराहरु खाने र नया नया लुगा लगाउनेमा मात्र चाड सिमित हुदैन र छैन ।

२. दशै चाडको पक्ष र विपक्ष

२०४७ सालमा आएको प्रजातन्त्र पछि नेपालमा दशै चाडबारे विभिन्न बिचारहरु आउन थाले । यसले व्यक्ति तथा समुदायलाई दशै चाडको पक्ष र विपक्षमा रहनु पर्ने अवस्था ल्यायो । २०४७ सालको स्वतन्त्रताले धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिकरुपमा थुनामा राखेको कैदी स्वतन्त्र भए जस्तो भयो यद्यपी २०४७ सालको संविधानले पनि धर्म तथा संस्कृतिको सवालमा उहि पुरानै पन्चायतकालिन बाटो लिएको थियो । सो समयदेखी आजसम्म दशै चाड मान्ने र नमान्ने पक्ष र विपक्षमा समाज बाडीएको छ । त्यसपछि दशै नेपालीहरुको महान चाडबाट हिन्दुहरुको महान चाडमा परिणत भयो । यस्तो पक्ष र विपक्षमा समाज बाडीनुमा मुख्य कारण दशैको शुरुवात कहिले र कोबाट भयो भन्ने कुरा भन्दा बढी २४० बर्षदेखी राज्य तथा राज्य शासकहरुले धर्म, जाति तथा संस्कृतिको आधारमा गरिएको फरक व्यवहार, असमानता र अन्याय थियो जुन नेपालका आदिवासी जनजाति, मधेसी र दलितहरुले भोगेका थिए । तिनीहरु मध्ये आदिवासी जनजातिहरु भने नमान्ने तर्फ पहिलो पंक्तिमा रहे ।

दशै अनाजको चाड हो खास गरि धान तथा मकैको । धान आर्यहरु सिन्धु घाटीमा आउनु अघि सिन्धु सभ्यताको क्षेत्रमा खेती गरिन्थ्यो । त्यसैले, यो चाड आदिवासी किरातसंग सम्बन्धित छ ।

दशै चाडको विपक्षमा अर्को एउटा समुह पनि थियो र रहिआएको छ त्यो भनेको माक्र्सवादी बर्गिय बिचारको आधारमा राजनीति गर्नेहरु हुन । उनीहरुको मान्यता भनेको दशै भनेको शोषक तथा उत्पीडक बर्गका मानिसहरुले आफ्नो शोषण—उत्पीडन कायम राख्न चलाईएको प्रपन्च हो जस्ले गरिवहरुमाथी झन शोषण र अन्याय गर्दछ । यसैले, यो दशै चाड मनाउनुको कुनै अर्थ छैन भन्ने उनीहरुको बिचार हो ।

३. दशै चाडबारे विभिन्न मतहरु

दशै चाडबारे मुख्य मत त नमान्ने मत र अर्को मान्ने मत हो । नमान्नेहरुले दशै हाम्रो चाड होईन थोपरिएको हो । हाम्रा आफ्नै मौलिक चाडहरु छन् तिनीहरुलाई मानौ र मनाऔ भन्ने रहेको छ ।

मान्ने भित्र पनि २ वटा धार रहेको छ । पहिलो धारले दशैलाई बिजया दशमी अर्थात असत्यमाथी सत्यको बिजयको बिजय उत्सव मनाउने पर्वकोरुपमा चित्रण गर्दछ । यसैको व्याख्या असुर तथा रामणहरु असत्यका पक्षपाती थिए भने देवता तथा राम सत्यका पक्षपाती थिए । रामणलाई रामले मारेको र देवी दुर्गाले महिषासुर लगायतका असुरहरुलाई बध गरेको प्रतिक र उत्सवकोरुपमा दशैलाई चित्रण गर्ने गरिएको छ । यो पहिलो धारले हिन्दु दर्शन, हिन्दुत्व र हिन्दु सामाजिक, धार्मीक, सांस्कृतिक तथा राजनीतिक बिचारलाई प्रतिनिधीत्व गर्दछ । यहि हिन्दु दर्शन, हिन्दुत्व र हिन्दु सामाजिक, धार्मीक, सांस्कृतिक तथा राजनीतिक बिचार बोकेको दशै चाड अरु गैरहिन्दुहरुलाई राज्य तथा राज्यसत्ताको बलमा जबर्जस्त थोपरियो भन्ने दशै नमान्ने या मान्न छोड्नेहरुको बिचार छ ।

