संविधानमाथि नाकावन्दी ?

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ असोज २०७२, शनिवार
संविधानमाथि नाकावन्दी ?



लाक्पा जी. शेर्पा

मुलुक यति वेला ठप्प छ । सडकमा सवारी सधानहरु न्यून देखिन्छन् । पेट्रोलको अभावले सवारी साधनमा जोर विजोर प्रणाली चलेको छ । तराईमा आगो बलेको छ भने ग्यासको अभावले शहरीया नेपालीको चुलो बल्न मुस्किल परेको छ । चोकहरुमा भीडभाड कमै छ । तर चियापसल, दुकान, रेस्टराँ वन्द छ, किनकी ग्यास छैन । सर्वसाधारणले चिया खान पाएका छैनन्, चियाको सट्टामा तयारी अवस्थामा रहेको पेय पदार्थ पिउन वाध्य छन् । यात्रुहरुलाई गन्तव्यसम्म पुग्न धौ–धौ परेको छ । पैदल यात्रा तय गरेकाहरु त्रासपूर्ण यात्रामा छन्।  किनकी एकातिर आन्दोलन पनि छ । भारतले गरेको अघोषित नाकावन्दीमा यतिवेला मुलुक नराम्ररी फँसेको छ ।

नयाँ संविधान आएको भन्दै चोकमा दियो वाल्नेहरुको घरमा चोकको दियो निभ्न नपाउँदै चुलो वल्न छाड्यो । दियो नवाल्नेको चूलो मात्रै हैन, नेपालै अन्ध्यारो छ । एकातिर उनीहरु संविधानले आफ्नो अधिकार स्थापित नभएकोमा अन्ध्यारो मुख लगाएर वसेका छन् भने अर्कोतर्फ तराईतिर चूलो मात्रै हैन, पुरै गाउँ नै अन्ध्यारो छ । किनभने उनीहरुले परिवारका सदस्य अधिकार प्राप्तिको आन्दोलनमा गुमाएका छन् । हुँदाहुदा यतिवेला युद्धबाट आएको एउटा शक्ति नै अँध्यारो छ । किनकी त्यहाँको रानो बाबुराम भट्टराई आज वगाल छोडेर हिँडेको छ ।

मुलुक यस्तो विषम अवस्थाबाट गुज्रिरहेको वेला सत्तासीन दलहरु कुर्सीमा टाँसिएर पदको बाँडफाँट गर्न थालेका छन् । को प्रधामंत्री, को राष्ट्रपति बन्ने भागबण्डा गर्न रस्साकसी गर्दैछन् ।

अन्ध्यारोको अवस्था सिर्जना गराउनमा तत्कालिन अवस्थामा प्रमुख भनिएका राजनैतिक दलहरु दोषी छन् भन्दा कसैलाई कुनै वात लाग्दैन । तराईमा अधिकारका लागि दनदनी आगो बल्दा घिउ थप्नेहरु आज हिमालमा त्यसरी नै संघर्ष चर्किदा समेत माला जपेर वसेका छन् । वीचका केही ‘फुटाउन र राज गरौ’ भन्दै कसेका छन् । यस्तै भडखालोमा नेपाल फँसेको छ । सबैको आफ्नै दुनो सोझ्याउने  ध्याउन्नमा छन् । मुलुक यस्तो विषम अवस्थाबाट गुज्रिरहेको वेला सत्तासीन दलहरु कुर्सीमा टाँसिएर पदको बाँडफाँट गर्न थालेका छन् । को प्रधामंत्री, को राष्ट्रपति बन्ने भागबण्डा गर्न रस्साकसी गर्दैछन् । समस्या समाधानतर्फ उनीहरुको न त ध्यानै गएको छ, न त ज्ञान नै फिरेको छ । समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउनुका सट्टा अनेकौं वहनाबाजी लगाउँदै एउटा असल छिमेकी मित्रलाई चिढ्याउनमा मस्त देखिन्छ ।

मुलुकमा संविधान जारी भएपछि नयाँ युगको शुरुवात हुन्छ भन्ने आम नेपालीमा आशा थियो । तर केही साताको जनजीवनले आधुनिक युगबाट ढुंगे युगतर्फ जनजीविका सरेको छ । मुलुक यस्तो संकटमा फसेको वेला सरकारले देखाएको लाचारीपन खेदजनक छ । समस्याको जड पत्ता लगाएर यसको कुटनीतिक तथा राजनीतिक समाधान खोज्नुको सट्टा सरकारी अधिकारी नै सामाजिक सञ्जालमा सद्भाव विथोल्ने खाले टिप्पणी सार्वजनिक गर्दै वसेका छन् । यस्तो अवस्थामा कानूनी राज्यको उपहास मात्रै हैन, सरकार कहाँ छ भनेर दिउँसै ‘बत्ती’ बालेर खोज्नुपर्ने अवस्था आएको छ ।

