नेताहरुको मानसिकता लचिलो छैन भने संविधान जति लचिलो बनाए पनि काम छैन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० असोज २०७२, आइतवार
नेताहरुको मानसिकता लचिलो छैन भने संविधान जति लचिलो बनाए पनि काम छैन


                                                                                     डा. ओम गुरुङ

                                                                              मानवशास्त्री तथा पूर्व महासचिव नेपाल आदिवासी जनजाति महासंघ

 

नेपालको संविधान २०७२ असोज ३ गते जारी भइसकेको अवस्था छ । यसको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?

यो नयाँ संविधान धेरै लामो समय पश्चात आयो । संविधान आउनु राम्रो नै हो । नेपाली जनताले आफूले चाहे अनुरुपको संविधान आओस् भन्ने चाहेका थिए । तर यो संविधान आदिवासी जनजाति, पिछडिएका वर्गहरुले चाहे जस्तो आएको छैन । त्यसैले पनि यहाँ आदिवासी जनजाति समुदायहरुले खुसी मान्नु पर्ने अवस्था छैन । नयाँ संविधानले यहाँका आदिवासी जनजातिहरुको पहिचान, हक अधिकारहरुलाई, ईच्छा, आकाङ्क्षा, आशालाई सम्बोधन गर्न सकेको छैन । त्यसले गर्दा नयाँ संविधान आएपछि एक थरीका मानिसहरुमा खुसीयाली छायो भने अर्कोथरी असन्टुष्ट छ । ३ राजनैतिक दलको कथित सहमतिमा नयाँ संविधान आएको हो । यथास्थितिबादी र तिनका पृष्ठपोषक वा समर्थकहरुको खुसी छाउनु त सामान्य हो । तर जो परिवर्तनकारी दल, जनता, त्यस्तै जो राज्यबाट सिमान्तकरणमा परेको समुदायहरु छन् । उनीहरुको कुनै किसिमको आकाङ्क्षा सम्बोधन हुन सकेन । यी समुदायका लागि संविधान आउनु त कागलाई बेल पाक्यो, हर्ष न बिस्मात भने जस्तै भएको छ । संविधान आउनु र नआउनुमा कुै तात्वीक फरक परेन । त्यसकारण यो संविधान आएपछि झन निराशा, आक्रोस र  आतङ्कको वातावरण बनिरहेको छ । यो चाहि दुःखद पक्ष हो ।

यो संविधान आएपछि झन निराशा, आक्रोस र  आतङ्कको वातावरण बनिरहेको छ । यो चाहि दुःखद पक्ष हो ।

नयाँ संविधानमा आदिवासी जनजाति आयोग बनाईने भएको छ, त्यस्तै नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषाका रुपमा रहने व्यवस्था जुन गरेको छ । यो त राम्रा पक्षहरु हुन् नि,  हैन र ?

बाह्य र सतही रुपमा हेर्दा केही नयाँ व्यवस्था रहेको देखिन्छ । तपाइले उठाएका प्रसंग ठीक छ । यी बाहेक धर्म निरपेक्ष, समाबेसी समानुपातिक, संघीयतालाई संस्थागत गरियो र गणतन्त्र स्थापना भएका जस्ता कुराहरु गरेको छ । तर तिनको सार कुरा, अन्तरवस्तु बारेमा हेर्दा यसले सिद्धान्त, मान्यता, के्रज जुन आउनु पर्ने र व्यवहारीक हुनु पर्ने हो, हुन सकेको छैन । कानुनी आयोगहरुले, कानुनले त्यसलाई तयार गर्ने भनेको छ । त्यसमा पनि १० वर्ष भित्रमा मात्र भनेर भनिरहेको छ । त्यो आयोगको प्रकृति, अधिकार के हुने भन्ने त्यसको अधिकार पनि निश्चित छैन । यसो संवैधानिक हैसियत पनि छैन । यस्तो अवस्थामा कस्तो ऐन कानुन बन्ने भन्नेमा पनि शंका  छ । आदिवासी जनजातिलाई अपहेलना गरेको छ । अन्यायको, विभेदको प्रकृतिहरु हेरेर त्यसको छानबिन गरेर त्यसलाई कानुनी निर्णयसम्म गर्न सक्ने आयोग आदिवासी जनजातिले खोजेको छ । अहिलेको आदिवासी जनजाति आयोगको त्यो खालको चरित्र छैन । अहिलेको आयोगको प्रकृति भनेको कानुनले व्याख्या बिश्लेषण गर्ने र कानुनमा नै सीमित हुने रहेको देखिन्छ । धेरै जनसंख्याले बोल्ने भाषालाई प्रादेशीक भाषाको रुपमा राख्ने भनिएको छ । कुनै पनि प्रदेशमा एउटै भाषा त सबै समुदायले बोल्ने भन्ने त हुदैन । फेरी पनि सबैले बोल्ने भाषा भनेको त नेपाली भाषा नै हो । अहिलेसम्म सरकारले थोपारेर, चाहेर, नचाहेर पनि नेपाली भाषा नै बोल्ने बाध्य बनाएको अवस्था छ । हामीले खोजेको भनेको नेपाली भाषीपछि बढी समुदायले बोल्ने भाषा प्रदेशको भाषा हुनुपर्छ भन्ने हो । यहाँ हामीले बहुभाषिक नीति लागु गर्नुपर्छ भन्ने नै हो ।

यहाँ शब्दमा मात्र धर्म निरपेक्षता भनिएको छ । तर सनातन हिन्दु धर्मलाई नै प्रशय दिइएको छ । यसले हिन्दु धर्मलाई निरन्तरता दिने र धार्मिक बिभेद चाहि यथावस्थामा नै छ । 