आदिवासी किरातहरुले मनाउने चाडलाई आर्यहरुले नक्कल गरे र उक्त चाड मनाउन शुरु गरे ।

दशै मान्नु पर्छ भन्ने अर्को धारले दशैको आदिवासी तथा किरातहरुको चाड हो भन्ने बिचार राख्दछ । यसमा आर्य हिन्दुहरुले आफ्ना कुराहरु जोडेर आफ्नो बनाएका हुन । त्यसैले, यसलाई नमान्नु भनेको किरात तथा आदिवासी जनजातिको संस्कृतिको अवज्ञा हो भन्ने बिचार रहेको छ । यो चाड आर्यहरुको होईन भन्ने यो धारको ६ वटा तर्कहरु रहेका छन् । पहिलो तर्क छ, यो अनाजको चाड हो खास गरि धान तथा मकैको । धान आर्यहरु सिन्धु घाटीमा आउनु अघि सिन्धु सभ्यताको क्षेत्रमा खेती गरिन्थ्यो । त्यसैले, यो चाड आदिवासी किरातसंग सम्बन्धित छ । दोस्रो तर्क छ, आदिवासी किरातहरुले मनाउने चाडलाई आर्यहरुले नक्कल गरे र उक्त चाड मनाउन शुरु गरे । तेस्रो तर्क छ, यो चाड ऋतुसंग सम्बन्धित भएकोले खेती कार्यहरु सके पछि दुखको काम सकियो भनेर खुशी मान्ने चाड हो ।

यसैले, यो कसैको बिरुद्ध या समर्थनमा छैन । चौथो तर्क छ, यस चाडमा देवी दुर्गाको पुजा गरिन्छ र शक्तिकोरुपमा लिईन्छ । दुर्गा भनेको स्त्रि जो मातृसत्तात्मक समाजको प्रतिक हो । आर्य समाज मातृसत्तात्मक थिएन त्यसैले यो मातृसत्ता भएका आदिवासी किरातहरुको चाड हो । पाचौ तर्क छ, आर्यहरुमा जात विभाजन छ । बाहुन र क्षेत्री मात्र आर्य हुन । बाकी बैश्य र शुत्र भनेका आर्यहरु यो भेकमा आएपछि अरुलाई आर्य हिन्दुमा मिसाउन अरु समुदायलाई हालिएको या जोडिएको हो । बैश्यहरु भनेका खेती र व्यापार गर्नेहरु हुन । आर्यहरु खेती नै नगर्ने भएकोले यो चाड आर्य हिन्दुहरुको होईन । छैटौ तर्क छ, दशै चाड नेपालमा जुन ढंगले मनाईन्छ अन्यतिर खास गरि भारतमा यसरी मनाईन्दैन । चामलको अक्षेत दहिमा मुसेर टिका लगाउने चलन नेपालमा मात्र छ । त्यसैले, यो आर्यहरुको नभएर आदिवासी किरातहरुको चाड हो ।

