सहिद दिवस मनाए, बिरबहादुर तामाङहरु ओझेलमा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ माघ २०७१, आइतवार


माघ १८, काठमण्डौं । हरेक वर्ष मनाइने सहिद सप्ताह अन्तरगत यो वर्ष पनि सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम भएको छ । काठमण्डौं महानगरपालिकाले सहिद सप्ताह मनाउन हरेक वर्ष मुल समारोह समिती नै गठन गरि सहिद सप्ताह मनाउने गर्छ । यसैक्रममा माघ १० गतेबाट शुरु सहिद सप्ताह १६ गते समापन भएको हो । जहानिया राणाशासन विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्रि, धर्मभक्त माथेमा, गंगलाल श्रेष्ठ र दशरथ चन्दलाई राणशासकले गोली र झुन्ड्याएर हत्या गरेका थिए । उहाँहरुको सम्मानमा सहिद हरेका वर्ष मनाइदै आएको छ तर प्रजातन्त्र स्थापनाका लागि राणशासकहरु विरुद्ध लड्ने क्रममा सहिद भएका तिन जना तामाङहरु ओझेलमा परेका छन ।

राज्य र विभिन्न निकायले माघ १६ गतेलाई सहिद दिवस भनेर मनाउने दिनमा नै तत्कालिन भौगोलिक विभाजन अनुसार पुर्व १ नम्बरको चरिकोटमा राणा सरकारको सेनासंग भिडन्तमा जनमुक्ति सेनाका वीरबहादुर तामाङ सहिद हुनु भएको थियो । सोही दिन दोलखाको मागादेउराली डाँडामा भएको भिडन्तमा जनमुक्ति सेनाका मानबहादुर तामाङ र पूर्णबहादुर तामाङले सहादत प्राप्त गर्नु भएको थियो । तर राज्यले उहाँहरुलाई न सहिद मानेको छ न उहाँहरुको बारेमा खोजि नै गरेको छ । यसलाई तामाङ विज्ञहरुले राज्यले तामाङहरुप्रति गर्ने भेदभाव र अपमानका रुपमा ब्याख्य गर्ने गरेका छन् । तामाङ सहिदहरुको बारेमा अमृत योन्जन तामाङले ओझेलमा तामाङ सहिदहरु भन्ने पुस्तक नै प्रकाशन गर्नु भएको छ ।

book

थप विवरण तामाङ भाषाविद अमृत योन्जन तामाङबाट साभार :

माघ १६ गते चरिकोटको भिडन्तमा जनमुक्ति सेनाका वीरबहादुर तामाङ सहिद भए । सोही दिन दोलखाको मागादेउराली डाँडामा भएको भिडन्तमा जनमुक्ति सेनाका मानबहादुर तामाङ र पूर्णबहादुर तामाङले सहादत प्राप्त गरे 

तामाङ जाति लगायतका नेपालीहरु रैतीबाट जनता भएको दिन हो ७ फागनु, २००७ । यो दिन तामाङ लगायत आदिवासी जनजातिहरुले ल्याएको इतिहास साक्षी छ । जहानिया राणा शासनतन्त्रको विरुद्व २००५ जेठ ७ गते (२० मे १९४८) मा भारतमा पुगेका नेपालीहरुले कोलकतामा जनमुक्ती सेनाको स्थापना गरे । २३ जना संस्थापकहरु मध्ये ८ जना अर्थात् एक तिहाइ (३४.७८ प्रतिशत) तामाङ थिए । बाबुलाल मोक्तान, निर्मल लामा, श्यामकुमार तामाङ, नरेन्द्र लामा, डोनस ग्राङदान, डिकबहादुर तामाङ, हर्षबद्र्धन लामा र लोकबहादुर तामाङले जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । उनीहरुमध्ये केही अझै जीवित छन् ।

जनमुक्ति सेनाद्वारा २००७ कार्तिक २६ गते (१९५० नोभेम्बर ११) गते ११ बजे राती देशभर शसस्त्र आक्रमण गरेका थिए । सो आक्रमणका क्रममा विराटनगर मोर्चा सम्हालेका तुलाराम तामाङ (गोले काइँला) सहित ३ जना सहिद भए । वीरगञ्ज मोर्चाका सहिद भएका थीरबम मल्ललाई प्रजातन्त्र स्थापना भएपछि नेपाल सरकारले सहिद घोषणा गरे तर तुलारामलाई सहिद घोषणा गरेनन् ।
यसै गरी २००७ साल माघ १ गते राती १ बजे पूर्व १ नं. को मेलुङमा जनमुक्ति सेनाले आक्रमण गर्दा जनमुक्ति सेना तर्फका ८ जना सहिद भए, ती मध्ये ५ जना तामाङ थिए – जगतबहादुर तामाङ, दीलबहादुर तामाङ, भीमबहादुर तामाङ, रणबहादुर तामाङ र रिकबहादुर तामाङ । यहाँ ६२.५ प्रतिशत तामाङ मेलुङ क्रान्तिमा सहिद भए ।

यसैक्रममा माघ १६ गते चरिकोटको भिडन्तमा जनमुक्ति सेनाका वीरबहादुर तामाङ सहिद भए । सोही दिन दोलखाको मागादेउराली डाँडामा भएको भिडन्तमा जनमुक्ति सेनाका मानबहादुर तामाङ र पूर्णबहादुर तामाङले सहादत प्राप्त गरे । यसैक्रममा धनबहादुर तामाङलाई काभ्रेको भुम्लोमा पुस २७ गते राणका सेनाले गोली हानी हत्या गरेको थियो ।  गहन अध्ययनको लागि डा. गोबिन्दसिंह कार्की, श्यामकुमार तामाङ, हेमराज अधिकारीको पुस्तक हेर्न सकिन्छ । यस्तै ओझेलमा तामाङ सहिदहरु पनि हेर्न सकिन्छ । प्रजातन्त्र ल्याउनका तामाङ जातिको गौरवशाली भूमिका रह्यो । 

 

 

 

 

 

 

 

प्रतिक्रिया