आन्दोलनको समिक्षा गर्न डण्डामा थाकसको राष्ट्रिय भेला

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ कार्तिक २०७२, आइतवार
आन्दोलनको समिक्षा गर्न डण्डामा थाकसको राष्ट्रिय भेला

थरुहट आन्दोलनको समिक्षा गर्न थारु कल्याणकारिणी सभा (थाकस) को दुई दिने राष्ट्रिय भेला  नवलपरासीको डण्डामा शुरु भएको छ ।

कार्तिक ८ गते डण्डास्थित थारु संग्रहलायको प्राङ्गणमा थाकसका संरक्षक अमृतप्रसाद खाँ थारुले राष्ट्रिय भेलाको समुद्घाटन गरे । सो अवसरमा विगत ७५ दिनदेखि जारी थरुहट आन्दोलनको समिक्षा गर्ने मूल उद्येश्यले राष्ट्रिय भेलाको आयोजना गरिएको जनाइएको थियो ।

सो अवसरमा थारु महिला सभा नवलपरासीकी अध्यक्ष हरिमाया थनेत लगायत अन्य जिल्लाका प्रतिनिधिले केन्द्रबाट खासै कुनै निर्देशन नआएकोमा रोश प्रकट गरे । अध्यक्ष थनेतले भनिन्– हामीले यसपाली जितिया लगायत पर्व नमनाएर आन्दोलन गरेरै मनायौं । तर केन्द्रमा थारुले के के नपाएजस्तो महोत्सव गरेर मनाइयो । यसले राम्रो सन्देश दिंदैन ।
कार्यक्रममा  विभिन्न जिल्लाका प्रतिनिधिले थाकसका केन्द्रिय अध्यक्ष धनिराम चौधरीको भूमिका निस्कृय देखिएकोले केन्द्रिय उपाध्यक्षले थरुहट आन्दोलनको मोर्चा हाँक्नु पर्ने जिकिर गरेका थिए । थरुहट आन्दोलनका केन्द्रिय संयोजक राजकुमार लेखीले यो राष्ट्रिय भेला कुनै नेतत्व परिवर्तन गर्ने नभई आन्दोलनको आगामी खाका कोर्नलाई मात्रै गरिएको प्रष्ट्याए । उनले भने दुइ चारजना थारु मंत्री भएर गद्धारी गर्दैमा थरुहट आन्दोलन तुहियो भनेर कसैले भ्रम नपाले हुन्छ, थरुहट आन्दोलन अझ सशक्त ढंगले अगाडि बढ्छ । दुइ चार दिन मात्रै होइन, दुइ चार बर्षै हामी आन्दोलन थेग्न तयार छौं ।

thakasa

थरुहट आन्दोलनका केन्द्रिय संयोजक राजकुमार लेखीले  भने दुइ चारजना थारु मंत्री भएर गद्धारी गर्दैमा थरुहट आन्दोलन तुहियो भनेर कसैले भ्रम नपाले हुन्छ, थरुहट आन्दोलन अझ सशक्त ढंगले अगाडि बढ्छ । दुइ चार दिन मात्रै होइन, दुइ चार बर्षै हामी आन्दोलन थेग्न तयार छौं ।

थरुहट आन्दोलन कैलालीका संयोजक होरीलाल चौधरीले भदौ ७ को टीकापुर घटनाले आन्दोलन केही सुस्त देखिए पनि जिल्लाका कोही नआत्तिएको बताए ।

उद्घाटन कार्यक्रममा थाकस नवलपरासीका जिल्ला अध्यक्ष गणेशमान महतो, थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरी, थारु विद्यार्थी समाजका प्रतिनिधि ओमनारायण महतो, आदिवासी जनजाति महसंघकी केन्द्रिय सचिव यशोदा चौधरी, थाकसका पूर्व केन्द्रिय उपाध्यक्ष भजमनराम महतो, थाकस युएइ प्रतिनिधि नेत्रनारायण थनेत, थाकसका केन्द्रिय उपमहामंत्री इन्दिरा चौधरी लगायतले आआफ्ना धारणा राखेका थिए ।

२१ जिल्लाका प्रतिनिधि सहभागी उद्घाटन सत्र कार्यक्रम थाकसका केन्द्रिय उपाध्यक्ष कनुलाल चौधरीको सभापतित्वमा भएको थियो । कार्तिक ९ गते बन्द सत्र गरी थरुहट आन्दोलनको नयाँ तालिका सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिक्रिया