४. विश्लेषण र निश्कर्ष

माथीका मतहरुलाई विश्लेषण गरेर हेर्दा, नमान्नेको तर्कमा धेरै थप कुरा गरिरहन परेन किन भने थोपरिएको भन्ने कुराको लागी प्रशस्त प्रमाणहरु छन् । नमान्ने र नमानौ भन्ने अभियान गर्नेहरु मारिएका छन् भने दशै माने कि मानेनन भनेर हेर्ने अनेक प्रमाणहरु राख्न लगाईने र राज्यका मानिसहरु आएर चेक गर्नेसम्मका उदाहरणहरु काफी छन् । यस्ता अवस्थाबाट गुज्रेका दशै नमान्नेहरुलाई दशैको शुरुवात कसरी भयो र कस्तो चाड हो भन्ने कुरा अर्थ हुदैन । जहासम्म दशै चाड आदिवासी तथा किरातहरुको हो भन्ने मत तथा तर्कहरु छन् तिनीहरुलाई भने सिलसिलेवाररुपमा विश्लेषण गर्न आवश्यक छ ।

दशै ऋतुसंग सम्बन्धित भएकोले खेती कार्यहरु सके पछि दुखको काम सकियो भनेर खुशी मान्ने चाड हो ।

पहिलो कुरा

अनाजको चाड हो भन्ने कुरामा धेरै गलफत्ति गरिरहनु परेन, हुन पनि सक्छ । अनाजको चाड त नेपालका किरातहरुले मनाउने उभौली अर्थात चासोक हो । चासोक भनेको नै अन्न वाली पाकेपछि प्रकृती तथा माङहरुलाई चढाउने चाड हो । यो चाडमा धानको अक्षेता दहिसंग मुछेर निधारमा लगाईदैन । दशैमा आदिवासी किरातले सेतो टिका लगाएको त दशै थोपरिएकोले गर्दा हो । थोपरिए पछि भिन्न देखाउन रातो नलगाएर सेतो लगाएको हो ।

दोस्रो कुरा

धान खेती या धानको आविष्कार ५ हजार बर्ष (ईसापुर्व) चिनमा भएको हो । त्यो बिस्तारै फैलदै हालको थाईल्याण्ड, कम्बोडिया, भियतनाम, बर्मा हुदै उत्तर—पुर्व भारत, आसाम र नेपाल अनि गंगाको मैदानमा आएको हो । गंगाको मैदानबाट सिन्धु सभ्यताको मैदानमा गएको समय शायद ईसा पुर्व ३,००० बर्षतिरै होला । के कुरा सत्य हो भने आर्यहरु सिन्धु घाटीमा आउनु अघाडी नै सिन्धु मैदानमा धान लगाउने प्रचलन चलिसकेको थियो । आर्यहरु सिन्धु मैदानमा आएपछि कृषी खेती गर्न थालेको कुरा त उनीहरुको ऋगवेदमा र धानको कुरा यजुरवेदमा नै उल्लेख छ । उनीहरु आउनु अघि आदिवासी द्रावीड र किरातहरुले दशै मनाउथे भन्ने कुरा अलि प्रमाणीत हुदैन । शायद ति आदिवासीहरुले नेपालका किरातले अन्न पाकेपछि प्रकृति र देवी देउता (माङहरु) लाई चढाउथे र घर घरमा पुजा गर्थे होला भनेर अनुमान भने गर्न सकिन्छ ।

तेस्रो कुरा

आर्य भनेको मातृसत्तात्मक समाज कहिल्यै रहेन भन्ने कुरा सही नै हो । देवी दुर्गा भनेको मातृसत्तात्मक समाजको संकेत तथा प्रतिक हो । त्यसैले, दशैमा पुजा गरिने दुर्गा स्त्रि भएकोले दशै आर्य हिन्दुहरुको चाड होइन भन्ने तर्क केही हद ठिकै भए पनि पुर्णरुपमा ठिक होईन । स्त्रिरुपका स्वरस्वती, लक्ष्मी आदी पनि छन् । ति सबैलाई मातृसत्तात्मक समाजको संकेत भनेर बुझ्नु गलत हुन्छ । दुर्गा भनेको आर्य हिन्दु समाजकै महिला भए पनि उनलाई कामबासना पुरा गर्न पठाई शक्तिशाली असुरहरुलाई छलकासाथ बध गरेको भन्ने कथा पनि रहेको छ । त्यस्ता शक्तिशाली असुरहरुलाई बध गरि आर्य हिन्दुहरुको बर्चस्प स्थापित गर्ने दुर्गाको जयजयकार गर्नु आर्य हिन्दु पितृसत्तात्मक समाज नै भए पनि अस्वभाविक होईन । त्यसैले, दुर्गाको पुजा हुने र स्त्रि भएकै आधारमा दशै आदिवासी किरातहरुको हो भन्न मिल्दैन ।

