टुँडिखेलमा उँधौलीको रौनक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ पुष २०७२, आइतवार
टुँडिखेलमा उँधौलीको रौनक

काठमाडौं

भूकम्पपछि पीडितहरुको आश्रयस्थलका रुपमा देखिएको काठमाडौंको टुँडिखेलमा पुस ११ गते शनिबार बेग्लै रौनकमा देखियो। भूकम्पपीडितहरु आफ्नै आश्रयस्थलमा फर्किएपछि उजाड देखिने टुँडिखेल शनिबार भने किराँत समुदायको प्रकृतिपूजाका रुपमा मनाइने उँधौली पर्वका अवसरमा रंगीन बन्न पुग्यो। परम्परागत पोशाकमा सजिएका सबै उमेर समूहका महिला, पुरुष तथा बालबालिका प्रकृतिको पूजासँगै साकेला सिलीको धुनमा नाच्दै र गाउँदै रमाइलो गरिरहेका थिए।

किराँत समुदायका थुलुङ, चाम्लिङ र बान्तवा सहितको समूहले टुँडिखेलमा साकेलाको आयोजना गरेको थियो। किराँत समुदायले मंसिर पूर्णिमादेखि ५ दिन उँधौली र वैशाख पूर्णिमामा उँभौली पर्व मनाउने गर्छ।

किराँत समुदायले वन, खोला र पहाडमा पुर्खाले जीवन अर्पेका कारण प्रकृतिको पूजा गर्ने गरेका हुन्। सिलीमा वन फँडानी गरी कृषियोग्य जमिन बनाएको, कपास कातेको, कपडा बुनेको र खेती गरेको हाउभाउमा नाच्ने गरिन्छ

लेखक निर्भिक राईका अनुसार किराँत समुदाय प्रकृतिका पुजारी भएकाले अन्नबाली भित्र्याइँदा उँधौली र रोपाइँका समय उँभौली पर्व मनाउने गर्छन्। उँधौली र उँभौलीमा ढुंगा, माटो र बोटबिरुवाको पूजापछि साकेला सिली नाच गर्ने र विभिन्न परिकार बनाएर आफन्तसँग पर्व मनाउने गरिन्छ। उँधौली र उँभौलीमा नाचिने साकेला सिलीमा कृषि र प्रकृतिका विषयमा केन्द्रित रहेर हाउभाउका साथ नाच्ने गरिन्छ। 'गाउँमा रहेका केही बूढाब्रढीले त सिली नाच्छन्, राजधानीमा भने कमै देख्न पाइन्छ,' लेखक राईले थपे, 'नाकाबन्दीले होला मान्छे कम छन्।'

किराँत समुदायले वन, खोला र पहाडमा पुर्खाले जीवन अर्पेका कारण प्रकृतिको पूजा गर्ने गरेका हुन्। सिलीमा वन फँडानी गरी कृषियोग्य जमिन बनाएको, कपास कातेको, कपडा बुनेको र खेती गरेको हाउभाउमा नाच्ने गरिन्छ। उँधौली मेलामा भेटिएकी समीक्षा राईले सिलीका विषयमा आफूलाई जानकारी नभए पनि घरपरिवारमा चर्चा सुन्ने गरेको बताइन्। मेलामा आउने जात्रालुले इच्छा राखेमा किराँत लिपिको जानकारी दिन बसेका तीर्थराज मुकारुङले किराँत लिपिको संरक्षण र प्रवर्द्धनमा राज्यसँगै समुदायसमेत लागि पर्न आवश्यक रहेको बताए। किराँत समुदायमा रहेका ३२ जातिका सम्पर्क मञ्च र अन्य संघसंस्थाले टुँडिखेलमा उँधौली मेलाको आयोजना गरेका हुन्।

-

प्रतिक्रिया