संविधान प्राप्त भएको खुसीयाली सेलाउन नपाउँदै सबै चिज एकैपटक सेलायो । तर सरकार वीसमा उन्नाइस भएको पाइएन । 

संविधान प्राप्त भएको खुसीयाली सेलाउन नपाउँदै सबै चिज एकैपटक सेलायो । तर सरकार वीसमा उन्नाइस भएको पाइएन । यस्तो अवस्थामा सरकारले नैतिकताको आधारमा केही न केही गर्नुपर्ने हो । अघोषित नाकावन्दीमा मुलुक फसेको छ । यसलाई ध्यानमा राख्ने हो भने यो मुलुकमाथि हैन संविधानमाथि लागेको नाकावन्दी हो । यसको समाधान खोजिनुपर्छ, अर्थात् आम उत्पीडित वर्गको अधिकारको खातिर उठेको मागलाई सम्वोधन गरिनुपर्छ । भारतले गरेको भनिएको अघोषित नाकावन्दी मुलुकमाथि हैन, यथास्थितीवादी दलमाथि हो । कानूनी राज्यको कुरा गर्दै गर्दा राज्यमा भएका यी अनेक समस्याहरुको समाधान गर्दै सरकार भएको महशुस जनतालाई दिलाउनु पर्छ । त्रिनेताले लगाएको संविधान माथिको घोषित नाकावन्दी हटाए भारतीय आघोषित नाकावन्दी स्वतः हट्ने देखिन्छ ।

पटक पटक उठाउँदै आएको सत्ता स्वार्थका विषय छँदैछ । यतिवेला जनजीविका र मुलुकको अवस्थालाई ध्यानमा राखेर समस्याको समाधान खोज्नुपर्ने वेलामा कुनै प्रकारको पहल कदमी नहुनुले समस्यालाई थप जटिल बनाउने सिवाय अर्को काम भएको छैन । विविधतायुक्त नेपाली समाजमा सोही अनुकुल संविधान निर्माण भएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन । दलका नेताहरुको अदुरदर्शिता, वालपनको कारणले मुलुकले संकट झेलिरहनु परेको हो । उत्पीडित वर्गमाथि वैधानिक उत्पीडन थोपर्ने खाले संविधानले कसैको पनि हित गर्दैन । बर्षौको त्याग, तपस्य र वलिदानीबाट यस प्रकारको संविधान ल्याएर जनचाहना विपरित कदम उठाउने हैसियत कसले दियो भन्ने जनजनको प्रश्न छ । संविधानलाई वन्धक बनाएर राणा शासनकालको भारदारीसभा जसरी नै संविधानसभालाई प्रयोग गरेर त्रिनेताले संविधानसभा माथि नाकावन्दी लगाएर संविधान जारी गरे, त्यसको नतिजा आज मुलुकले भोग्नु परेको छ ।

अब मुलुकलाई निकास दिनका लागि छिमेकीलाई गाली गरेर, लम्पसार परेर हैन, अधिकार सम्पन्न संविधान लेखेर मात्रै संभावना छ । अन्यथा मुलुक भित्रैका उत्पीडित वर्गले संविधानमाथि नाकावन्दी लगाउन सक्छन् ।

जनभावनाको अवमूल्यन गर्दै आएको संविधान सबैले स्वीकार्नेपर्छ भन्ने छैन । तथापी सबैलाई स्वीकार्य हुने गरी संशोधन प्रक्रियाबाट उल्लेख हुन छुटाएका कुरालाई समेट्दै सबैले अपनत्व लिने खाले संविधान जरुरी छ । अब मुलुकलाई निकास दिनका लागि छिमेकीलाई गाली गरेर, लम्पसार परेर हैन, अधिकार सम्पन्न संविधान लेखेर मात्रै संभावना छ । अन्यथा मुलुक भित्रैका उत्पीडित वर्गले संविधानमाथि नाकावन्दी लगाउन सक्छन् ।

प्रतिक्रिया