दशै आदिवासी तथा किरातहरुको हो भनेर जिकीर गर्नु मुर्खता मात्र हो । 
 

चौथो कुरा

आर्यहरुमा बर्ण या जात विभाजन रहेको, बाहुन र क्षेत्री आर्य बाकी बैस्य र दलित गैरआर्य भन्ने तर्क ठिकै हो । भारतमा आर्यहरुले आफ्नो प्रभाव बिस्तार गर्ने क्रममा अन्य धेरै जाति तथा बर्णका समुदायसंग मुकाविला गर्न पर्यो । ति फरक जाति तथा बर्णका मानव समुहलाई आफ्नो आधिपत्य भित्र ल्याउन र राख्न बर्ण विभाजन गरियो । बैस्यको श्रेणीमा रहनेहरु कृषी खेती तथा व्यापार गर्दथे भन्ने कुरा सही नै हो । बैस्यले कृषी खेती गर्ने भन्दैमा अनाजको चाड भनिएको दशै बैस्यमा राखिएका आदिवासी तथा किरातहरुको चाड हो भन्ने हुन सकदैन । बर्ण विभाजन भएको मनुस्मृतिको पालामा हो । मनुको समय ईसापुर्व ३ शताव्दी हो । त्यो भन्दा अघि नै आर्यहरु गंगा तथा सिन्धु मैदानमा कृषी खेती गर्दथे र गर्दैआईरहेका थिए । यसर्थ, यो खाले तर्कले दशै आदिवासी तथा किरातहरुको चाड हो भन्ने पुष्ठी हुदैन ।

पाचौ कुरा

नेपालमा जस्तो तरिकाले भारतमा दशै मनाइन्दैन भन्ने कुरा ठिक हो । नेपालमा आदिवासी तथा किरातहरुले त न्वागी अर्थात चासोक पुजा मात्र गर्ने गर्दथिए । आर्य हिन्दुहरुले दुर्गा देवीको पुजा अर्चना भारत लगायत अन्य ठाउमा गर्ने गर्दथिए । भारतमा भनिने दशेरालाई नेपालमा असली हिन्दुस्थान बनाउने उदेश्यकासाथ गोर्खा राज्यको बिस्तार पछिको नेपालमा पृथ्वीनारायण शाहले भारत भन्दा भिन्न ढंगले कसरी मनाउने भन्ने सोचको उपज हो नेपालको दशै चाड । एउटा कुरा के नकार्न मिल्दैन भने दशैमा प्रयोग गरिने विधी तथा तरिकाहरु कतिपय आदिवासी समाजको विधी तथा तरिकालाई लिईएको या मिसाईएको छ । यसैले, नेपाल र भारतमा मनाईने दशेरा या दशैमा भिन्नता छ । यत्तिको आधारमा दशैलाई अदिवासी तथा किरातको चाड हो भन्न मिल्दैन ।

निश्कर्षमा

दशैमा अन्न र फुलपाती घरमा भित्र्याउने विधी तथा तरिका आदिवासी तथा किरातहरुको भए पनि समग्रतामा दशै आर्य हिन्दु दर्शन, बिचार तथा राजनीतिमा आधारित छ । यसर्थमा पनि दशै आदिवासी तथा किरातहरुको हो भनेर जिकीर गर्नु मुर्खता मात्र हो । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु नन्द कन्दङवा