तेजराज भट्ट
धनगढी
कैलालीका राजी र कुमाल समुदायको पुख्र्यौली पेशा संकटमा परेको छ । प्राकृतिक स्रोत र साधनमाथिको पहुँच घट्दै गएपछि लोपोन्मुख समुदाय अन्तर्गत पर्ने राजी र कुमाल समुदायको पेशा केही वर्ष यता हराउँदै गएको छ ।
समाजभन्दा टाढा बस्न मन पराउने राजी समुदायको मुख्य पेशा जंगलमा मह काढ्ने, गिट्ठा–भ्याकुर कोर्ने, नदीमा माछा मार्ने तथा डुंगा चलाउने हो । त्यस्तै, माटाका भाँडाकुँडा बनाएर बेच्नु कुमाल समुदायको मुख्य पेशा हो । तर, प्राकृतिक स्रोतमाथि निर्भर रही परम्परागत पेशा अँगालेर जीविकोपार्जन गर्ने यिनीहरू हाल खेतीपाती, मजदुरी, पशुपालनलगायत अन्य पेशा अँगाल्न थालेका छन् ।
राजी कुमाल संघर्ष समितिका अध्यक्ष निर्मला राजीले भनिन्, ‘राज्यको नीतिका कारण हाम्रो प्राकृतिक स्रोत–साधनमाथि पहुँच गुमेको हो ।’ राज्यले सामुदायिक वनको अवधारण ल्याएपछि राजी र कुमालको पेशा संकटमा परेको हो । नदी, तालतलैया ठेक्कामा दिन थालेपछि माछा मार्ने तथा डुंगा चलाउने तथा सामुदायिक वनहरूले राजी कुमाल समुदायलाई सहज रूपमा जंगलमा पस्न नदिएपछि माटाका भाँडा बनाउने पुख्र्यौली पेशा ओझेलमा परेको अध्यक्ष राजीले बताइन् । अहिले सामुदायिक वनहरूले जंगली माहुरीको मह काढ्न जाँदा आधा भाग मह माग्ने गरेको समेत उनले दुःखेसो पोखिन् ।
नदी, तालतलैया ठेक्कामा दिन थालेपछि माछा मार्ने तथा डुंगा चलाउने तथा सामुदायिक वनहरूले राजी कुमाल समुदायलाई सहज रूपमा जंगलमा पस्न नदिएपछि माटाका भाँडा बनाउने पुख्र्यौली पेशा ओझेलमा परेको अध्यक्ष राजीले बताइन् ।
सामुदायिक वनको अवधारणाले जंगलको सुरक्षा भए पनि आफूहरूलाई आवश्यक पर्ने दाउरा, माटो सहज रूपमा उपलब्ध नहुँदा माटाका भाँडा बनाउने पेशा संकटमा परेको कुमाल सुधार समाजका सचिव विक्रम कुमालले बताए । बजारमा सहज रूपमा पाइने प्लास्टिकका भाँडाकुँडाले पनि आफ्नो पेसा धरापमा परेको उनले जनाए । ‘अहिले राजी, कुमाल समुदायका मानिसहरू ज्याला–मजदुरीका लागि भारत जाने तथा खेतीपाती र गाईबस्तु पालन गर्ने गरेका छन्,’ सचिव कुमालले भने ।
आफ्नो परम्परागत पेशा लोप हँुदै गएकाले सुरक्षाका लागि राज्यले राजी–कुमाल समुदायको प्राकृतिक स्रोतमाथिको पहुँचलाई सहज बनाउनुपर्ने र परम्परागत सीपलाई आधुनिकीकरण गरी व्यवसायिक रूपमा विकास गर्नुपर्ने माग गरेका छन् । नदी तथा प्राकृतिक तालहरूमा डुंगा चलाउने, माछा मार्नेे काममा राजी समुदायलाई अग्राधिकार दिइनुपर्ने खैलाड–४ भुरुवाका गोले राजीको भनाइ छ ।
‘पहिले जंगल, नदी र तालतलैयाबाट नै गुजारा चल्थ्यो, वनमा सहज रूपमा जान पाइन्थ्यो तर अहिले सामुदायिक वनमा कर तिरेर मात्र जान पाइन्छ,’ भुरुवाकी मुक्ता राजीले भनिन्, ‘अहिले राजी, कुमाल समुदायभित्र परम्परागत पेशा अँगालेर जीविकोपार्जन गर्ने व्यक्ति भेटाउन गाह्रो भएको छ ।
‘पहिले जंगल, नदी र तालतलैयाबाट नै गुजारा चल्थ्यो, वनमा सहज रूपमा जान पाइन्थ्यो तर अहिले सामुदायिक वनमा कर तिरेर मात्र जान पाइन्छ,’ भुरुवाकी मुक्ता राजीले भनिन्, ‘अहिले राजी, कुमाल समुदायभित्र परम्परागत पेशा अँगालेर जीविकोपार्जन गर्ने व्यक्ति भेटाउन गाह्रो भएको छ ।’ सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका सचिव नेत्र खनाल भने विपन्न समुदायलाई सामुदायिक वनहरूले अग्राधिकार दिएको दाबी गर्छन् । ‘हामीले विपन्न समुदायलाई निःशुल्क र कहीँ सामान्य शुल्कमा प्राकृतिक स्रोतको उपभोग गर्न दिइरहेका छौं,’ सचिव खनालले भने ।
कैलालीको पथरैया, साँढेपानी, मसुरिया, चौमाला, लालबोझी तथा खैलाडलगायतका ठाउँमा यी दुई जातिको मुख्य बसोबास रहेको छ । यी लोपोन्मुख जातिमा जनचेतना फैलाएर शिक्षा आदिको व्यवस्था गर्नुपर्ने र उनीहरूको खाद्य अधिकार सुनिश्चित गर्नुपर्ने राजी–कुमाल समुदायमा काम गरिरहेको याक नेपालका परियोजना अधिकृत तिलक अधिकारीले बताए । यी समुदायको पुख्र्यौली पेसाको सुरक्षा गर्न राज्यले ध्यान दिनुपर्ने उनको राय छ ।