यहाँ शब्दमा मात्र धर्म निरपेक्षता भनिएको छ । तर सनातन हिन्दु धर्मलाई नै प्रशय दिइएको छ । यसले हिन्दु धर्मलाई निरन्तरता दिने र धार्मिक बिभेद चाहि यथावस्थामा नै छ । धार्मिक स्वतन्त्रता भनेको व्यक्तिको हुन्छ । राज्यले धर्मप्रति तथस्त रहनु पर्छ । कतिपय अवस्थामा धर्म निरपेक्षतालाई वन्देज गर्ने बिभिन्न संबैधानिक व्यवस्थाहरु रहेका छन् । यो संविधानले पुनः गाईलाई राष्ट्रिय जनावर र सिम्रिकलाई राष्ट्रिय रङ्ग मान्नु भनेको हिन्दु धर्मलाई नै प्रशय दिएको हो । धर्म परिवर्तन गर्न नपाईने जस्ता व्यक्तिको स्वतन्त्रता पनि हनन गरेको छ ।

आत्मनिर्णको अधिकारका क्ुरा, स्वशासनका कुरा, आदिवासी जनजातिका अग्राधिकारका कुराहरुलाई यो संबिधानले मेटाएको छ । यो संविधानले आदिवासी जनजातिलाई छुट्याएको छ । यसले गर्दा आदिवासी जनजातिहरु कमजोर बन्दै जाने र उनीहरु माथिको विभेद र उत्पीडन भइ नै रहने अवस्था छ । यो संविधान आउनु र नआउनुमा कुनै फरक रहेको छैन । महिला, दलित, थारु, आदिवासी जनजातिहरु यो संविधानबाट सन्तुष्ट छैनन् । थारु त आन्दोलनमा छन् नै । तामाङ, मगर, लिम्बु, किरातहरु आन्दोलनको तयारी गर्दै छन् । नयाँ संविधानले आन्दोलनहरुलाई मत्थर बनाउनु पर्नेमा द्वन्द्वको बाटो लिएको देखिन्छ । यसबाट के देखिन्छ भने वर्तमान संविधानले उत्पीडित समुदायको पक्षमा खासै संबैधानिक व्यवस्था गर्न सकेन ।

संविधान कार्यान्वयनमा जटिलता रहेको देखिन्छ । यसको निकासको पक्ष चाहि के हुन सक्ला ?

शासकहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि यो संविधान बनाएका छन् । यसले द्वन्द्व सिर्जना गरेको छ । त्यसैले निकास भनेको सम्बन्धित आन्दोलनकारीहरुसंग चाँडोभन्दा चाँडो बार्ता गर्नु प¥यो । यसलाई उपेक्षा गरेको देखिन्छ । जनताको आवश्यक्ता चाहनाप्रति कुनै पनि ख्याल गरिएको छैन । निकासको कुरा गर्दा सरकारले आन्दोलनरत समुदायको आवश्यकतालाई बुझ्न सक्नुपर्छ । अहिले अन्तर्राष्ट्रिय रुपमा हेर्दा भारतले प्रत्यक्ष रुपमा प्रभाव परेको छ । उसले तराईको द्वन्द्वलाई समाधान नगर्ने हो भने यहाँ गाह्रो हुने भनेको छ । यसलाई पनि उपेक्षा गरेको देखिन्छ । सबैसंग बार्ता गर्ने र उनीहरुको मागलाई समाधान गर्न तर्फ लाग्नु नै समाधान हो ।

वर्तमान संविधानले उत्पीडित समुदायको पक्षमा खासै संबैधानिक व्यवस्था गर्न सकेन । सबैसंग बार्ता गर्ने र उनीहरुको मागलाई समाधान गर्न तर्फ लाग्नु नै समाधान हो ।

३ दलबाट संविधानको संशोधन हुन्छ भन्ने आश्वासनहरु आईरहेको छ । संशोधन गरेर आदिवासी जनजातिको अधिकार सुनिश्चित हुन सक्ला त ?

संविधान लचिलो होला । तर पहिले मन त लचिलो हुनु प¥यो नि । वार्ताको आह्वान गर्ने तर सरकार गम्भीर नभएको देखिन्छ । राज्य र राजनैतिक नेताहरुको मानसिकता लचिलो छैन भने संविधान जति लचिलो बनाए पनि काम छैन । नेपालको अहिलेको संविधान संसारकै सबैभन्दा ठूलो संविधान भएको दावी गरिन्छ । यो भोलुम मात्र ठूलो भएर हुँदैन । मुख्य कुरा भनेको अधिकार सुनिश्चित भयो कि भएन भन्ने कुरा मुख्य हो । अरुलाई अधिकार दिइयो भने आफू चाहि पातालमा पुगिन्छ कि भन्ने सोचेर यो संविधान आउनुको कुनै अर्थ छैन । 

अव के गर्ने त ?

अहिले पनि आदिवासीहरुको मुद्धा आफ्नो ठाउँमा नै छ । आफ्नो अधिकारको मुद्धाहरु, समानुपातिक समावेशीका बिषयहरु, प्राकृतिक स्रोत र साधनको जुन कुराहरु छन्, त्यसलाई आदिवासी जनजातिले छोड्ने पक्षमा छैनन् । आफनो शक्ति सञ्चय गर्ने, प्रतिबद्ध हुने कुरा त छँदैछ । अहिलेको हकमा यदि राज्यले एकतर्फी रुपमा पेल्न खोज्छ, उनीहरुलाई कमजोर ठान्छ भने जनजातिहरु बाध्य भएर कडा आन्दोलन गर्नुपर्ने हुन्छ । यसले नै अधिकारहरुको सुनिश्चितता गर्न सक्छ ।

प्रस्तुतीः देवकुमार सुनुवार

प्रतिक्रिया