आयो तामाङ ल्होछार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ माघ २०७१, सोमवार
आयो तामाङ ल्होछार

काठमाडौं, ४ माघ । 

तामाङ समुदायको साँस्कृतिक पर्व एवं नयाँ वर्ष २८५१ औं ल्हुक (भेडा) ल्होछारको अवसरमा यहि माघ ६, ७ र ८ गते काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा बृहत ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङको संयोजकत्वमा १ सय २२ भन्दा बढी तामाङ संघसंस्थाको सहभागितामा गठित २८५१ औं ल्हुक ल्होछार वृहत मूल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।

नेपाल प¥र्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तामाङहरुले माघ ६ गते ल्होछारको पूर्वसन्ध्यामा घरघरमा दिपावली गरेर घोडा वर्गलाई बिदाई गरी भेडा अर्थात ल्हुक ल्हो वर्गलाई स्वागत गर्ने छन् । मूल आयोजक समितिले ६ गते साँझ बौद्ध स्तुपा प्रांगणमा ल्होको प्रतीक ‘ल्होखोर’ बनाई दीपावलीसहित ल्होछार इभ आयोजना गरिने छ ।

महोत्सवको दोश्रो दिन माघ ७ गते शान्ति वाटिकाबाट विभिन्न झाँकीसहित ल्होछार साँस्कृतिक ¥याली आयोजना र प्रधानमन्त्री सुशिल कोईरालाको प्रमुख आतिथ्यमा टुँडिखेलमा ल्होछार समारोह तथा साँस्कृतिक कार्यक्रम गर्ने जानकारी समितिले जानकारी दिएको छ । सो महोत्सवमा तामाङ भेषभूषा, पुस्तक, खाना, मौलिक झाँकीहरुका साथै तामाङ जातिको मौलिक नाचहरु घोडा नाच, म्हेन्दोमाया नाचलगायत प्रस्तुत गरिने बताइएको छ ।

यस्तै महोत्सवको अन्तिम दिन माघ ८ गते टुँडिखेलमा विविध सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुति रहने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा मूल आयोजक समितिको तर्फबाट नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले प्रेस विज्ञप्ती वाचन गरेका थिए । उनले यो वर्ष १ सय २२ वटा तामाङ संघसंस्थाहरुले संयुक्त रुपमा एकै ठाउँ ल्होछार कार्यक्रम आयोजना गर्न लागेको बताए ।

तामाङ समुदायले मञ्जुश्री पात्रोमा आधारित सोनाम ल्होछार मनाउँदै आएको छ । यो वर्ष माघ ७ गतेका दिन सोनाम ल्होछार परेको छ । यो वर्ष घोडा वर्गलाई बिदाई गरी भेडा वर्गलाई स्वागत गरिँदैछ । घेदुङका सल्लाहकार एवं पूर्व अध्यक्ष परशुराम तामाङले यो ल्होछार परम्परा अन्य ल्होछारहरु भन्दा सबैभन्दा पूरानो भएको बताए । 

प्रतिक्रिया